भर्खरै :

अलबिदा शोभा मिस !

त्यो अन्तिम भेट
“तिमी शोभा मिसलाई भेट्न गएनौ ?” मङ्गलबार (असार ७ गते, २०७९) बिहान सबेरै फोनमा मेरी दिदी शोभाले अनायासै गरेको प्रश्नले मनमा चिसो पस्यो । ‘शोभा मिस’ (शोभा प्रधान) को शारीरिक अवस्था सा¥है कमजोर चरणमा पुगेकोे रहेछ । विगत चार वर्षदेखि अस्पताल आइजाइ गरिरहनुभएकी शोभा मिसको स्वास्थ्य अवस्थाबारे जान्दाजान्दै पनि त्यो प्रश्न तीर बनेर पस्यो मनमा । दिदीको सोधाइ नियमित आकस्मिकता भइसकेको थियो । तत्कालै शोभा मिसको जेठो छोरा सुवेगसँग बिरामीको अवस्थाबारे बुझ्न खोजँे । भेटघाट गर्न मिल्ने रहेछ, समय पनि खुला छ भन्ने बुझियो । शोभा मिसकी बहिनी चञ्चलासँग बिरामीको स्थितिबारे थप बुझ्ने प्रयास गर्दा स्थिति गम्भीर भइसकेको थप पुष्टि भयो ।
त्यसदिन अपराह्न नेपाल क्यान्सर अस्पतालको ढोका खोल्नेबित्तिक्कै शोभा मिसको उज्यालो अनुहार हेर्न पाउँदा एकक्षण सन्तोष लाग्यो । उहाँ दोब्रिएर ठडिएको बेडमा अडेस लिएर बस्नुभएको थियो । उहाँको गोरो अनुहारमा बान्की परेका कलेजी ओठमा मन्द मुस्कान देखेर अलिकति राहतको सास फेरेँ ! केही दिनअगाडि एउटा तस्बिरमा देखेको फोक्से अनुहार बरु डरलाग्दो थियो । अन्तिम चरणको क्यान्सररोगीको मुहारमा देखिएको त्यो आभा कतै निभ्न लागेको बत्तीको उज्यालो त होइन ! भयङ्कर भयले छोपियो मन । नाकमा अक्सिजनको पाइप जोडिएको थियो । तर, शोभा मिसले जीवनको अन्तिम सास फेरिरहेको भन्ने कतै आभाष थिएन त्यहाँ ! मानौँ उहाँ दीर्घरोगलाई जित्दै हुनुहुन्थ्यो ।
कोठाभित्र पस्नेबित्तिकै शोभा मिससामु मैले जम्लाहात गरेँ, सदाझैँ ! यसपटक पहिलेझैँ एक हात उठाएर अभिवादन फर्काउनुभएन । शोभा दिदीले सोध्नुभएको छ है भनेर अथ्र्याउने कोसिस गरेँ । एउटै विद्यालयमा सँगै काम गरेका मनमिल्ने साथीको सम्झना सुनाएर उहाँलाई सान्त्वना दिने अभिप्रायले मैले त्यो सन्दर्भ राखेको थिएँ ।
तर, शोभा मिस असार ८ गते अपराह्न सदाको निम्ति अस्ताउनुभयो । असार ७ गते, अपराह्नको त्यो भेटमा उहाँको मुहारमा कुनै विषाद् देखिन्नथ्यो । अघिअघिझैँ उहाँ स्वाभाविक हुने प्रयास गर्दै हुनुहुन्थ्यो । उज्यालो मुहार हुने मानिस थलिएको बेलामा पनि उस्तै हुन्छ सायद । मलाई लागेको थियो, जीवनका सम्पूर्ण कर्तव्य पूरा गरेर सन्तोषको सास फेर्दै हुनुहुन्छ । हाँसीहाँसी बिदा हुने तयारी गरिरहेजस्तो देखिनुहुन्थ्यो शोभा मिस ! जीवन र जगतप्रतिको सकारात्मक भावनाबाहेक त्यस्तो तेज अरू केले दिँदो हो ! जीवनलाई सङ्घर्षको रूपमा बुझ्ने जोकोहीमा त्यस्तो तागत हुन्छ होला ! उहाँमा त्यस्तो उच्चमनोबल नभएको भए २३ वर्षदेखि एउटा प्राणघातक रोगसँग कसरी लड्न सक्नुहुन्थ्यो ! शोभा मिसको जिजीविषा भने मरिसकेको थिएन । त्यो मानवीय स्वभाव नै त होला !
क्यान्सर नलागेको मानिसले क्यान्सर रोगीको पीडा सायद अनुभूत गर्न सक्दैन । सम्झन्छु, मुखमा टन्सिल पाकेर केही दिन आराम गर्नुपर्दा पनि कति न्यास्रिएको हुन्थेँ म । कतिखेर ‘फ्रेस’ होइएला भनेर मन अधीर हुन्थ्यो । त्यो दिन म धैर्यशिरोमणिसँग साक्षात्कार गर्दै थिएँ सायद ! क्यान्सरविरुद्ध लडिरहेकी योद्धाको भावभङ्गी पढ्ने चेष्टा गरिरहेको थिएँ । कठिनाइसँग लड्न धैर्यको विकल्प के हुँदो हो !
अनि हामीले अन्तिम सहभोजन ग¥यौँ !
“धेरै दिनपछि केरा खाँदै छु ।” शोभा मिसकी अर्की बहिनीले छोडाएर दिएको केरा खाँदै उहाँले भन्नुभयो । केराका साना टुक्रा तातोपानीमा डुबाएपछि केरा निल्न सजिलो भएको थियो सायद । बिस्तराको बायाँ छेउमा बसेर अनुराधा बहिनीले उहाँको हात सुम्सुम्याइदिइन्, सृजना बहिनीले खुट्टा माडिदिइन् । त्यो पनि त माया तथा सम्मानको अभिव्यक्ति नै थियो ।
शोभा मिसले हामी बिरामी भेट्न गएकालाई केरा खान भन्नुभयो । अस्पतालको कोठामा सामान्यतः खाने रुचि हुन्न मलाई । तर, मिसले भनेपछि मन राख्नलाई नखानु पनि भएन । हामी उपस्थित सबैले एकएकवटा केरा खायौँ । संयोग भनौँ, त्यही केरा शोभा मिससँगको अन्तिम सहभोजन भयो मेरो । पहिलेपहिले उहाँले बनाएका कति चटामरी, योमरी, चिया खाएको थिएँ, त्यसको लेखा राख्ने कुरै भएन ।
एकैछिनमा अस्पतालकी नर्स कोठाभित्र पसिन् । नर्सले आफ्नो काम गरिन् । शोभा मिसले ती नर्सलाई पनि केरा खान भन्नुभयो । नर्स बहिनीले अहिले आफूले केही खान मिल्दैन भनिन् । ‘मै खुवाइदिऊँ कि’ भन्नुभयो शोभा मिसले । अस्पतालकी नर्सले पछि खाउँला भनेपछि छोरा सुवेगलाई “नर्सहरूको लागि केरा पु¥याइदेऊ” भन्नुभयो । “कुहिएको नपरोस् !” उहाँको सचेतनाको तहले सगरमाथा छोइरहेको थियोे । चिन्तन तथा सांस्कृतिकस्तर नै व्यक्तिको मूल्याङ्कनको आधार हुन् भन्दा केही फरक पर्छ र ? शोभा मिसले जीवनको अन्तिम क्षणसम्म पनि त्यही व्यक्तित्व झल्काइरहनु भएको थियो भन्ने कुराको बोध भइरहेको थियो मलाई ।
अस्पतालमा पोछा लगाउने तथा सरसफाइ गर्ने समय भएछ । एकजना सफाइ कर्मचारी कोठाभित्र आएपछि हामी साथीहरू एकछिन कोठाबाट बाहिर निस्कियौँ । भाइ सुवेगले आफ्नी आमा अन्तिम चरणमा पुग्नुभएको कुरा बताए । “अब कुनै उपाय बाँकी छैन ।” यस्तो यथार्थ स्वीकार गर्न असहज हुने नै भयो । मर्फिनले गर्दा सारा दुखाइ दबाइदिएको रहेछ । शोभा मिसको बिदाईलाई मर्फिनले सघाइरहेको थियो ।
उता सुवेग भने आफ्नी आमासँग ठट्टा गरिरहेका हुन्थे । त्यस्तो अवस्थामा ठट्यौलो हुन पनि कम्ती साहस चाहिन्नथ्यो । तर, उपचारको एउटा उपाय हो त्यो । हाँसखेलले पीडा कम गराउँछ पनि । हाँसीहाँसी बिदा गर्ने त्यो काइदा सदा स्मरणीय रहनेछ ।
‘भक्तपुर काण्ड’ को सम्झना
मैले शोभा मिससँग प्रथमपटक २०४५ को भक्तपुर काण्डको सिलसिलामा साक्षात्कार गरेको सम्झना छ । भदौकै महिना एकदिन योगेन्द्र सरले उहाँको घरमा बोलाउनुभयो । ०३८/०३९ सालदेखि आइजाइ गरेको घर थियो सुकुलढोकास्थित अध्यक्ष रोहितको पुख्र्यौली घर । मेरो बुबा (बुद्धिकुमार गोसाई) ले पठाउने गरेका चिठी लिएर कैयौँपटक त्यो घर पुगेको छु । योगेन्द्र सर, धीरेन्द्र सर, राजामान सर सबैसँग सिक्ने अवसर पनि पाएको छु । अङ्ग्रेजी र गणित सिक्न सजिलो मानेको थिएँ उतिबेला ।
त्यो पहिलो भेटमा हाम्रो घरमा के कस्तो छ भन्ने भलाकुसारी भयो होला, यस्तै कुरा भयो भन्न सक्दिनँ अहिले । तर, शोभा मिसको एउटा वाक्य भने झलझली सम्झन्छु – “तिम्रो बुबा कहाँ हुनुहुन्छ भनेर कसैले सोधे भने थाहा छैन भन्नू है ¤” एउटा पन्ध्र वर्षको कलिलो बालकलाई सम्झाउने तरिका त्योभन्दा उम्दा के हुनसक्थ्यो । हुन त त्यतिबेला बुबाबारे सोध्ने जोकसैलाई दिने जवाफ त्यही नै हुन्थ्यो । किनभने, भदौ १० गते बिहान सखारै (सायद राति नै) बुबाले घर छोड्नुभएको थियो, हामीलाई कुनै सुइँको दिनुभएको थिएन । तैपनि, मिसको सहमतिमा हवस् भनेर टाउको हल्लाएँ हुँला, अहिले विचार गर्दा ।
२०४५ को त्यो भेटघाटपछि हामी निरन्तर कैयौँघडीमा साथै बस्यौँ । एउटा अभिभावकसँगको बसउठको हिसाब कसले पो गरोस् ! पार्टीको कामदेखि घरव्यवहारसम्मका कुरा भए होलान् कैयौँ पटक । अध्यक्ष रोहितसँग खोल्न नसकिएका व्यक्तिगत कुरा पनि भए, दुःख–सुख बिसाउने चौतारीमा ।
२०७२ को भूकम्पपछि शोभा मिससँगको आत्मीय सम्बन्ध अझ प्रगाढ भयो । मेरी जीवनसङ्गिनी कल्पना घर भत्केर बितेपछि उहाँले दिनुभएको सान्त्वना एउटा राजनीतिक कार्यकर्ताको लागि सदा अविस्मरणीय थियो । कल्पना रोहित दाइ र भाउजूको स्वास्थ्य परीक्षणको सिलसिलामा घर गइरहन्थिन् । कल्पनाको निधनपछि हाम्रो परिवारले व्यहोर्नुपरेकोे असहज परिस्थितिको अन्दाज गरेर उहाँले अनेकन् सहयोग गर्नुभएको थियो । कार्यकर्ताप्रतिको उहाँको माया भक्तपुरमात्र होइन, कर्णाली प्रदेशमात्र होइन, नेपालभरि छरिएको छ ।
त्यसरी होस् मरण, मर्नु त छँदै छ एकदिन !
चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङले एउटा सन्दर्भमा भन्नुभएको थियो –“प्रतिक्रियावादीहरूको मृत्यु प्वाँखभन्दा हलुका हुन्छ, क्रान्तिकारीहरूको मृत्यु पहाडभन्दा ग¥हौँ हुन्छ ।” असार १० गते शुक्रबार शोभा मिसको शवयात्रामा उर्लिएको जनसागर देख्दा माओको उपर्युक्त भनाइको सम्झना भइरहन्थ्यो ।
त्यसदिन हजारौँ शिक्षक र महिलामात्र होइन, किसान तथा मजदुर, बुद्धिजीवी, राजनीतिक नेता तथा कार्यकर्तालगायत विभिन्न तप्काको सहभागिता थियो । त्यो जुलुुसमा सहभागी सबैको शिर श्रद्धाले निहुरेको थियो । सबै मानिसको आँखामा दुःख र पीडाका बाढी छचल्किरहेको देखिन्थ्यो । त्यो जुलुसमा सहभागी एकजना बहिनीले अनायासै भनिन् – “म पनि यसरी नै मर्न पाए हुन्थ्यो !” युवापुस्तामा रोपिएको त्यो चेतनाको बिउ शोभा मिसजस्तो सुन्दर फूलको परिणाम हो । आफ्नो व्यक्तिगत स्वार्थलाई पन्छाएर बृहत्तर हितमा लाग्ने जोकोहीप्रति जनसाधारणको यस्तै सद्भाव रहन्छ । शोभा मिसको मरणले देवकोटाको ‘भन्छन् सबै सुख कहाँ छ, आफू मेटाइ दिनु जहाँ छ’ भन्ने कवितांशलाई चरितार्थ गर्दछ ।
अध्यक्ष रोहितको जीवनमा साथ दिनु थोरै साहस, धैर्य, संयम चाहिन्नथ्यो । वैवाहिक जीवनको सुरुआततिरै आइपरेको राजनीतिक भूकम्प – भक्तपुर काण्ड, देश र जनताको सेवामा दिनरात खटिरहने श्रीमान्, दुई छोरालाई हुर्काउने जिम्मेवारी, छोराहरू सानो छँदा देखिएको प्राणघातक रोगको सामना गर्नु असामान्य कुरा थिए ।
शोभा मिस नेमकिपाका अध्यक्ष रोहितकी जीवनसाथीमात्र नभएर नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घकी केन्द्रीय सदस्य हुनुहुन्थ्यो । कार्ल माक्र्सको सफलताको चर्चा गर्दा जेनी माक्र्सको नाम छुटाइन्न । लेनिनको क्रान्तिकारी विचार निर्माणमा क्रुप्स्कायाको योगदान कम मानिन्न । माओ त्सेतुङको नामसँगै उहाँकी जीवनसङ्गिनी याङ काइहुइको चर्चा आउँछ । त्यसैगरी किम इल सुङ र किम जङ सुक पनि विश्व कम्युनिस्ट आन्दोलनमा धेरै चर्चा पाउने क्रान्तिकारी जोडीको रूपमा लिइन्छ । समाजमा आमूल परिवर्तन चाहने नेता तथा कार्यकर्ताले आफ्नो जीवनको आदर्शसापेक्ष जीवनसाथी चयन गर्नु अत्यावश्यक भएको कुरा उहाँहरूको सफलताको कथा सुन्दा बोध हुन्छ ।
हरेक व्यक्तिको सफलता तथा असफलतामा परिवारको प्रत्यक्ष तथा परोक्ष भूमिका रहन्छ । देशको एक मुर्धन्य कम्युनिस्ट नेताको जीवनसङ्घर्षमा साथ दिनु आफैमा चुनौतीपूर्ण हुन्छ । नेमकिपाका अध्यक्ष रोहितको सक्रिय राजनीतिक जीवनमा साथ दिनु सजिलो वा सहज किञ्चित् हुनसक्दैनथ्यो । तर, वैवाहिक जीवनका करिब ४० वर्षमा शोभा मिसले त्यो कष्टसाध्य भूमिका निर्वाह गरेरै देखाउनुभयो ।
महिलाको राजनीतिक चेतनास्तर उठाउन उहाँले निर्वाह गर्नुभएको भूमिकाले उहाँको व्यक्तित्वको अर्को पाटोको उजागर गर्दछ । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि निरङ्कुश राजतन्त्रविरुद्धको आन्दोलनमा शोभा मिसको सक्रिय भूमिका रह्यो । महिलालाई आन्दोलन र सङ्घर्षमा उतार्नु सजिलो पक्कै थिएन । त्याग, तपस्या र बलिदानको भावना नभई श्रमिक वर्गीय आन्दोलनको नेतृत्व लिन सम्भव थिएन ।
शिक्षकले राजनीति गर्ने होइन भन्ने शासक वर्गले गरिबको राजनीतिक आन्दोलन दबाउन सधैँ जालझेल गरिरहेका हुन्छन् । शोभा मिस शिक्षिका हुनुहुन्थ्यो । उहाँले समाजको आमूल परिवर्तनको निम्ति शिक्षण पेशा अपनाउनुभयो, शिक्षक भएरै राजनीतिक परिवर्तनको नेतृत्व सम्हाल्नुभयो । शिक्षाको प्रचार गर्न नै राजनीति गर्नुभयो । राजनीतिको उद्देश्य नै गरिब वर्गको चेतनास्तर उठाउनु हो भन्ने सिद्ध गर्नुभयो । एउटा अनुकरणीय व्यक्तित्वप्रति प्रदर्शित श्रद्धाञ्जलीले सामाजिक अग्रगमनको राजमार्ग फराकिलो बनाउँछ ।
अन्तमा, शोभा मिस पाठेघरको क्यान्सररोगको उपचार गर्दागर्दै बित्नुभयो । तर, क्यान्सर आम नेपालीको समस्या बनिसकेको छ । समयमै रोगको निदान गर्न सकिए क्यान्सर निको हुने सम्भावना पनि उत्तिकै प्रबल छ । मनोबल कमजोर बनाउनुहुन्न भन्ने कुरा शोभा मिसबाट सिक्न सकिन्छ । उहाँका अनुभवका कुरा कुनै पनि रोगीको निम्ति प्रेरणा बनिरहेको छ । शोभा मिस रोगी हुनुभयो तर सामान्यजनलाई निरोगी हुन सचेत बनाइरहनुभयो । उहाँको नेतृत्वमा सञ्चालन भएका स्वास्थ्य शिविर, क्यान्सरको स्क्रिनिङ परीक्षणले गर्दा आज कम्तीमा भक्तपुरमा क्यान्सरसम्बन्धी चेतनास्तर उठेको छ । त्यसैले पनि सबैले सम्झे उहाँलाई । यस्तो गौरवशाली होस् मरण ! शोभा मिसको योगदानप्रति सम्मान छ ! अलबिदा शोभा मिस, ‘मिस यु फरएभर’ ! बिजुक्छेँ परिवार, प्रधान परिवार, नेमकिपाका समस्त नेता तथा कार्यकर्ता, भक्तपुरवासी र सम्पूर्ण समर्थक एवम् शुभेच्छुकप्रति गहिरो समवेदना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *