भर्खरै :

पार्टी मिलाउन पनि नयाँ पार्टी खोल्नुपर्ने ?

कसैले राजनीतिक दल खोल्नु हुँदैन भन्ने होइन त्यो उसको राजनीतिक अधिकार हो । तर, कम्युनिस्ट पार्टीहरू टुक्रा टुक्रा हुँदा कमजोर हुन्छ, निर्वाचनमा हार्छ भनी कम्युनिस्ट पार्टी एक हुन जोड दिँदै आएका एक पुराना नेताले अर्को दल खोल्दा आश्चर्य लाग्यो । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी खोले । नेकपा विभाजन भएपछि एमाले उपाध्यक्ष पदबाट राजीनामा दिएका नेता गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरे । सकेसम्म पार्टी एक भएरै अघि बढ्ने, एक भएन भने कार्यगत एकता गरेर निर्वाचन लड्ने वाचा गरेका नेता गौतमले आफ्नो सो स्वर सेलाउन नपाउँदै नयाँ पार्टी खोलेर क्रमभङ्ग गर्ने काम गरे ।
के कुनै दलहरूबीच एकता गर्न, एकताको आवाज उठाउन दल नै खोल्नुपर्ने ? के त्यो दल एकता गर्नकै निम्ति खोलिएको हो ? के एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी दल एक भएपछि यो दल स्वतः भङ्ग हुन्छ ? एकातिर दलहरू विभाजित भयो भनेर चिन्ता व्यक्त गर्ने अर्कोतिर आफै दल खोलेर दुनियाँ हँसाउने ¤ कहिले केपी ओलीको गुणगान त कहिले माधव नेपालको गुणगान गर्ने नेता वामदेव कस्ता द्वैध चरित्रका ! नेकपा टुक्रिनुमा उनी कहिले ओली र प्रचण्डलाई उत्तिकै दोष दिन्छन् भने उनी कहिले ओली र प्रचण्डलाई उत्तिकै दोष दिन्छन् । उनी कहिले अलि बढी दोषी ओली त कहिले प्रचण्ड देख्छन् । कम्युनिस्ट पार्टीबिच एकताको निम्ति दबाब दिने वामदेवले नयाँ पार्टी खोलेर फेरि विभाजनको बाटो किन कोरेको भन्ने प्रश्न पनि उठेको छ ।
नयाँ पार्टी घोषणा के चर्चामा आउनकै लागि हो ? वास्तवमा उनी एमाले टुक्राउने नेता हुन् । एमाले फुटाएर माले बनाएका नेता उनी नै हुन् । माले डुब्ने स्थिति देखिएपछि फेरि एमालेमै प्रवेश भए । एमालेबाट माले अगल हुँदा एमालेका नेताहरूले उनलाई देशकै ‘१ नम्बरको भ्रष्टाचारी’ आरोप लगाएका थिए । तर पछि उनलाई नै एमालेका नेताहरूले एक नम्बरको स्वच्छ छविको रूपमा एमालेमा भित्याए । नेकपा एकता राष्ट्रिय अभियान पार्टी अरू कुनै दलमा विलिन हुन पार्टी स्थापना गरेको हो कि ! या पार्टी अध्यक्ष बन्ने लालसाले पार्टी खोलेको हो ¤ मेरो पनि शक्ति छ है भनेर अरू दलमा मान र पद खोज्न पो नयाँ दल खोजेको हो ?
बुधबार प्रकाशित ‘गोरखापत्र’ मा ‘जुटाउने नाममा फेरि फुट’ शीर्षकको समाचार छापियो । नयाँ पार्टी गठनको समाचार पहिलो पेजको ब्यानरमै प्राथमिकतासाथ छापियो । सरकारी पत्रिका गोरखापत्रले पार्टी गठनको समाचारलाई किन प्राथमिकतामा दियो ? नेता गौतमको नयाँ पार्टीले एमाले र एकीकृत समाजवादी पार्टी कमजोर पार्छ भन्ने मनसायले त्यो समाचार प्राथमिकतामा राखेको होइन ? के त्यसमा नेका नेता, मन्त्री या नेकामा आबद्ध पत्रकारहरूको भूमिका छैन ? के त्यो त्यति प्राथमिकता दिएर छाप्नुपर्ने समाचार हो ? अरू दलको सम्मेलन र महाअधिवेशन नअट्ने गोरखापत्रमा एउटा व्यक्तिको दललाई प्राथमिकता दिनुको रहस्य के हो ? पछि खुल्ने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *