भर्खरै :

भ्रष्टहरूको षड्यन्त्र सफल भएन

वि.सं. २०२१ सालको राष्ट्रिय नीतिअनुरूप नै भक्तपुरमा पनि सहकारी संस्थाको स्थापना भएको थियो । तत्कालीन अवस्थामा नंखेल, झौखेल, चित्तपोललगायतका गाउँ र नगरमा गरी ९ वटा सहकारी संस्था गठन भएका थिए । पछि ती ९ वटा सहकारी गाभिएर ३ वटामा सीमित भयो । भक्तपुरमा २०२३ सालतिर बिकुलाल भैल, श्रीबहादुर प्रजापति, मङ्गललाल गोजा, श्रीबहादुर चगुठी, आशबहादुर बोहजू, मङ्गले भनिने कृष्णभक्त चगुठीलगायतका व्यक्तिहरूको संलग्नतामा नवदुर्गा सहकारी संस्थाको स्थापना भयो । सरकारी आदेशअनुसार नगर विकासले भक्तपुरका वडावडामा किसानहरूसँग ३ माना, ६ माना र ९ माना जिन्सि धान सङ्कलन गर्नेे बचत कोषको कार्यक्रम लागू ग¥यो । तर, त्यसलाई व्यवस्थित एवम् राम्ररी चलाउन नसक्दा त्यस बेलासम्ममा उठेको सम्पूर्ण जिन्सि बचत नवदुर्गा बहुमुखी सहकारी संस्थालाई जिम्मा लगाइयो । त्यसबेला किसानहरूको आर्थिक अवस्था राम्रो थिएन । धेरै ब्याजदरमा साहुसँग ऋण लिनुपथ्र्यो । किसानहरूले आवश्यक मल तथा बिउ किन्न र परेको बेलामा चाडबाड मनाउनसमेत ऋण लिन्थे । त्यसबेला मल तथा कृषि सामग्रीहरू ल्याएर किसानहरूलाई सहयोग गर्ने उद्देश्यले बचत सङ्कलन गरिएको थियो । किसानहरू घरको छाक कटाएर भए पनि बचत गर्ने गर्थे ।
सहकारीअनुसार प्रत्येक ६/६ महिनामा साधारण सभा हुने र प्रत्येक २ वर्षमा एकपटक सञ्चालक समितिको चुनाव हुने प्रावधान थियो । २०२५ साल साउन २ गते सञ्चालक समितिमा रहेका पदाधिकारीहरूले नाममात्रको सूचना दिई किसानहरूलाई सदस्यताको परिचयपत्र नै नदिई चुनाव गर्ने षड्यन्त्र गर्न थाले । बचत गरेकोले बचतकर्ता किसानहरूले सहकारीको स्वतः सदस्यता प्राप्त गर्न पाउँथे र भोट खसाल्न पाउने अधिकार पनि प्राप्त हुन्थ्यो । तर, सबै किसानहरूलाई सदस्यता दिइएन । किसानहरूको चर्को दबाबपछि सहकारीको सदस्यता पाएका थिए । चुनावको दिन किसानहरूको व्यापक उपस्थिति देखेपछि एकातिर चुनाव स्थगित भएको घोषणा ग¥यो भने अर्कोतिर गोप्यरूपमा बिकुलाल भैल मङ्गले चगुठी, विष्णुप्रसाद नेपाली, रामप्रसाद चाँदलगायतले फरक–फरक स्थानमा ५ वटा उपस्थिति काफी (माइन्युट) मा नक्कली चुनाव गरी सोझा किसानहरूलाई झुक्याउने असफल प्रयास गरे ।
अगुवा किसान कार्यकर्ताहरू ज्ञानबहादुर न्याइच्याई, कुलबहादुर कवां, बाबुकाजी बासुकला, गणेशभक्त बाटी आदिले तिनीहरूलाई किसानहरूका माझ उभ्याई ती भ्रष्टहरूको जालसाजी उदाङ्ग्याए । ती भ्रष्टहरूले बचतबाट व्यक्तिगत फाइदाका लागि व्यापार व्यवसाय गरेका थिए । हेटौडा, चितवनलगायतका ठाउँबाट काठ, मकै र तोरीजस्ता वस्तुको व्यापार गरी त्यसको हिसाब बचत कोषमा दाखिला गर्दैनथे । त्यसको नाफा सबै तिनी भित्रभित्रै बाँडेर लिन्थे । बिनातमसुक ऋण दिने र नक्कली तमसुक बनाई बचत हिनामिना गरेर भ्रष्टाचार गर्थे । पछि सहकारीको चुनावमा किसानहरूका वास्तविक प्रतिनिधिहरू निर्वाचित भएमा तिनीहरूको कर्तुत किसानहरूमाझ पुग्ने डरले तिनीहरूले गुपचुपरूपमा चुनाव गराउन चाहन्थे । तर, तिनीहरूको प्रयास सफल भएन ।
प्रस्तुति र सम्पादन : सुरेश बखुन्छे
स्रोत : भक्तपुरको किसान आन्दोलनको अर्थ–राजनीतिक विश्लेषण

Leave a Reply

Your email address will not be published. Required fields are marked *