भर्खरै :

नीति अनुसन्धान विधेयकबारे समितिमा छलफल

काठमाडौँ, ३० असार । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथि सैद्धान्तिक छलफल भयो ।
माओवादीका सांसदहरूले नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी जिम्मेवारी राष्ट्रिय योजना आयोगको कार्यक्षेत्रमा राख्नुपर्ने संशोधन राखेका थिए ।
एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा तयार गरेबापत कानुनी मन्त्री पाएका गोविन्द शर्मा कोइरालाले पनि नीति अनुसन्धान प्रतिष्ठानको औचित्यमाथि प्रश्न उठाएपछि समितिको बैठक स्थगित गरियो । मन्त्री कोइरालाको नियुक्ति अगाडि नै यो विधेयक संसद्मा दर्ता भइसकेको थियो ।
प्रतिष्ठानको नेतृत्व गरिरहेका विष्णुराज उप्रेतीले बैठकमा आफ्ना भनाइ राख्न पाउनु भएन । उप्रेतीलाई लाग्यो– “अब यो विधेयक पारित नगर्नेतर्फ गयो ।”
साउन १ गतेको समितिको बैठकमा विधेयकबारे छलफल गर्ने आश्वासन उप्रेतीलाई दिइएको छ ।
नागरिकता विधेयकबारे सैद्धान्तिक छलफल चालू
प्रतिनिधिसभाको असार ३० गतेको बैठकमा नागरिकता विधेयक पहिलो संशोधनबारे छलफल भयो । राज्य व्यवस्था तथा सुशासन समितिको यसअघि विधेयकको प्रतिवेदनमा नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नेपाली नागरिकता दिन सकिने उल्लेख थियो । सरकारले यो प्रतिवेदनलाई फिर्ता गरी नेपालीसँग विवाह गरेका विदेशी महिलालाई तत्कालै नेपालको अङ्गीकृत नागरिकता दिने उल्लेख ग¥यो । नेपालको सार्वभौमिकतामाथि नै आँच पुग्ने यस्तो विधेयकमा नेका, एमाले, माओवादी, एकीकृत समाजवादीका नेताहरूको सहमति भएको चर्चा छ ।
शासक नेताहरूले भारतीय विस्तारवाद र एकाधिकार पुँजीको दबाबमा यो विधेयकलाई समर्थन गरेकोमा कतिपय सांसदहरूले आपत्ति जनाएका थिए । सत्तापक्ष यो विधेयक समितिमा नपाई द्रुतगतिबाट पारित गर्ने तयारीमा छ । निर्वाचन घोषणाअघि यो विधेयक पारित गरी देउवा सरकारले सङ्घ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने र मत बटुल्ने तयारी गरेको समाचार छ ।
उपसभामुखको निर्वाचनको औचित्यमाथि प्रश्न
असार ३१ गते हुने प्रतिनिधिसभाको बैठकमा उपसभामुखको चुनाव हुँदै छ । नेकाबाट सांसद पुष्पा भुसाल र एमालेबाट सांसद विद्या भट्टराई उपसभामुखको उम्मेदवारीमा छन् । सत्तापक्षको बहुमत भएकोले सांसद पुष्पाको जीत निश्चित छ । तर, संसद्को कार्यकालको ४ महिनाअघि उपसभामुख निर्वाचन गर्नुको कुनै औचित्य नरहेको नेपाली जनतामा चर्चा छ । राष्ट्रियसभाको उपाध्यक्षको पनि छिट्टै चुनाव गरिने समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *