भर्खरै :

भक्तपुर नपाको बा¥हौँ नगरसभामा स्थानीय समस्या र समसामयिक विषयमा छलफल

भक्तपुर, १४ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बा¥हौँ नगरसभाको बैठक मङ्गलबार बस्यो ।
सभाको विशेष समयमा नगर सभासद्हरूले नगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खानेपानीलगायतका स्थानीय समस्याहरू र अन्य समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूमा आ—आफ्नो धारणा राख्नुभयो ।
सभामा नगर प्रमुख प्रजापतिले नगरकोटमा पानीको मुहानसँगै वन मासेर निर्माण गरिएको खेलमैदानका कारण जनताले वर्षाको समयमा पनि राम्रोसँग पानी पिउन नपाएको उल्लेख गर्दै खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाको सेवा प्रवाहलाई पारदर्शी, जिम्मेवार, सरल र प्रभावकारी बनाउन नगरपालिकाले नागरिक बडापत्र राखिएको बताउँदै भक्तपुर नपालाई हालै ख्वप टेलिभिजन सञ्चालन स्वीकृति प्राप्त भएको बताउनुभयो ।
सभाको विशेष समयमा सभासद्हरू सिद्धिराम अवाल, जितेन्द्र मुनंकर्मी, कृष्णलाल किसी, राजकुमार शिल्पकार र सूर्यप्रसाद श्रेष्ठले किसानहरूलाई अन्नबालीको बीउ उत्पादन गर्न प्रोत्साहित गर्नुपर्ने, नगरपालिका र वडा कार्यालयहरूमा सहायता कक्षको आवश्यकता रहेको, व्यवसायिक खेती गर्ने किसानहरूलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, बाटोको बीचमा रहेका बिजुलीका पोलहरू उपयुक्त ठाउँमा सार्न पहल गर्नुपर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत भइरहेको कामको समय – समयमा निरीक्षण तथा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै सभासद्हरू कृष्णनारायण दुमरु, कृष्णसुन्दर प्रजापति, सुमित्रा बोहजू, रामसुन्दर बासी, इन्द्रबहादुर प्याठ र हरिरत्न गोर्खालीले देकोचादेखि चाँगुनारायण सडक चौडा गर्न पहल गर्नुपर्ने, पुराना माटाका भाँडाकुँडासहितको सङ्ग्रहालय निर्माण गर्नुपर्ने, बालबालिकाहरूको लागि चिल्ड्रेन पार्क बनाउनुपर्ने, एक विद्यालय एक खेलकुद नीति अवलम्बन गर्नुपर्ने, वडा निरीक्षणहरूलाई प्राविधिक तालिम आवश्यकता रहेको र वडा –वडामा रहेका व्यायामशाला मर्मतसम्भार गर्नुपर्ने, नपाले कृषि र भेटेनरी शाखा स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सभासद्हरू मन्जुमैँया लाखा, श्यामसुन्दर मातां, रीता फसिकवा, गंगालक्ष्मी बमनु र गोविन्द दुवालले वडाको नागरिक बडापत्र राख्नुपर्ने, भक्तपुर क्यान्सर अस्पतालेदेखि हाकुफोहिटीको पश्चिमतर्फको पेटी निर्माणमा जोड दिनुपर्ने, सम्पदा क्षेत्र अगाडि सवारीसाधन पार्किङ निषेध गर्नुपर्ने, निकोसेरा पुल पेटी निर्माण गर्न पहल गर्नुपर्ने र खानेपानी समस्याको दिगो समाधान आवश्यक रहेको विचार राख्नुभएको थियो ।
त्यस्तै बैठकमा आ.व. २०७९/८० को बजेटबारेको छलफलमा सभासद्हरू सूर्यप्रसाद श्रेष्ठ, नारायणप्रसाद त्वानाबासु, हेरा ख्याजु र गोविन्द दुवालले अघिल्लो कार्यकालका अधुरो योजनाहरूको निर्माण सम्पन्न गर्न बजेट व्यवस्था गर्नुपर्ने, घरबहाल कर उठाउनुपर्ने, करको दायरा बढाउनुपर्ने, छुमा गणेश मन्दिर द्योछेँ पुनःनिर्माणको लागि छुट्याएको बजेट अपुग भएको बताउनुभयो ।
सभाको अर्को बैठक असार १६ गते बिहीबार दिनको १ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *