भर्खरै :

क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो जन्म दिवस मनाइयो

भक्तपुर, २९ साउन । साम्राज्यवादविरोधी क्युवाली क्रान्तिकारी फिडेल क्यास्ट्रोको ९१ औं जन्म दिवसको अवसरमा क्युवा ऐक्यबद्धता
समिति नेपालको आयोजनामा आइतबार ‘फिडेल क्यास्ट्रोका योगदान र क्युवा तथा भेनेजुयलामा साम्राज्यवादविरोधी संघर्ष’ विषयक विचार गोष्ठी भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले तेस्रो विश्वका देशहरूको पक्षमा बोल्ने भएकाले संरा संघका महासभामा फिडेल क्यास्ट्रोको भाषण सुन्न सभाकक्षमा खचाखच मानिस हुने गरेको आफ्नो सम्झना सुनाउनुभयो ।
क्यास्ट्रो राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्ने चाहनाका साथ क्रान्तिमा नहोमिएको बताउँदै उहाँले पूँजीवादी पार्टीका नेताहरूलाई शुरुदेखि नै विभिन्न पदको आकांक्षी बनाउने गरेको प्रष्ट पार्नुभयो ।
राजनीतिक कार्यकर्ताले आफूले मात्र अध्ययन गर्ने नभई जनतालाई सचेत बनाउन उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रमको लागि रुस र युरोपको भूगोल, इतिहास र क्रान्तिबारे अध्ययन गर्न जरुरी भएकोमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेंमा कुनै पनि देशमा क्रान्ति सम्पन्न गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुन जरुरी भएको स्पेन, भियतनाम र रुसको उदाहरण सहित बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले क्युवाली क्रान्तिकारी फिडेल क्यास्ट्रोले आफ्नो सम्पत्ति समेत बेचेर क्रान्ति र आफ्नो देशको स्वाधीनताको लागि हतियार किनेको उदाहरण प्रस्तुत गर्दै नेपालमा कर छलेर र भ्रष्टाचार गरेर देशलाई सिध्याउने विकृति फैलिएको बताउनुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै नेपालका परराष्ट्रमन्त्रीले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी भारतीय राजदुतलाई कोशी बाँधको ढोका खोल्न गरेको आग्रह गलत भएको बताउनुभयो ।
उहाँले भारतले सिमानामा बाँध बाँधेर नेपाली भूमि जलमग्न बनाएको विरोधमा नेपालका कानुनविद्हरूले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न सक्ने धारणा राख्दै सरकारमा हुँदा एक थरी कुरा गर्ने, अनि सरकारबाहिर हुँदा अर्को कुरा गर्ने नेपालका नेताहरूको अभिलेख तयार गर्नुपर्ने विचार राख्नुभयो ।
क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष सुरेन्द्रराज गोसाईले क्युवाली समाजवादमाथि संरा अमेरिकी हमलाबारे पावरप्वाइन्ट प्रस्तुति गर्दै क्युवाली समाजवादलाई विफल बनाउन जोन एफ केनेडीको राष्ट्रपति कार्यकालमा सीआईएले क्युवाको बे अफ पिगमा हमला गरेको तर क्युवाली एकताबद्ध प्रतिरोधबाट पराजीत भएको धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले भेनेजुयालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रकाश पार्दै संरा अमेरिकी साम्राज्यवादको उक्साहटमा भेनेजुयलामा पूँजीवादी प्रजातन्त्रका पक्षधरहरूले बोलिभारियाली सरकारविरुद्ध उपद्रव गरिरहेको बताउनुभयो ।
साम्राज्यवादी प्रचारयन्त्रले भेनेजुयलाको माडुरो सरकारविरुद्ध साम्राज्यवादपक्षधरले गरेको उपद्रवलाई प्रजातान्त्रिक आन्दोलन र माडुरो लाई तानाशाही भएको गलत प्रचार गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष नीरज लवजूले फिडेल क्यास्ट्रोका योगदानबारे चर्चा गर्दै भौगोलिक र जनसांख्यिक रुपमा सानो देश भए पनि सही सिद्धान्त र दृढ नेतृत्व भएको क्रान्ति सम्भव भएको भन्ने उदाहरण क्युवाली क्रान्ति भएको बताउनुभयो ।
आफ्नै खुट्टामा उभिएको समाजवादमात्र दिगो हुने भन्दै उहाँले फिडेल क्यास्ट्रोमा आज पनि संसारभरका साम्राज्यवादविरोधी युवाका प्रेरणा भएको बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका रवीन्द्र फोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *