भर्खरै :

खोकनाको खुडोलमा रोपाइँ

ललितपुर, १५ असार । जनसरोकार समिति खोकनाको आयोजनामा खोकनाको खुडोलमा धान दिवसको अवसर पारी रोपाइँ कार्यक्रम भयो । उक्त कार्यक्रममा रोपाइँ गर्नुका साथै सभा पनि भएको थियो ।
उक्त सभामा जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डंगोलले रोपाइँ कार्यक्रम फास्टट्रायक मार्गविरूद्धको आन्दोलनको निरन्तरता हो, सरकारले खोकना बुङमतिको कृषिभूमि नष्ट गर्न खोजेको छ, यसलाई उपत्यकावासी जनताले सफल हुन दिनेछैनन् र खोकना–बुङमतीको सम्पदा संरक्षण गरेरै छोड्ने छौँ भन्नुभयो ।
उपत्यकावासी एक नभएमा खोकना बुङमतीको जग्गा कुनै पनि बेला सरकारले विभिन्न परियोजनाको लागि अतिक्रमण गर्न सकिने भएकोले उहाँले एकताको विकल्प नभएको बताउनुभयो ।
जनसरोकार समितिका उपाध्यक्ष कृष्णभक्त डंगोलले खोकनाको सम्पदा संरक्षण गर्न स्थानीयवासीको एकताको आवश्यकता भएकोले हामीले जनतालाई सचेत गर्दै जानुपर्छ भन्नुभयो ।
जन सरोकार समितिका कोषाध्यक्ष नरेश महर्जनले खेतीयोग्य जमिन बचाउन सकेमात्र हामी आत्मनिर्भर हुने अन्यथा परनिर्भर हुनुपर्ने अवस्था सृजना हुन्छ भन्नुभयो । उहाँले खाद्यान्नमा आत्मनिर्भर हुन रसायनिक मल समयमा उपलब्ध र कृषिऔजार तथा कीटनाशक औषधिको बन्दोबस्त गर्नुपर्नेमा सरकारले वास्ता नगरेको विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *