भर्खरै :

“असान्जलाई अमेरिकामा सजाय दिने भए स्वतन्त्रताको प्रतिमा फोरे हुन्छ”

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुएल लोपेज अब्रादोर (आम्लो) ले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संरा अमेरिकामा सजाय दिने भए ‘स्वतन्त्रताको प्रतिमा’ (स्ट्याच्यू अफ लिबर्टी) फोर्नुपर्ने बताउनुभएको छ ।
पत्रकार असान्ज हाल बेलायतस्थित उच्च पहरा दिइने बेल्मार्श जेलमा छन् । गत शुक्रबार बेलायती गृहमन्त्री प्रीति पटेलले उनलाई अमेरिका सुपुर्दगी गर्ने निर्णय गरेपछि उनले पुनरावेदन दिएका छन् ।
अमेरिका पठाइएको खण्डमा गुप्तचरी ऐनअन्तर्गत असान्जले १७५ वर्षसम्म कैदको सजाय भोग्नुपर्नेछ । इराक र अफगानिस्तान युद्धमा वासिङटनले गरेका युद्ध अपराधहरू खुलासा गरेपछि उनीमाथि यो खण्ड आइपरेको हो ।
गृहमन्त्री पटेलले अमेरिका सुपुर्दगी गरेमा असान्जको जीवन धरापमा पर्ने विषयमा वकिलहरू र चिकित्सकहरूले लिएको चासोलाई खारेज गरेकी छिन् ।
गत वर्ष याहु समाचारले असान्जलाई लन्डनका गल्लीहरूमा मार्ने विषयमा सीआईएले बुनेको षड्यन्त्रबारे खुलासा गरेको थियो ।
गत हप्ता गृहमन्त्री पटेललाई लन्डनमा भेटेका अमेरिकाका पूर्वविदेशमन्त्री माइक पोम्पेओलाई उक्त हत्या योजनामा उनको भूमिकाबारे बयान लिन स्पेनी अदालतले डाकेको छ ।
गत महिना राष्ट्रपति आम्लोले असान्जका लागि मेक्सिकोले ‘आफ्नो ढोका खोल्ने’ र जेलबाट रिहा भए उनलाई राजनीतिक शरण दिने प्रस्ताव गर्नुभएको छ ।
“उनी हाम्रो युगका सबैभन्दा उत्कृष्ट पत्रकार हुन् र उनलाई असाध्यै नराम्रो व्यवहार गरिएको छ, एउटा अपराधीलाई भन्दा पनि खराब व्यवहार गरिएको छ,” उहाँले भन्नुभयो । यो सारा संसारको लागि लाजमर्दो कुरा हो ।
राष्ट्रपति आम्लोले गत सोमबारको पत्रकार सम्मेलनमा अमेरिकी अदालतले असान्जलाई सजाय दिएमा न्युयोर्कको बन्दरगाहमा रहेको प्रतिमा ढलाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “उनलाई अमेरिकामा ल्याएर अधिकतम सजाय दिने हो भने, जेलमा सडाएर मार्ने हो भने फ्रान्सले दान गरेको न्युयोर्कस्थित स्वतन्त्रताको प्रतिमा फोर्ने अभियान थाल्नुपर्नेछ किनभने त्यसपछि त्यो स्वतन्त्रताको प्रतिमूर्ति रहनेछैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *