भर्खरै :

अनाथ बालबालिकालाई स्टेसनरी सामग्री वितरण

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर क्षेत्रमा अध्ययतरत अनाथ बालिबालिकालाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । भक्तपुर नपाको आयोजनामा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१ जना बालबालिकाहरूलाई स्कूल ब्यागसहित स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले आर्थिक रूपले पिछडिएका विद्यार्थीहरूलाई शिक्षा हासिल गर्नबाट वञ्चित हुन नदिन शैक्षिक ऋण तथा छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
विद्यार्थीहरू नैतिकवान हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरू आफ्नो लक्ष्य प्राप्त गर्न प्रतिबद्ध भएर अध्ययनमा लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थीहरूको साथ र सङ्गत राम्रो भए उनीहरूको भविष्य पनि राम्रो हुने बताउँदै शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई गलत काम गर्नबाट समयमै सचेत पार्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले आर्थिक रूपले कमजोर बालबालिकाहरूलाई राम्रो शिक्षा प्रदान गर्न सके उनीहरू पनि अरू विद्यार्थीसरह व्यक्तित्व विकासमा अगाडि बढ्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले विद्यार्थी जीवनदेखि राम्रोसँग मेहनत गरी अध्ययन गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो ।
कार्यक्रम कार्यपालिका सदस्य रोशनमैया सुवालको सभापतित्वमा भएको थियो भने कार्यपालिका सदस्य छोरीमैंया सुजखू र वडा नं. ८ का वडा सदस्य सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।
स्टेशनरी सामग्री वितरण कार्यक्रममा समाजसुधार, बालविकास इ. स्कूल, ब्रम्हचारिणी, बासु मावि, भीम आदर्श, बागीश्वरी, वाइजल्याण्ड र मेधा माविमा अध्ययनरत ३१ जना अनाथ बालबालिकाहरूलाई पेन, साइनपेन, सिसाकलम, बक्स, कलर बक्स, पेन्सिल कलर, स्केल, कम्पास, ड्रइङ कपी, प्रोट्याक्टर, कापी, गम, कैची, सेलो टेप, एक्ज्याम बोर्ड, स्टीक फाइल र स्कुल ब्याग वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *