भर्खरै :

युवा उमेरले होइन, विचार र हातमा सीपले

भक्तपुर, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिको आयोजनामा शनिबार बिहान स्थानीय तहमा युवाको भूमिका विषयक विचार गोष्ठी सम्पन्न भयो ।
गोष्ठी बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा हुनु भनेको उमेरले होइन, विचार र हातमा सीपले हो भन्नुभयो । पूँजीवादी बन्दोबस्तमा व्यक्तित्व विकासमा समान अवसर नहुने भएकाले युवा बेरोजगारी बढी हुने गरेको चर्चा गर्दै उहाँले देशको सार्वभौमिकता रक्षा र समाजवादी विचारका निम्ति संघर्ष गर्न युवाहरू तयार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य सेवालाई प्राथमिकता दिइरहेको भन्दै घर–घरमा नर्सिङ सेवा र उदाहरणीय अस्पतालको बन्दोबस्तको लागि नगरपालिका लागिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नीतिगत अस्पष्टताका कारण नगरको शिक्षाको क्षेत्रको परिवर्तनका लागि काम गर्न गाह«ो भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले वैदेशिक रोजगारीले देशको दिगो विकास असम्भव भएकाले युवाहरूलाई स्वदेशमै रोजगार बनाउन राज्यले जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी युवा संघका पूर्वअध्यक्ष समेत रहनुभएको कवांले राष्ट्रिय युवा परिषद्ले नेपाली युवाका भावनाअनुसार काम गर्न नसकेको भनी आलोचना गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले संसारका हरेक क्रान्ति र परिवर्तनमा युवाहरूको अह्म भूमिका भएको चर्चा गर्दै पूँजीवादी राज्यले युवाहरूलाई आफ्नो नाफा कमाउनको लागि हतियारको रूपमा प्रयोग गर्ने गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले नेपाली युवा विदेशी साँस्कृतिक आक्रमणको शिकार बनिरहेको सन्दर्भमा युवा विद्यार्थीलाई सामाजिक र नैतिक बनाउन विद्यालय तहबाटै पहल शुरु पर्ने विचार राख्नुभयो ।
आयोजक समितिका संयोजक तथा वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *