भर्खरै :

अङ्ग्रेजी हाई हाई ! नेपाली बाई बाई !!

चीन, जापानजस्ता देशहरू, अन्तर्राष्ट्रिय मानिएको अङ्ग्रेजी भाषा सिक्न चासो नगरिकनै पनि सम्पन्न, सभ्य, आधुनिक र शिक्षित भएका छन् । हाम्रो देश सम्पन्न त प्राकृतिकरूपमा छँदै छ । सभ्य, आधुनिक र शिक्षित बन्ने नाउँमा पाश्चात्य संस्कार मन पराउँदै मौलिकता बिर्साउन थालिएको छ । मातृभाषा र राष्ट्रभाषाभन्दा अङ्ग्रेजी भाषालाई बढ्ता माया गर्ने चलन चलाइएको छ योजनाबद्ध ढङ्गमै । हामी पनि यसमै बहकिएर मख्ख पर्न थालेका छौँ ।
अन्य देशमा भने कुनै समयमा कारणवस शाब्दिक सम्पदा र मौलिकता बिगारिएको भए अहिले त्यसलाई सपार्नपट्टि लागिएको देखिन्छ । यस सम्बन्धमा नजिकैको उदाहरणको रूपमा छिमेकी देश भारतलाई नै लिऊँ । त्यहाँ ‘अलाहावाद’ लाई प्रयागराज, ‘बनारस’ लाई वाराणसी, ‘बेङलोर’ लाई बेङलुरु, ‘कलकत्ता’ लाई कोलकाटा, ‘गौहाटी’ लाई गुवाहटी, ‘मुस्ताफाबाद’ लाई सरस्वतीनगर, ‘साकेत’ लाई अयोध्या इत्यादि बनाएर भाषिक र सांस्कृतिक मौलिकता बचाइएको छ । हामीकहाँ भने प्रदेशको नामकरण गर्ने क्रममा पनि यस्तो मौकाको सदुपयोग गर्न सकिएन ।
नेपाली भाषाको वर्णविन्यास राष्ट्रिय स्तरमै सपार्ने नाममा बिगार्न सुरु गरिएको एकदशकभन्दा बढी नै भएको कुरा सबैलाई थाहै छ । यसबाट भाषिक प्रयोगमा एकरूपता र व्यवस्थित अवस्था देखिनुभन्दा अनेकता, विवाद र अराजकता देखिएको छ । के कस्तो लेख्दा ठीक हुने विषयमा पुराना र नयाँ पुस्ताबीचको मान्यता मिल्दैन । आधुनिक विद्वत् वर्गको आफ्नै ताल छ । पढ्दै गरेका नयाँ विद्यार्थीहरू गलत प्रयोगमै अभ्यस्त हुँदै छन् । बीचका शिक्षकहरू भने अन्योल र धर्मसङ्कटमा छन् ।
यसरी माथिकाले त वर्णविन्यास बिगारेरै छोडे ! हामी तलकालाई पनि आधुनिकताको हावाले भेटेको छ । त्यसैले, हामी बालबालिकाहरूलाई बोली फुटेदेखि नै ‘डेडी,’ ‘ममी,’ ‘अङ्गल,’ ‘आन्टी,’ ‘बाइबाइ,’ ‘गुड मर्निङ,’ ‘गुड आफ्टरनुन,’ ‘थ्याङ्क यु’ भन्न सिकाउँदै नेपाली भाषाको जग बिगार्ने अभियानमा लागिपरेका छौँ । ‘क’ लेख्न नजान्ने कालो अक्षर भैँसी बराबरका गँवारसमेत आधुनिक बन्न पारिवारिक बोलीचालीमा यस्तै शब्दको प्रयोग गर्छन् । अझ आधुनिकताभन्दा पनि आजकल त अत्याधुनिकताको नाममा ‘ड्याड,’ ‘मम,’ ‘ब्रो,’ ‘सिस्’ समेत चल्न थालिसक्यो । यसरी सानैदेखि नेपाली भाषाको ठाउँमा अङ्ग्रेजी सिकेर÷सिकाएर सभ्य बन्ने÷बनाउने परम्पराले नेपाली भाषामा प्रयुक्त मौलिक शब्दहरू विस्थापित हुँदै छन् ।
भाषा शुद्धसँग सिक्ने/सिकाउने मुख्य थलो भनेको विद्यालय हो । तर, त्यहाँबाट नै नेपाली भाषाका सट्टा अङ्ग्रेजी भाषालाई महत्व दिने जबरजस्त अभ्यास सुरु हुन्छ । भर्ना हुनासाथ विद्यार्थीहरूलाई नेपाली शब्दमा भन्दा अङ्ग्रेजी शब्द सिकाउनभन्दा अङ्ग्रेजी शब्द घोकाउन थालिन्छ । मानौँ, नेपाली शब्द जान्नु भनेको त सिकाइ नै होइन ! यसरी, सानैदेखि नेपालीलाई भन्दा अङ्ग्रेजीमा जोड दिएर पढाइएका/घोकाइएका बालबालिकालाई कुनै पाँचवटा फलफूलको नाम भन्न/लेख्न लगायो भने जान्दैनन् तर ‘फाइभवटा फ्रुटको नाम लेख त !’ भन्यो भनेचाहिँ फटाफट एपल, बनेना, म्याङ्गो, पाइनापल, अरेन्ज लेख्न सक्छन् । ‘खाजा,’ ‘गृहकार्य,’ ‘किताब,’ ‘समय’ जस्ता थुप्रै शब्दहरूको नेपाली रूप तिनीहरूलाई थाहै छैन । आजकल कक्षा ११÷१२ उत्तीर्ण गरेका विद्यार्थी नेपालीमा चिठी, निवेदन लेख्न होइन, अङ्ग्रेजीमा ‘लेटर,’ ‘एप्लिेकेसन’ मात्र ‘राइट’ गर्न सक्ने भएका छन् । जमाना नै यसप्रकारको आधुनिक भएपछि, अब यसैलाई नै हामीले ठूलो सिकाइ उपलब्धि मान्नुपरेको छ ।
‘बोर्डिङ स्कूल’ मा नेपालीलाई जोड दिएर सिकाउने कुरै भएन किनभने ती नेपाली सिकाउने विद्यालय नभएर अङ्ग्रेजी सिकाउन स्थापना गरिएका ‘स्कूल’ हुन् । तर, आजकल त सरकारी विद्यालयहरूमा पनि ‘अङ्ग्रेजी माध्यम’ को भूत सवार भएको छ । त्यहाँ पनि, आफ्नो विद्यालयलाई चर्चित, लोकप्रिय र आकर्षक बनाउनका लागि ‘अङ्ग्रेजी माध्यम’ को बनाउन भरमग्दुर प्रयास गरिँदै छ । ‘इङ्गलिश मिडियम’ का ‘मोडल स्कूल’ बन्दै गर्दा, विद्यार्थीहरू नेपालीमा बोल्न र लेख्न नै गा¥हो मान्ने भएका छन् । अवस्था यस्तो भए पनि, पालिकाहरूसमेतले योजनै बनाएर वर्षमा ६ महिनाजति ट्युसन/कोचिङ अनिवार्य गणित, ऐच्छिक गणित, विज्ञानसहित अङ्ग्रेजी विषयकै चलाइन्छ । सरकारी योजनामा नै, नेपालीलाई होइन, तिनै विषयमा विद्यार्थीहरूलाई कसरी सक्षम बनाउने भन्ने कुरा छ क्यारे ! त्यत्तिका गर्दा पनि ती विषयमा थुप्रै विद्यार्थीहरू फेल हुने गरेका छन् । ती विषयको शिक्षक पाउन पनि गा¥है छ । एकमन त लाग्छ : त्यस्ता गा¥हो विषयको सट्टा रोजगार, सीप र व्यवसायमुखी विषय राखेको भए पनि त हुन्थ्यो होला !
अङ्ग्रेजीलाई महत्व दिने प्रवृत्ति विकसित भएका कारण, धेरै सरकारी विद्यालयमा समेत विद्यार्थीले पढ्नुपर्ने सात आठवटा विषयहरूमध्ये, बिचरा एउटामात्र विषय ‘नेपाली’ (कक्षा आठसम्म पढाइ हुने ५० पूर्णाङ्कको नैतिक शिक्षासहित) नेपाली माध्यमको छ । त्यही विषयको एउटा किताब पनि गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिकभन्दा सानै आकारको छ । यो वर्षदेखि ‘अङ्ग्रेजी माध्यम’ का विद्यालयले पनि नेपालीबाहेक सामाजिक शिक्षालाई पनि नेपाली माध्यममै पढाउनुपर्ने व्यवस्था गरिएकोले अङ्ग्रेजी माध्यममा पढ्ने/पढाउने बानी भएका विद्यार्थी तथा शिक्षकलाई गा¥हो भएको छ रे !
आफ्ना छोराछोरीलाई अङ्ग्रेजी माध्यमको सरकारी विद्यालयमा भर्ना गराउन आउने सहरी क्षेत्रका अधिकांश अभिभावकहरू, ‘मेरो छोरा÷छोरी त पहिला बोर्डिङमा पढेर आएकोले नेपालीमा चाहिँ कमजोर छ है !’ भनेर हँसिलो मुख लाउँछन् । मानौँ, त्यसो नभनेसम्म उनीहरूलाई सन्तोष नै हुँदैन । परिणामतः कक्षा आठनौ मा पुगिसकेका कतिपय विद्यार्थीहरूलाई ‘सप्रसङ्गग व्याख्या’ लेख्न सिकाउने कि गर्न सिकाउने भन्ने विषयमा नेपाली विषय शिक्षकलाई गा¥हो भएको छ ।
यसै सन्दर्भमा सरकारी विद्यालयमा पढाउने एकजना नेपाली गुरु भन्नुहुन्थ्यो, ‘मात्रा दिनका लागि हात यता र उति घुमाउनुपर्ने भएर हाम्रा विद्यार्थीलाई नेपाली अक्षर त लेख्नै अप्ठ्यारो हुन्छ रे ! हातै फत्रक्क हुन्छ रे गलेर । त्यसैले उनीहरूलाई नेपालीचाहिँ एक पृष्ठ लेख्न पनि झ्याउ लाग्छ रे ! इङ्गलिश ह्यान्डराइटिङ लेखेर ल्याऊ भन्यो भने खुसी भएर चारपाँच पाना भए पनि लेखेर ल्याउँदा रहेछन् । आजकलका विद्यार्थीलाई के भन्नु !’
नभन्दै अवस्था कस्तो पनि छ भने– कनीकुथी ‘नेपाङ्ग्रेजी’ मा अभ्यस्त भएका आजकलका विद्यार्थीहरू, ‘अठचालीस’, ‘अन्ठाउन्न’, ‘उनान्सत्तरी’ भन्यो भने बुझ्दैनन् । नेपाली शिक्षकले नेपाली विषयको कक्षामा पनि, ‘फर्टी अइट’, ‘फिप्टी अइट’ ‘सिक्स्टी नाइन’ नै भनेर बुझाइदिनुपर्छ । मोबाइल नं नेपालीबाट भन्दा मरेकाटे बुझ्दैनन्, अङ्ग्रेजीबाटै भन्नुपर्छ । नेपालीका कक्षामा कुनै कठिन शब्दको अर्थ किताबमा नेपालीबाटै दिइएको भए पनि तिनीहरू बुझ्दैनन् । त्यो बेला शिक्षकले ‘अर्थको अर्थ’ लाई पनि अङ्ग्रेजीबाट भनेर बुझाइदिनुपर्ने हुन्छ । विद्यार्थीहरूले एउटा वाक्य बोले भने त्यहाँ प्रयोग भएका धेरैजसो शब्द अङ्ग्रेजी हुन्छन् ।
विद्यार्थीको नेपाली पढाइ नै कमजोर छ । लेखाइ उस्तै अशुद्ध । कक्षा दसमा पढ्ने एकजना विद्यार्थीलाई नेपालीको पाठ पढ्न लाउँदा बिस्तारै अकमकाएर पढेपछि ‘किन यस्तो ?’ भनेर सोधेको त, ‘मेरो नेपालीमा फ्लुयन्स नै छैन’ रे ! अब भो ! ‘फ्लुयन्स’ लाई नेपालीमा के भनिन्छ भन्दा आउँदैन रे ! यद्यपि त्यो कमजोरी विद्यार्थीको थिएन र उसलाई दोष लाउन पनि मिल्दैन किनभने त्यो उसले सिक्दा बेहोरेको समग्र वातावरणको परिणाम हो । यो अवस्थामा, माथिल्लो कक्षामा पुगिसकेका त्यस्ता विद्यार्थीलाई नेपाली भाषाअन्तर्गतको सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक सीपमा कसरी सक्षम बनाउने भन्ने प्रश्न पेचिलो बनेको छ ।
सप्तरी वरमझियाको पेडा निकै प्रख्यात छ । त्यहाँका पेडा पसलेहरूले आफूलाई झनै असली र पुरानो देखाउन, ‘बाजेको पेडा पसल’, ‘बूढो बाजेको पेडा पसल’, ‘कुप्रो बाजेको पेडा पसल’ जस्ता नाम राखेका छन् । त्यस्तै हाम्रा शैक्षिक संस्थाका नाम पनि आफूलाई ‘अट्रयाक्टिभ’, ‘एक्सेलेन्ट’ र ‘पोस्ट मोर्डन’ देखाउने क्रममा विदेशी स्तरका राख्ने होडबाजी चलेको पाइन्छ । त्यस्ता केही नामहरू–ग्लोबल, मोडेल, मोडर्न, मदरल्यान्ड, नेसनल, लिटिल एन्जल्स, सेन्ट जेभियर्स, युनाइटेड, गोल्डेन गेट, थेम्स, क्याथफोर्ड, हेराल्ड, इस्लिङटन, मिडभ्याली, ट्रिटन, ट्रिनिटी, आइन्स्टाइन, अक्सफोर्ड, डाइमन्ड, रेडन, ह्वाइट हाउस, टाइम्स, क्याम्पियन, पेन्टागन, टेक्सास, समिट, प्राइम, लिङ्कन, क्यान्भास, क्लासिक, लिभरपुल, प्यारागन, मोर्गान, बर्नहार्ट–हामीले सुनेकै हौँ । देशको शिक्षामा केही योगदान गरौँ भन्ने हिसाबले नेपाली शिक्षाप्रेमीले खोलेका त्यस्ता विद्यालयमा नाम, हाम्रै नेपाली भाषा, नेपाली संस्कृति, नेपाली प्रकृति र नेपाली विभूतिका नाममा हुनुपथ्र्यो नि, होइन ? अमेरिका, बेलायत, जापान, जर्मनीजस्ता देशमा त कुरै छोडौँ, के भारतमै पनि नेपाली विभूति, नेपाली भूगोल, नेपाली संस्कृति पहिचानका कुनै विद्यालय स्थापना गरिएका छन् ?
शैक्षिक संस्थाकै नाम विदेशी भएपछि आजकल हाम्रा विद्यार्थीहरूका नाम पनि एलेक्स, इम्प्रेस, रोनिक, एलेन, लरेन्स, ओशन, रोबर्ट, जोन, फ्लेम, आइन्स्टाइन, प्रोग्रेस, इलियन, ब्रिलियन्ट, न्युट्रन, सोफिया, जुलिया, सोनिया इत्यादि राखिन थालेका छन् । हुँदाहुँदा अब त कुनै पनि सवारी साधनमा लेखिने सङ्केत अङ्क पनि ‘इम्बोस्ड नम्बर’ को रूपमा अङ्ग्रेजीमै लेख्नुपर्ने सरकारी नियम आइसक्यो ! यस्तोसम्म हुन थालेपछि नेपाली भाषा र यसको मौलिकता कसरी बाँच्न सक्छ ?
भाषा ज्ञान सर्वोत्तम ज्ञान हो । विश्व भूमण्डीकरणको अवस्थामा, विदेशी भाषा सिक्नु र सिकाउनु एकदमै जरुरी छ । त्यसमा पनि अङ्ग्रेजी त विश्वभाषा नै भएको हुँदा यसको सिकाइ/पढाइ त झन् पहिलो प्राथमिकता पर्ने नै भयो । तर, यसो भन्दैमा आफ्नो भाषालाई वास्तै नगरिकन अर्काको भाषालाई अनावश्यक मोह र माया गर्नुचाहिँ किमार्थ राम्रो होइन । कुनै पनि वक्तालाई दोस्रो भाषा सिक्न वाध्य बनाउनुभन्दा पहिला आफ्नै भाषामा पोख्त बनाउनुपर्छ । विशेष कारण र परिस्थितिवश दोस्रो भाषा सिक्नुपर्दा वक्ताले छिट्टै नसिक्ने कुरै हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *