भर्खरै :

कहिले चौडा पारिने भक्तपुर – चाँगु सडक ?

भक्तपुर नगरको देकोचाबाट चाँगुनारायण मन्दिरसम्म पुग्ने सडक एउटा नगर र गाउँ जोड्ने सडकमा अब सीमित छैन । हाल चाँगुनारायण नगरपालिकाको वडा नं. ३, ४ र ५ मा बसोबासरत हजारौँ जनता आवतजावत गर्ने सडक बनिसकेको छ भने अर्कोतिर विश्वविख्यात ऐतिहासिक मन्दिर चाँगुनारायण पुग्ने एकमात्र परिचित सडक हो । चाँगुनारायण मन्दिर अवलोकन गर्न र नारायणको दर्शनका लागि दैनिक सयौँ विदेशी तथा स्वदेशी पर्यटकहरू आउने गर्छन् । तर, सडक साँघुरो भएर दुइटा बस पनि पास नहुँदा यात्रुहरूलाई ठूलो हैरानी हुनुका साथै देशकै इज्जतमा धक्का पुगिरहेको छ । भक्तपुर नगरभित्र पर्ने देकोचादेखि कासन खोलासम्मको भागमा घर निर्माण गरेर पनि घरधनीले मापदण्डमा परेको जग्गा अनेक किसिमले कब्जा गरिराखेका छन् । इँटाको पर्खाल लगाएर वा माटो ढुङ्गा थुपारेर सडक साँघुरो पारिराखेका छन् । सडक मापदण्डमात्रै खुला भए पनि सवारी पास गर्नलाई सजिलो हुने थियो । त्यसो त सडक नै दुई लेनको भनिए पनि यथार्थमा एक लेनको मात्र छ । चाँगुनारायण नगरपालिकामा पर्ने भागमा स्थिति खासै भिन्न छैन ।
सडक साँघुरो भएकै कारण दिनहुँ साना–ठूला दुर्घटना भइरहेका छन् । ठूला गाडीहरू पास नहुने र कहिलेकाहीँ जुध्ने गरेका छन् । एकातिरबाट ठूलो बस वा टिपर आउँदा विपरीत दिशाबाट आएका दुईपाङ्ग्रेहरू सडकको किनारामै पुग्ने वा सडकबाट खस्ने अवस्था छ । वर्षा र भारी सवारीले ठाउँ – ठाउँमा सडक भत्केको देखिन्छ । हिजो आज दर्जनौँ विद्यालयका विद्यार्थी बोक्ने बसहरू आवतजावत भइरहेकोले पनि जोखिम अझै बढेको छ । इँटा भट्टाबाट निस्कने ट्रकहरूले फाल्ने धुलो र हिलोको दुःख त छँदै छ । दुईतीन वर्ष अगाडि नै उक्त सडक चौडा पार्नका लागि बजेट परेको सुनिएको थियो । डिभिजन सडक कार्यालयमा गएको प्रमण्डललाई सडक छिट्टै चौडा हुने आश्वासन दिएर फर्काइएको थियो । तर, अवस्था जस्ताको तस्तै छ । चाँगुवासी जनताले प्रश्न उठाइरहेका छन्, भक्तपुर–चाँगु सडक कहिले चौडा पारिने हो ? के सडक बनाउन लगाउनका लागि पनि सडक जाम गरेरै वा सिंहदरबार घेर्ने आन्दोलन नै गर्नुपर्ने हो ?
भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *