भर्खरै :

प्रम पुत्रलाई पोस्ने कस्ता शासक र मन्त्रीहरू !

नेकाको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धन सरकारका नेता र मन्त्रीहरू आफ्ना परिवार, बिचौलिया, माफियाबाट मुक्त भएका छैनन् । त्यही कारण ठूला दलका नेता र मन्त्रीहरू सरकारको नेतृत्व गर्न र मन्त्री हुन तँछाडमछाड गर्छन् । विदेशी शक्तिराष्ट्र र विदेशी शासकलाई खुसी पार्न आफ्नो देशको स्वाधीनता र सार्वभौम सत्ताको ख्याल नराख्ने सत्तासीन र ठूला दलका नेताहरू कमिसन खानमात्र पल्किएनन् आफ्नै परिवारको कम्पनीलाई भारी छुट दिएर अकुत सम्पत्ति कुम्ल्याउने काम गर्न पनि पछि परेनन् । यसैबिच असार २५ गतेको राजधानी दैनिकमा ‘विवादित अर्थमन्त्रीको अर्काे हर्कतः प्रधानमन्त्री पुत्रको कम्पनीलाई सेनिटरी प्याड आयातमा भारी छुट’ शीर्षकको समाचार छापियो । समाचारमा प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको कम्पनीलाई करमा भारी छुट दिइएको प्रसङ्ग उल्लेख छ । समाचारमा देउवाका पुत्र जयवीरको ‘ब्लु प्रिन्ट टेड्रिङ प्रालि’ कम्पनी रहेछ । सेनिटरी प्याड कारोबार गर्दै आएको सो कम्पनीललाई विदेशबाट आयातीत सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिएको हो ।
महँगी बढाएर जनताको ढाड सेक्ने, जनतासँग बढी कर उठाउने तर सरकारका आसेपासे, नातेदारमात्र होइन प्रधानमन्त्रीका छोराको कम्पनीलाई पोस्नको लागि भारी कर छुट दिने अर्थमन्त्री, सरकारको नेतृत्व गर्ने प्रम देउवा र सरकारका अन्य भाग्यदारहरू माओवादी केन्द्रका पुष्पकमल दाहाल, एकीकृत समाजवादीका माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्षहरू जिम्मेवार छन् । सरकारको नेतृत्व गर्नु र मन्त्री हुनु के आ–आफ्ना सन्तान, नातेदारलाई पोस्न नै हो ? पटक –पटक प्रम भइसकेका देउवाको कर्तव्य आफ्नो छोराको कम्पनीलाई भारी कर छुट दिएर अकुत सम्पत्ति कुम्ल्याउन दिनु हो ? आफ्नो छोरालाई कर छुट नदिइकन देश चलाउने प्रम देउवाको परिवार चल्दैन ?
सेनिटरी प्याड गएको वर्षमै विद्यालय–विद्यालयमा पु¥याउने सरकारी तयारी थियो । तर, अहिलेसम्म स्यानिटरी प्याड सबै विद्यालयमा पु¥याउन सकेको छैन । सरकारको कामको शैली चिप्लेकीराको गतिमा पनि अघि बढिरहेको छैन । स्यानिटरी प्याड सबै विद्यालयमा पु¥याउन नसक्नुको कारण के ? कसको लापरबाहीले गर्दा विद्यालयमा पु¥याउन सकिएन ? भन्ने प्रश्न विद्यालयका शिक्षक, अभिभावक र स्वयं विद्यार्थीहरूले गरिरहेका छन् । पूर्वअर्थमन्त्री शर्माले प्रमका पुत्र जयवीरको कम्पनीलाई गरिएको भारी कर छुटले नेपाली बजारमा विदेशी प्याड सस्तो हुने र स्वदेशी उद्योग धरासयी बनाउने काम त सरकारले गरिरहेको छैन भनी विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
पुँजीवादी बन्दोबस्तका सरकारहरू देश र जनताप्रति जिम्मेवार हुँदैनन्, बहुमत जनताको सेवा गर्दैनन् भन्ने कुरा एकपछि अर्को घटनाक्रमले पुष्टि गरिरहेको छ । यही हो प्रजातान्त्रिक शासन ! विधिको शासन ¤ एमालेको सरकार आए पनि कमिसनमा भुल्ने, नेकाको शासन आए पनि कमिसनकै चक्करमा भुल्ने ¤ जति जोगी आए पनि कानै चिरेका भनेको यही हो ? प्रम पुत्रलाई पोस्ने कस्ता ‘कम्युनिस्ट’ पार्टीका अध्यक्ष र मन्त्रीहरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *