भर्खरै :

क्लारा जेट्किन एक अन्तर्राष्ट्रवादी महिला नेतृ

क्लारा जेट्किन (Clara Zetkin) जर्मनीका एक कम्युनिस्ट राजनीतिज्ञ, अत्यन्त चर्चित मजदुर महिला अधिकारवादी र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक महत्वपूर्ण नेतृ थिइन् ।
क्लारा ५ जुलाई १८५७ मा साक्सेनको विडेराऊ  भन्ने ठाउँमा जन्मेकी थिइन् । उनका बुबा गोटफ्रेड इस्नेर गाउँको विद्यालयका एक शिक्षक थिए र आमा जोसेफाइन एर्सगोफिर्गेको एउटा गाउँमा हुर्केकी थिइन् ।
सन् १८७४ मा १७ वर्षको उमेरदेखि नै क्लारा जेट्किनले महिला अधिकारवादी नेतृ अगस्ट स्किमिड सँगसँगै लीपजिगमा शिक्षिकाहरूको गोष्ठीमा भाग लिइन् । सन् १८७४ देखि १८७८ को बीचमा अर्थात् १५ देखि २१ वर्षको उमेरमा जर्मनीका महिला सङ्घको छलफल, अन्तरक्रिया र अन्य कार्यक्रमहरूमा भाग लिन थालिन् र पहिलोपटक तिनी सामाजिक प्रजातन्त्रवादीहरूको सम्पर्कमा पुगिन् । त्यसैबेला उनको परिचय रुसी क्रान्तिकारी व्यक्ति ओसिप जेट्किनसँग भएको थियो ।
सन् १८७८ मै सामाजिक मजदुर पार्टी सँगको संलग्नताको कारण परिवारसहित उनी बु्रच जान बाध्य भइन् ।
सन् १८७८ देखि १८८२ सम्म तिनले ४ वर्षसम्म अर्थात् २१ वर्षको उमेरदेखि २५ वर्षको उमेरसम्म साचसेन र अष्ट्रियामा शिक्षिकाको रूपमा काम गरिन् ।
सन् १८८२ क्लाराले स्वीट्जरल्याण्डको जुरिच (श्गचष्अज) मा सामाजिक प्रजातान्त्रिक पार्टीमा सामेल भएर काम गरिन् । त्यही वर्ष उनी नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा ओसिप जेट्किनसँग बस्न थालिन् । औपचारिकरूपले विवाहको निम्ति आवश्यक कागजपत्रको अभाव हुँदा आफ्नो नामको पछाडि ओसिप जेट्किनको पारिवारिक नाम वा थर ‘जेट्किन’ राख्न थालिन् । जेट्किन परिवारको २ जना छोरा भए ।
सन् १८८९ मा शारीरिक अस्वस्थताका कारण ओसिप जेट्किनको मृत्यु भयो । पेरिसमै क्लारा आफैले दोश्रो अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिन् । त्यस बैठकमा उनले महिला मजदुर आन्दोलनबारे एक प्रवचन दिइन् ।
त्यसपछि उनी पेशागत र सामाजिक क्षेत्रका महिलाहरूको समान हकको माग गर्दै वर्गसङ्घर्षसम्बन्धी विभिन्न गतिविधिमा लागिन् । त्यसबेला उनी भर्खर ३२ वर्षकी थिइन् ।
सन् १८९१ मा जर्मनीमा समाजवादी कानुन बन्यो र क्लारा जर्मनी फर्केर स्टुटगार्टमा बसाई सरिन् । एक वर्षपछि क्लाराले अर्थात् सन् १८९२ मा सामाजिक प्रजातान्त्रिक पार्टीको तर्फबाट समानता भन्ने एक पत्रिका प्रकाशित गरिन् । सन् १८९५ मा उनी जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टीको वामपन्थी पक्षको केन्द्रीय समितिको सदस्य भइन् र स्टुटगार्टको किताब सिउनेहरूको सङ्घ तथा सूचिकार सङ्घमा सक्रिय भइन् । त्यसबेला जर्मनीमा मजदुर सङ्घको सदस्य बन्न बन्देज थियो । तर, सन् १८९६ मा उनी त्यस युनियनको अस्थाई अन्तर्राष्ट्रिय सचिव बनिन् । सन् १८९७ मा तिनले मोलर जोर्ज फ्रेडरिक जुन्डसँग ४० वर्षको उमेरमा दोस्रो विवाह गरिन् ।
सन् १९०७ मा स्टुटगार्टमा समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनले क्लारा जेट्किनलाई महिला सचिवालय वा हेडक्वार्टरको अध्यक्ष छान्यो त्यस बेला क्लारा ५० वर्षकी पाको उमेरकी थिइन् ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन भयो । त्यसमा क्लाराले अन्तर्राष्ट्रिय समाजवादी महिला दिवस मनाउने प्रस्ताव राखिन् ।
सन् १९१४ देखि १५ मा पहिलो विश्व युद्ध सुरु भयो । सामाजिक प्रजातान्त्रिक पार्टी बिस्तारै सामाजिक अन्धराष्ट्रवादमा फस्दै थियो । यसकारण, क्लारा जेट्किनले पार्टीको वामपन्थी धारको प्रतिनिधित्व गर्न अस्वीकार गरिन् । अन्तर्राष्ट्रिय समाजवादी महिला सङ्घको सचिवको हैसियतले उनले सन् १९१५ को मार्च महिनामा समाजवादी महिला सम्मेलनको आयोजना गरिन् । त्यसैका लागि क्लारालाई ४ महिना जेल सजाय भयो ।
अलेक्ज्यान्द्रा कोलोन्ताईसँग मिलेर क्लारा जेट्किनले पक्षपातपूर्ण जनमत सङ्ग्रहको विरोध गरिन् । त्यसबेला जर्मनीमा सबै महिलाहरूले मत दिन पाउँदैनथे । निश्चित सम्पत्ति र आम्दानी हुनेहरूले मतदानमा भाग लिन पाउँथे । उनी त्यस पक्षपाती मताधिकारको विरोधमा कसेर लागिन् । ‘पुँजीवादी महिलावादी’ हकको विरोध गरिन् ।
सन् १९१६ तिर कार्ल काउत्स्कीले अन्धराष्ट्रवाद र संशोधनवादको बाटो लिएको हुनाले क्लारा जेट्किन रोजा लक्जेम्बर्गसँग मिलेर वामपन्थी धारलाई नेतृत्व गरी संशोधनवादको विरोधमा सशक्त सङ्घर्ष गरिन् । लेनिनले ‘गद्दार काउत्स्की’ भन्ने एक रचनामार्फत उनलाई उदाङ्गयाई दिनुभएको थियो ।
संशोधनवादीहरूसँग सङ्घर्ष गर्न सन् १९१६ तिर लक्जेम्बर्ग र लिब्ख्नेतले स्पार्टाकसवादी भन्ने रोमका एक दास विद्रोहका नेताको नाममा वामपन्थी सङ्गठन निर्माण गरे । क्लारा जेट्किन पनि त्यही सङ्गठनमा सामेल भइन् ।
पहिले क्लारा ‘स्वतन्त्र सामाजिक प्रजातान्त्रिक पार्टी जर्मनी’ सह–संस्थापिका थिइन् र उनले ‘समानता’ पत्रिका प्रकाशित गरिन् । राजनैतिक र सैद्धान्तिक मतभेदको कारण क्लाराले ’समानता’ छोडिन् ।
सन् १९१८ मा कार्ल लिब्ख्नेत र रोजा लुक्जेम्वर्गसँग सामेल भएर क्लारा जेट्किन जर्मनीको कम्युनिस्ट पार्टी (Kommunist Paric Daeutschlands- KPD)को संस्थापक भइन् ।
सन् १९२० मा उनी जर्मनी कम्युनिस्ट पार्टीको तर्फबाट माथिल्लो सदन राइख्स्टागको सदस्य भइन् । २ जुलाई १९२० मा जर्मनी कम्युनिस्ट पार्टीको प्रथम सांसदको नाताले उनले सोभियत सङ्घसँग ऐक्यबद्धताको माग गर्दै वक्तव्य दिइन् । त्यसैबेला तिनले सोभियत सङ्घको पहिलो यात्रा गरिन् सोभियत सङ्घमा गएर तिनले रुसी जनताको महान् नेता लेनिनसँग मित्रता गाँसिन् ।
उनी विभिन्न रोगबाट पीडित भएकी हुनाले उपचारको निम्ति कहिले सोभियत सङ्घ र कहिले जर्मनी गर्न थालिन् ।
सन् १९२१ देखि उनी ‘अन्तर्राष्ट्रिय महिला कम्युनिस्ट’ भन्ने पत्रिकाको सञ्चालिका र अन्तर्राष्ट्रिय महिला सचिवालयका सचिव भई कार्यरत रहिन् । साथसाथै उनी सन् १९२१ देखि कम्युनिस्ट अन्तर्राष्ट्रियको कार्यकारिणी समितिको सदस्य थिइन् । तर, सन् १९२४ देखि नै उनी सोभियत सङ्घमा बस्न थालिन् । सन् १९२५ मा उनले ‘अन्तर्राष्ट्रिय लाल सहयोग’ संस्था स्थापना गरिन् र उनी त्यसको अध्यक्ष भइन् । सन् १९२७ मा उनी ७० वर्ष पुगिन् । उनको ७० औँ जन्म उत्सवको सुअवसरमा उनी विभिन्न साहित्यिक र अन्तर्राष्ट्रिय सम्मानले विभूषित भइन् ।
३० अगष्ट सन् १९३२ को दिन पूर्व अध्यक्षको नाताले नयाँ निर्वाचित माथिल्लो सदन राइख्स्टागको उद्घाटन मन्तव्यमा क्लारा जेट्किनले पुँजीवादी समाज व्यवस्थाको सामूहिक प्रतिकारको लागि आह्वान र डरलाग्दो फासीवादी प्रवृत्तिविरुद्ध एक हुन वकालत गरेकी थिइन् ।
लामो समयसम्मको अस्वस्थतापछि २० जून १९३३ को दिन मस्कोको नजिक आर्चाब्सकोज भन्ने ठाउँमा उनको देहावसान भयो । उनको शवलाई मस्कोको क्रेमनौरमा राखिएको छ ।
क्लारा जेट्किन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय महिला मजदुर आन्दोलनका एक उल्लेखनीय नेतृ थिइन् । साँचो अर्थमा एक मजदुर महिला आन्दोलनकी एक अग्रदूत र पुँजीवादी महिलावादी’ दृष्टिकोणको प्रखर आलोचक र विरोधी थिइन् ।
केटीहरू, अङ्क–७

Leave a Reply

Your email address will not be published. Required fields are marked *