भर्खरै :

भानुभक्त ः नेपाली साहित्यको प्रतिनिधित्व गर्ने कवि
असार २९ गते गुरु पूजासँगै भानुभक्त आचार्यको जयन्ती पनि मनाइयो । अक्सर यो जयन्ती विद्यालयमा मनाइएको पाइयो । गुरु र भानुभक्त आचार्यको जीवन परिचय, नाचगान र साहित्य वाचन गरी मनाइएको थियो । भानुभक्त आचार्यको जन्म जयन्ती मनाइरहँदा उनको विषयमा फरक–फरक मत व्यक्त भएको पाइन्छ । नेपाली कविताका प्राथमिककालीन पूर्वाद्र्धका वीर धाराका प्रवर्तक कवि सुवानन्द दास भएकोले भानुभक्त आचार्य कसरी आदिकवि हुन्छ भन्ने एकथरी साहित्यकारहरूको मत छ । नेपाली साहित्यको प्रमाणको आधारमा पहिलो कवि सुवानन्द हुँदाहुँदै भानुभक्त पहिलो कवि हुनसक्दैन भन्ने उनीहरूको तर्क हो ।
नेपाली साहित्याकाशमा भानुभक्तलाई चिनाउने काम युवाकवि मोतीराम भट्टले गरेका थिए । मोतीराम भट्टले १९४८ मा लेखेको ‘भानुभक्तको जीवन चरित्र’ कृतिमा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पहिले धेरै भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् भन्ने भाव पाइन्छ । त्यस्तै आशुकवि शम्भुप्रसाद ढुङ्गेलले लेखेको भानुभक्त आचार्यसम्बन्धी कृतिमा ‘आदि हुन् कवि भानुभक्त दूसरी छैनन् कुनै यो घरी, पैलेका कविताहरू पनि कुनै देखिन्न इन्का सरी’ पद्यांश उल्लेख भएको देखिन्छ । कवि आचार्यलाई पुराना साहित्यकारहरू पद्य कवि, जनप्रतिनिधि कवि, रामभक्ति धाराका कवि, अनुवाद गर्ने कवि नेपाली कवि, नेपाली भाषाका कवि, धार्मिक उपदेश दिने कवि आदिको रूपमा चिनाउँछन् ।
कवि आचार्यले ‘वधूशिक्षा’, ‘भक्तमाला’, ‘प्रश्नोत्तरी’ र ‘रामगीता’ कृतिलगायत अन्य धेरै फूटकर कविता रचेका थिए । ‘रामगीता’ उनको अन्तिम कृति हो भने उनको एउटैमात्र मौलिक कृति ‘भक्तमाला’ हो । अन्य कृतिहरू संस्कृतबाट नेपालीमा अनुवाद गरिएको थियो । ‘वधूशिक्षा’ कृतिमा ‘हाँस्नु हुन्न कदापि नारीहरूले वेश्या हुने हाँस्तछन्’ भन्ने लेखिएको छ । नारी हाँस्नै नहुने र हाँसेमा वेश्या हुने भनाइको कारण उनको व्यापक विरोध भएको हो । यस भनाइबारे पनि दुई थरीको मत छ । त्यस्तै ‘भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो’ पद्यांशबारे साहित्यकारहरूको भनाइ फरक–फरक पाइन्छ । उनको मृत्युको सालबारे पनि फरक मत आएको छ । कवि आचार्यबारे यसरी फरक–फरक मत आए पनि अधिकांश साहित्यकारहरू उनलाई नेपाली साहित्यकै प्रतिनिधित्व गर्ने कविको रूपमा चिन्छन् । उनी रामभक्ति धाराका दोस्रो कवि हुन्, नेपाली प्राथमिककालीन भक्तिधाराका कवि हुन् । नेपाली भाषाले काव्य भाषाको पहिलो ध्वनि भानुभक्तबाट पाएको स्मरण गर्नु समीचीन नै हुनेछ ।
–रोजन गोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *