जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
गएको स्थानीय तहको निर्वाचनमा एमालेका धेरै उम्मेदवारहरू हारेपछि पार्टीभित्रै विश्वासघात र अन्तर्घात भएका समाचारहरू छापा माध्यममा आएको हो । विश्वासघाती र अन्तर्घातीहरूको छानबिन गर्नुपर्नेमा पनि यदाकदा प्रश्न उठेको हो । निर्वाचन सकेको झन्डै दुई महिनापछि एमालेले अन्तर्घातीहरूको छानबिन गर्न पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिले अन्तर्घातीहरू फेला पार्छ पार्दैन, फेला पारे कारबाही हुन्छ हुँदैन, कारबाही भए कस्तो कारबाही हुन्छ या त्यो फेरि कसैले अन्तर्घात नगरोस् भनेर खबरदारी गर्न गठन भएको हो ? त्यो समयले बताउनेछ ।
केन्द्र तहबाट छानबिन समिति गठन भएबाट पार्टीभित्र धेरै असन्तुष्टिहरू या अन्तर्घातीहरू रहेको थाहा हुन्छ । यसले पार्टीले उठाएका उम्मेदवारहरू भरपर्दो, विश्वासिलो या योग्य नभएको, जनताले पत्याएका उम्मेदवारहरू नपरेको, नेताहरूको आफ्नो गोजीबाट छानिएको, जनताको बिचमा काम गर्नेभन्दा धनाढ्य, व्यापारी, जनविरोधी उम्मेदवारहरू परेको सजिलै अड्कल गर्न सकिन्छ । भन्न त छानबिन समितिले उजुरी लिने, छानबिन गर्ने र कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । यसले पार्टीले हचुवाको भरमा उम्मेदवारहरू छानेको थाहा हुन्छ । यसले देश, जनता र पार्टीको मतलब नराख्ने उम्मेदवारहरू छानेको थाहा हुन्छ । पार्टीले सिद्धान्त र विचारलाई बन्धक राखेर आफूखुसी उम्मेदवार उठाउने कामले एमालेभित्र असन्तुष्ट या अन्तर्घातीहरू बढेको पार्टीभित्रै गाइँगुइँ सुनिन्छ ।
पार्टी निर्णय पार्टी कार्यकर्ताले मान्नुपर्छ । पार्टी निर्णय कार्यकर्ताहरूले उल्लङ्घन गर्न पाउँदैनन् । कार्यकर्ताहरू किन असन्तुष्ट भए या अन्तर्घाती भए सोको पनि छानबिन गर्नुपर्छ । उम्मेदवार छान्ने विधि या प्रक्रिया ठीक छ कि छैन ? समीक्षा गर्नुपर्ने हुन्छ । पार्टीले उम्मेदवार चयन गर्दा आवश्यक छलफल नभएकोले नेता तथा कार्यकर्ताले असन्तोष पोखेका हुन् या विरोधको लागि विरोध गर्न आक्रोशको भाव पोखेका हुन् ? सञ्चारमाध्यममा आएको स्रोतअनुसार काठमाडौँ, ललितपुर, पोखरा, धरान, कैलाली आदि जिल्लामा कार्यकर्ताहरू सन्तुष्ट नभएका हुन् ।
Leave a Reply