भर्खरै :

श्रीलङ्काको द्वन्द्व र प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्नु आवश्यकः संयुक्त राष्ट्रसङ्घ प्रमुख

न्यूयोर्क अमेरिका, १४ जुलाई (एएनआई) । श्रीलङ्कामा जारी अशान्तिकाबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रदर्शनकारीहरूको द्वन्द्व र गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । ट्वीट गर्दै संयुक्त राष्ट्रसङ्घका प्रमुखले श्रीलङ्काका सबै राजनीतिक दलका नेताहरूलाई शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले जारी सङ्क्रमणकालीन अवस्थामा आवश्यक सम्झौता गर्न आग्रह गरेका छन् । “म श्रीलङ्काको अवस्थालाई नजिकबाट नियालिरहेको छु । घटनाका मूल कारणहरू महत्वपूर्ण छन्,” उनले लेखेका छन् ।
बुधबार ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू श्रीलङ्काका प्रधानमन्त्रीको निवासबाहिर जम्मा भएर उनको कार्यालय कब्जा गरेका थिए । कोलम्बोको सडकमा प्रदर्शनकारीहरूलाई हटाउन सुरक्षाकर्मीहरूले अश्रुग्याससमेत प्रहार गरेका थिए ।
जारी राजनीतिक–आर्थिक अस्थिरताका बीच माल्दिभ्स भागेका विवादित राष्ट्रपति गोटाबाया राजापाक्षेले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेपछि घटनाक्रम थप नयाँ ढङ्गले अगाडि बढेको हो । श्रीलङ्काको रक्षा मन्त्रालयको पूर्ण स्वीकृतिपछि श्रीमती र दुई अङ्गरक्षकसहित बुधबार माल्दिभ्स भागेका गोटाबाया राजापाक्षे सिङ्गापुर जाने अपेक्षा गरिएको छ ।
राजापाक्षे र उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू आज राति मालेबाट सिङ्गापुर जाने अपेक्षा गरिएको थियो । तर, सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
यसैबीच, उनका लागि निजी विमानको व्यवस्था गर्न लागिएको पनि सञ्चार माध्यमले जनाएका छन् ।
यस घटनालाई लिएर, बार एसोसिएसन अफ श्रीलङ्काले प्रदर्शनकारीहरूलाई सरकारी कार्यालयहरू कब्जा गर्ने र क्षति पु¥याउने कार्यलाई अनुपयुक्त भन्दै तत्काल प्रधानमन्त्रीको कार्यालय सम्बन्धित अधिकारीहरूलाई फिर्ता गर्न आग्रह गरेको छ ।
श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा
श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेबित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँड्डुल गर्न पाउने छैनन् ।
बुधबार पनि यहाँका नागरिकहरूले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए ।
गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *