कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
वातावरणविद्हरूले कराउने मात्र होइन टाउकै फोरे पनि नेपाल सरकारले अन्ततः बारा जिल्लाको ऐतिहासिक वन तथा असङ्ख्य हात्तीलगायत वनचरहरूको आवागमनको बाटो – युगौँयुगदेखिको हो या विशालकाय विमान बस्ने, उड्ने र गुड्ने विमानस्थल बनाउने अठोट यो सरकारले ग¥यो । कति निकृष्ट सरकार ? प्रकृतिका सन्तान हात्तीलगायत बाघ, भालु, मृग, जरायो, चित्तललगायत हिंस्रक एवं शाकाहारी प्राणी जसको बोली हामी बुझ्दैनौँ उठिबास हुने भयो निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमान बनेपछि । चारकोसे झाडी थियो, औलो रोग थियो । हिंस्रक जनावर थिए । वातावरण सन्तुलन थियो । औलो पचाउन सक्नेहरूमात्र बसोबास गर्थे । चार हात जमीन खन्नासाथ भुइँमुनिको पानी आउँथ्यो । उत्पादन राम्रो र मनग्गे हुन्थ्यो । जनसङ्ख्या सन्तुलित थियो । अब औलो उन्मूलन भो, पहाडमा पहिरो आयो, अनिकाल प¥यो जनता तराई झरे, कति मरे तर सरकारले खानेपानीको लागि ट्युबेल दियो । पानी सुरक्षित खान पाए मान्छेले । मातृशिशु कल्याणका परिवार नियोजनका उपाय बताए, उपकरण दिए केटोकटी कम मर्न लागे । स्वास्थ्य सेवा व्यापक भयो । सुत्केरी अझ कम मर्न लाग्यो । आमाहरू कम नानी पाउने भए । हेरचाह र स्याहार बढी पाउन थाले नानीहरूले । यसरी जनजीवन स्तर माथि उठ्दै गयो । अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका कुरा आए । स्थिति अकस्मात् बिग्रने भयो ।
पाँचवटै पार्टीले बुझेनन् !
सरकार जनताको कुरा नसुन्ने भो । जनताको मात्र हो र विशेषज्ञहरूको पनि कुरा सुन्न छोड्यो । जनता र विशेषज्ञहरूको समेत कुरा नसुनेपछि कसको के लाग्छ र ? सर्वोच्च अदालतको राय बाझ्यो निजगढमा विमानस्थल बनाउन दिने नदिनेमा । अन्ततः पाँचदलीय गठबन्धन सरकारको विमानस्थल बनाउने राय पनि भयो । वाणीविहीन पार्टीहरूको वाणीले पार्टीले वैधता पाएन । प्राणी वर्गमा सर्वाधिक बाठो मान्छेकै पक्षमा लग्यो सरकार । सरकारमात्र लागेन सरकारमा भएका पाँचवटै पार्टी लागे । अस्ति शनिबार पाँचवटै दलका एक नम्बरका नेताहरू सैनिक हेलिकप्टरमा गए । केही ठाउँ हेर र त्यही नै ठूलो विमानस्थल निर्माण गर्ने ठहर जनतालाई सुनाए र फर्के । चार वटा चाहिने र अहिले चाहिँ दुई वटा मात्र रनवे बनाउने भनी फर्के । जनताको आवाजको सुनुवाइ भएन । वातावरणसम्बन्धी मूल्याङ्कनको बेवास्ता गरियो । अब सरकारको पक्षमा परिणाम आउने गराइन्छ र निजगढको ऐतिहासिक वन क्षेत्रमा नै विमानस्थल बनाइन्छ । कसको के लाग्छ सर्वोच्च अदालतको समेत आदेश उल्लङ्घन गरेपछि । अब निजगढका परिपक्व रूख त काटिने नै भए । त्यसभन्दा नि गम्भीर कुरा त त्यहाँका लाखौँ–लाख पोथ्रा बिरूवा पनि समाप्त हुने भए । पारिस्थितिक प्रणाली बदलिने भो । हात्तीजस्ता विशालकाय जनावर अब कता हिँड्छन् वा के के उपद्रोह गर्छन् कसले के भन्नसक्छ ? पाँचवटै पार्टीले यो बुझेनन् ।
हात्तीलाई के आदेश दिने ?
काठमाडौँ उत्रने द्रुतमार्ग त्यहाँ बन्नु नै निजगढ अन्तर्राष्ट्रिय दोस्रो विमानस्थल बन्नुको सङ्केत थियो । क–कसका पालामा यी निर्णय भए त्यो इतिहास खोज्न समय लाग्छ । तसर्थ, त्यता नलागौँ । अब काठमाडौँ जोगाउन झनै उकालो पर्ने भयो । भारतबाट रेल्वे जोर्ने र अनि चीनबाट पनि रेल्वे जोड्ने रे । उत्तर–दक्षिणबाटै रेल्वेले काठमाडौँ जोडिएपछि काठमाडौँ खाल्डो कस्तो होला ? कहाँ सास फेर्ने होला ? अब हाम्रा सांस्कृतिक यात्रा, रथयाथा, पदयात्रा, शवयात्रा कहाँ कसरी सम्पन्न गर्ने होला ? सरकार संसारमा सबैतिर छ तर खास खास संस्कृति, संस्कार सबैतिर छैन । कति धेरै त लोप नै भइसके । बाँकी भएकालाई कसरी संरक्षण गर्ने, कसले गर्ने, काठमाडौँको एउटा दीर्घकालीन दूरदृष्टि भएको मूल गुरूयोजना बनाउनुप¥यो । विकासका जत्रा आवाज आए पनि त्यो गुरूयोजनामा भौतिकमात्र होइन रासायनिक प्रभाव पनि पर्न दिनुभएन । अन्यथा यो दुर्लभ एवं अनन्य सम्पदाको खानी काठमाडौँ शब्दमा मात्र शेष रहनेछ । जीवन्तता समाप्त हुनेछ । विकासको मान्छेको आकाङ्क्षाको कुनै सीमा हुँदो रहेनछ । एउटा हात भाँचिएपछि अर्को हात थाप्दो रहेछ । तसर्थ विकास भनेको के ? समृद्धि भनेको के र कति ? भनी समयमै चौरूद्दी बाँधिएन भने यो मानव समुदायले एउटा निजगढमात्रमा अतिक्रमण र आक्रमण गर्दैन । अरू के केमा आँखा गाड्छ ठेगान छैन । अब आफ्नो पुस्तौँ पुस्तादेखि भोगचलन गर्दै आएको निजगढ क्षेत्रमा आउने हात्तीलाई गोली हान्ने कि के गर्ने ? के आदेश दिने ?
देशभक्त एक होऔँ
जनताको सरकार भनेको जनताको आवाज सुन्ने हुनुपर्छ । त्यसमाथि जनताका साथै विषयवेत्ताहरू, विशेषज्ञहरूको राय त मान्नैपर्छ । सुन्नेमात्र होइन जनताको र विज्ञहरूको समेत आवाज पटक्कै नसुने सरकार पनि जनताको सरकार हुन्छ र ? आजको सरकार संयुक्त सरकार हो । यो सरकारमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चासमेतको पाँच दलको गठबन्धन अति पातलो छ । सानो फरक मतले पनि यो गठबन्धन भङ्ग हुनसक्छ । यहाँ वास्तवमा कसैको भर कसैलाई छैन सबै निमित्त मात्र भएका छन् । निजगढमा सैनिक हेलिकप्टरबाट ओर्लेर जुन जुन नेताले जे जे भने पनि त्यस्ता भनाइको ग¥हुँगो तात्पर्य रहँदैन । कुनै पनि बेला जे पनि हुनसक्छ । कुनै पनि पार्टीका जुनै तहका नेता भए पनि त्यो आसनमा त्यही नेता कति दिन अडिन्छ कुनै भरोसा छैन । यहाँ रणनीतिक पार्टी जुट्न सहज छ । तर, विभाजन जटिल छ । यस्तो अन्योलग्रस्त समयमा के गर्ने के नगर्ने दोधारमा राजनीति रहेको बेला निजगढजस्ता गम्भीर विषयमा कसैको पनि गम्भीर ध्यान जाँदैन । सत्तासीन पाँचवटै दलले यही अवसर छोपी बनाउनै नहुने कुनै हालतमा पनि निजगढमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तय भएको छ । यस्तो काम गर्ने अधिकार कुनै पनि दल वा पार्टीलाई छैन र हुनुहुँदैन पनि । तर, यहाँ त सत्तासीन पाँचवटै पार्टीको एकै मुख । निजगढको विशाल क्षेत्रमा विमानस्थल बनाएर वातावरण नबिगार । निजगढ जोगाउन सबै देशभक्त एक होऔँ ।
Leave a Reply