सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
आफूलाई ठूला, शक्तिशाली र राष्ट्रिय दल भनिएका नेताहरूको क्रियाकलाप हेर्दा, अभिव्यक्ति सुन्दा, एकले अर्काेलाई गरेको आरोप–प्रत्यारोप बुझ्दा उनीहरूमा साँच्चै असल चरित्र नभएको अनुभूति हुन्छ । देश–विदेशप्रति उनीहरूको दृष्टिकोण स्पष्ट छैन । उनीहरूमा स्पष्ट अडान देखिँदैन । दलको सिद्धान्त र विचारको ख्याल गरिँदैन । उनीहरू छिनछिनमा विचार फेर्छन् । लेखक विष्णु सापकोटाले त राष्ट्रिय दलका नेताहरूलाई हाल घटिरहेको राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै ‘अयोग्यहरूको छटपटी’ को संज्ञा दिएका छन् ।
पार्टी फुट्न लाग्दा र फुट्दा हुनसम्मको आक्षेप लगाउने । एकले अर्काेलाई प्रतिक्रियावादी, अवसरवादी, संशोधनवादी, विदेशी दलाल, षड्यन्त्रकारी, कम्युनिस्टविरोधी, कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन बिथोल्ने आदि आरोप लगाउने । तिनै नेताहरू ती दलसँग कुनै हालतमा एक हुन नसक्ने ठोकुवा गर्छन् । त्यस्तै सन्देश आफ्ना कार्यकर्ता तथा जनतासमक्ष बाँड्छन् । तर, तिनै नेताहरू फेरि पार्टी एकता गर्नुप¥यो, पार्टी तालमेल गर्नुप¥यो, चुनावमा गठबन्धन गर्नुप¥यो भनी नेताहरूकहाँ कुद्छन्, बिन्तीभाव गर्छन् । तिनै दललाई मिलाउनुप¥यो, एकता गर्नुप¥यो भनेर वामदेव गौतम एकता राष्ट्रिय अभियान खोलेर नेताहरूको घरदैलोमा चहार्दैै छन् । वाम एकता, पार्टी एकता, वाम गठबन्धन, चुनावी गठबन्धन आदि सबै तिनै ‘अयोग्य’ नेताहरूबिच कुरा चलिरहेको छ ।
प्रश्न उठेको छ, तिनै ‘अयोग्य’ हरूको झुन्डलाई फेरि पुनःस्थापित गरेर किन तिनीहरू धोका खाँदै छन् ? हो, सत्तासीन दलका नेताहरू अहिले छटपटिएका छन् । तिनीहरू निर्वाचन हार्नुलाई दलको अस्तित्व नै नभएको जस्तो ठान्छन् र निर्वाचनको जितलाई संसार नै जितेको ठान्छन् । यसकारण, ती दलका नेताहरू जसरी भए पनि निर्वाचनमा जित्न जुनसुकै दलसँग गठबन्धन गर्न चुक्दैनन् । गएको स्थानीय तहको निर्वाचनमा त्यस्तै गठबन्धन भएको थियो । अहिले हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि गठबन्धन गर्न नेताहरू रातदिन कसरत गर्दै छन् ।
ती दलका नेताहरूको उद्देश्य जसरी भए पनि निर्वाचनमा जित्नु र टिक्नु रहेको छ । सिद्धान्त र विचारलाई कुल्चेर, छोडेर तिनीहरू किन राजनीतिमा खेलबाड गर्दै छन् ? सत्ताविना पार्टी चलाउन नसक्ने, निर्वाचनमा नजितेमा पार्टी टिकाउन नसक्ने कस्ता दल र दलका नेताहरू ? जित्नको निम्ति सिद्धान्त र विचार पनि छोड्ने ¤ सिद्धान्त र विचारको निम्ति राजनीति गर्नुपर्ने दलका नेताहरू चुनावमुखी राजनीतिमा हामफालेका छन् र पद र पैसाको निम्ति राजनीति गरेका छन् । अनि सर्वसाधारण जनता सधैँ ती ‘अयोग्य’ र ‘असफल’ सरकार र नेताहरूको उठबसमा बस्नुपर्ने ! नेपाली जनता कहिले सचेत हुने !
Leave a Reply