भर्खरै :

कौसी खेती तालिम सम्पन्न

भक्तपुर, १६ असार । भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा भएको दुईदिने कौसी खेतीको तालिम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले घर–घरबाटै कुहिने र नकुहिने छुट्याएर नपाको गाडीमा राखे फोहर व्यवस्थापन गर्न सजिलो हुने बताउनुभयो ।
कम जग्गामा आधुनिक प्रविधि प्रयोग गरी बढी उत्पादन गर्ने ध्येयले कौसी खेती तालिमको आयोजना गरिएको उल्लेख गर्दै उहाँले नगरवासीलाई व्यवहारिक ज्ञान प्रदान गरी नागरिक भावना जगाउनुपर्नेमा जोड दिनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले किसानहरूलाई प्राविधिक ज्ञान दिन सके उत्पादन वृद्धि हुने र कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिने विचार व्यक्त गर्नुभयो । उहाँले कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन सके दोहोरो फाइदा हुने विचार व्यक्त गर्नुभयो ।
कौसी तालिमका प्रशिक्षक सविन ख्याजूले खाली जग्गामा नमुना खेती गरी आफ्नो सीपको उपयोग गरेर विषादीरहित खाद्यान्न उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वडा सदस्य हेरा ख्याजुको सभापतित्वमा भएको सो कार्यक्रममा स्थानीय कृषि समितिका सदस्य हरिकृष्ण सुकुपायो र प्रशिक्षार्थीहरू पुण्यराम गोठे तथा करूणा सुवालले आ–आफ्नो अनुभव बताउनुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूलाई अतिथि प्रजापतिले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *