नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
‘शान्ति र समृद्धिमा युवा’ भन्ने नाराका साथ संसारभर आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । तर त्रिभुवन विमानस्थलबाट हरेक दिन विदेशमा उड्ने नेपाली युवाहरू आज पनि कम हुनेछैनन् । दैनिक पन्ध्र सयको दरमा नेपाली युवा विदेशी मुलुकमा रोजगारीको खोजीमा गइरहेको सरकारी तथ्याङ्क छ । आशा गरौं, कम्तीमा अन्तर्राष्ट्रिय युवा दिवसको दिन विमानस्थलमा कुनै काठको बाकसभित्र नेपाली युवाको लास नआओस् ।
इराकको बंकरमा विद्रोहीका गोलीको पर्रा सुनेर युवा मन शान्त र समृद्ध बन्न सक्दैन ।
नेपालका शासक पार्टीहरू देशको कुल ग्रार्हस्थ उत्पादनमा विप्रेषणको योगदान २९ प्रतिशत भएको भन्दै आफ्नै देशमा युवालाई रोजगार दिन नसकेको अपराध छोप्ने गर्दछन् । एकातिर नेपालको अर्थतन्त्र क्रमशः आयातमुखी बन्दै गइरहेको छ भने अर्कोतिर नेपालका कर्मठ पाखुरा विदेशिरहेका छन् । यो अवस्थाले नेपाललाई कुनै पनि दिन आत्मनिर्भर बनाउने छैन । राज्यले कम्तीमा नेपाली युवालाई विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्न सके मात्र युवा दिवसको नारा ‘शान्ति र समृद्धिमा युवा’ नेपालको परिस्थितिमा सार्थक हुनेछ । आज दलाल राज्यकै कारण नेपाली युवा इराक, लिविया, सिरिया र अफगानिस्तानजस्ता अत्यन्तै खतरापूर्ण युद्धग्रस्त भूमिमा आफ्नो भाग्य जाँच्न जान बाध्य पारिएका छन् । नेपालभन्दा ठीक विपरीत मौसममा काम गर्नुपर्दा लाखौं नेपाली युवा मृगौला, कलेजो, मुटु र अन्य प्राणघातक रोग बोकेर देश फर्किरहेका छन् । लाखौंको सङ्ख्यामा युवा विदेशमा जाँदा आज नेपाली सामाजिक मान्यतामा ठूलो बद्लाव आइरहेको छ । कमजोर पारिवारिक र जीर्ण सामाजिक सम्बन्धका कारण युवाहरू अनेकन मानसिक रोगको शिकार बनिरहेका छन्, आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । यस्तो विकराल अवस्थामा युवाहरू कसरी ‘शान्ति र समृद्धि’का संवाहक बन्नसक्छन् ?
नेपाली युवाले विदेशी भूमिमा पशुुसरह विदेशीका निम्ति श्रम गरी देशमा शान्ति र समृद्धि ल्याउन सक्दैनन् । कसैले यसमा शान्ति देख्छ भने त्यो मसानघाटको शान्ति हुनेछ र समृद्धि देखे त्यो वर्गभेद छोपेर देखाइएको झिलिमिली मात्र हुनेछ । नेपाली युवाहरूलाई साँचो अर्थमा शान्ति र समृद्धिको संवाहक बनाउने हो भने नेपालका सबै मानव तस्करीका अखडा बन्द गर्नुपर्दछ र नेपाली युवालाई स्वदेशमै श्रम गर्ने परिस्थितिको निर्माण गर्नुपर्दछ । बन्द भएका उद्योग कलकारखाना पुनः सञ्चालनमा र नयाँ कलकारखानाको विकास गरी नेपाली युवालाई रोजगार बनाउन राज्यले प्राथमिकता दिनुपर्दछ । शासक पार्टीले युवालाई विदेशमा बेच्ने म्यानपावर कम्पनीबाट कमिशन खाने अपराध पूर्ण रूपमा रोक्नुपर्दछ । सबै नेपाली युवालाई कम्तीमा स्नातक तहसम्म औपचारिक शिक्षा हासिल गरी कुनै न कुनै सीप र इलम गर्न सक्ने अवस्थामा पु¥याउन राज्यले जिम्मेवारी लिनुपर्दछ । नेपाली युवाले विदेशमा पाएको दुःखमा गोहीको आँसु चुहाउने र विप्रेषणले देश धानेको छ भन्दै हावा भरेर युवालाई विदेशिन उक्साउने काम शासक वर्गले गर्न बन्द गर्नुपर्दछ ।
राज्य युवामैत्री त्यत्तिबेला बन्छ जब युवाले आफ्नै देशको काखमा बसेर शान्ति र समृद्धिको सपना देख्न सक्छ । इराकको बंकरमा विद्रोहीका गोलीको पर्रा सुनेर युवा मन शान्त र समृद्ध बन्न सक्दैन ।
Leave a Reply