भर्खरै :

भानुभक्तका घतलाग्दा केही प्रसङ्गहरू

विस १८७१ सालमा तनहुँ जिल्लाको चुँदी–रम्घामा जन्मेर, वि.सं. १९२५ सम्म बाँच्ने कवि भानुभक्त आचार्यका जीवन कालमा घटित रमाइला कुराहरू आज पनि त्यत्तिकै सान्दर्भिक र मननीय छन् । आफ्नो जीवनकालका मै हुँ भन्ने सभ्रान्त, धनीमानी गिरिधारी रानाभाटसँग भानुभक्तको वादविवाद, भनाभन, कचिङ्गल–झगडा, मनमुटाव र लुछाचुँडी भइरहन्थ्यो ।
भानुभक्तको मनमा कुरा राख्नै नसक्ने विशेषता थियो । गिरिधारीसँगको मुद्दामामिलामा पनि कवितात्मक मीठो शैलीमा यस्तो रचना तत्काल रचेको पाइन्छ । जस्तै :–
एसले गर्छ कुरा पत्यार नहुने सा¥है नै लुच्चो छ यो ।
ख्वामित्ले बुझि बक्सियोस् सब कुरा मेरो त बिन्ती छ यो ।।
कुलो खेतमा पानी लगाउने सिलसिलामा मुद्दा मामिला भई तारिखमा धाउनु पर्दा, हकदाबीबारे स्पष्ट पार्दै न्याय निसाफ पाउन अड्डा अदालतसमक्ष मनको बह यसरी पोखेको देखिन्छ ।
‘न मृत्यु टन्र्या हो यसरी झगडामा अघिसरी
नकोटिनुको मालिक हुनु छ घरमा दौलथ भरी ।
विहक्मा दिन जान्छन् तब मन बुझउँ म कसरी ?
कृपा राखी ख्वामित् अब छिनिदिनोस् हुन्छ जसरी’ ।
र ‘सावितै ठहरेन पो यदि भन्या यस्मा आइन्मा जति,
तोक्याको छ गुना हजार तिरुँला राख्दैन एक दाम् रति ।’
भानुभक्त छड्क्यैलो र व्यङ्ग्य वाण पाराले घटनाको सटिक र ठेट प्रस्तुति गर्थे, जुन उनीभन्दा अघि, पछि र समकालीन कविहरूमा अभाव थियो । बनको शिकारीको धनुषकोणले प्रहार गर्दा भन्दा पनि उनका रचना तिखो, रोचक, घोचक र वज्रझँै अद्भूत हुन्थ्यो । रावणकी प्यारी बहिनी सूर्पणखालाई यौन इच्छाले प्रलय नै सतायो । उनले तीव्र प्यास साम्य पार्न रामछेउ आएर अनुनय विनय गरिन्, रामको प्रत्युत्तरमा भानुभक्तले यसरी लेखेका छन्—
‘यस्ता वचन सुनि सिताकन हाँसि हेरि
उत्तर दिया प्रभुजिले घरमै छ मेरी ।
सौता बुझिकन नभज् तँ पति मलाई,
भाइ छ खाली बरु भज् पति भाइलाई ।।
पुनः भाइ लक्ष्मणले पनि यसरी जवाफ दिए—
‘दास हुँ म ता मसित कुन सुख मिल्छ यहाँ ?’
रामका दाजुभाइको अपमानजनक व्यवहारपछि यौन तृप्तिले औडाहास्वरूप सीतातर्फ प्रतिशोध लिन सूर्यजखा झम्टन पुगी र लक्ष्मणले नाक, कान काटेर वेरूप (बुच्चे) पारेकी नकटी सूर्पणखा दाजु रावणसमक्ष देखिँदा, रिसले चूर भएको रावणको हाउ–भाउ कटाक्ष र व्यक्त कुरालाई खरो भानुभक्तले ठेट मौलिक प्रयुक्त भाषाको रूपमा यसरी उतारेका छन्–
‘जसले त नाक्सित यी कानकन आज काट्यो,
हे बैनी जानसुन त्यो अब मर्न आँट्यो ।’
भनिन्छ, यही घटनापछि दुई पक्षबीचको टड्कारो रूपमा, आपसी द्वेषको बिजारोपण भयो र उग्ररूप लियो । सीताको अपहरण, लङ्का दहन, दुवै पक्षबीच घमासान युद्धले एक आपसले ठूलो क्षति व्यहोर्नुको साथै घमण्डले चूर, तिनै लोकको पराक्रमी रावणको इहलिला, परस्त्रीप्रतिको आशक्तिले ‘लोभले लाभ लाभले विलाप’ भनेझैँ दुःखद तवरले समाप्त भएको थियो ।
मानो रोपेर मुरी उब्जाउने यो असारे बेला, किसानीको लागि ‘मेला वा जात्रा’ जस्तै हो । त्यतिबेला, वाल्मीकि रामायणको चलन–चल्ति भएको बेला, नेपाली भाषामा लोकप्रिय रामायण रचेर भाषिक, साहित्यिक एवम् सांस्कृतिक एकीकरण गरी ठूलो ‘गुन’ लगाए । लब्ध प्रतिष्ठित सभ्रान्त परिवारमा जन्मी बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा उनले अक्षराम्भ गरेका थिए । उनी पण्डित परिवारको शिक्षा–दीक्षा र लालनपालनमा हुर्केका थिए । उनी तत्कालीन समाजका हुनेखाने, जान्नेबुझ्नेमध्ये कहलिएका घरानियाँ थिए । गोठाला–खेताला र गाउँघरमा आइपर्दा घरेलु मुद्दा मामिला किनारा लगाउने भद्रभलादमी पनि थिए र उनको एकसेएक सम्पन्न नाता कुटुम्ब थिए । भाषा साहित्यको अतुलनीय देनले नै उनको कद अग्लियो ।
त्यसबेला र अहिले पनि गाउँघरमा ऐँचो–पैँचो, अर्म–पर्म चल्छ र ज्याला मजदुरी गरेर हात–मुख जोड्ने प्रचलन अझै छ । जवानी टेकेका भानुभक्तले डुल्दै गर्दा निम्नस्तरको घाँसीको घाँस बेचेर उब्रेको रकमले ‘कुवा खनाउने’ तिर्सनाले उनलाई अमिट छाप प¥यो । निरक्षर र दुःख जिलो गरेर भरपेट गर्ने गाउँलेको अन्तरकुन्तरमा निश्चल, सौम्य, स्निग्ध विचारको प्रादुर्भाव हुन्छ जुन स्फटिक जस्तै स्वच्छ र निःस्वार्थ भावले ओतप्रोत हुन्छ । भानुभक्तले घाँसीको सोचलाई गहनरूपमा लिए जस्तै –
यस घाँसीले कसरी आज दिएछ अर्ती,
धिक्कार हो मकन नराखी कीर्ति ।
घाँसीका सरल शब्दवाणले कवि भानुभक्तमा रामायणको जन्म भयो र उनको उचाइ टाकुरामा पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *