हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ३ साउन । गाईजात्रा परिचालन समितिको आयोजनामा मङ्गलबार लेखक तथा कलाकारहरूको भेला भयो ।
उक्त भेलामा नेमकिपाका सचिव प्रेम सुवालले माक्र्सवादी साहित्य प्रचार गर्नु जरुरी छ, राज्यको स्वामित्वकोे उत्पादन र वितरण नभएसम्म सबै जनताको दुःख पीडा अन्त्य हुनेछैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरूको समाजवाद मुठीभरका व्यक्तिलाई पोस्ने पुँजीवादमा टुङ्गिएको छ । एमाले भाइ काङ्ग्रेस र माओवादी भारतको ‘ट्रोजन हर्स’ साबित भइरहेको छ ।”
निर्वाचनमा सिद्धान्तहीन गठबन्धन गरेका, सामान एवम् नगद बाँडेका, भोज खुवाएका शासक दलहरूविरुद्ध जनतालाई सचेत गराउने साहित्य जरुरी भएको उल्लेख गर्दै उहाँले नेपाली भूमिमाथि भारतीय हस्तक्षेप र नेपालको जलस्रोतमाथि भारतीय सेना तैनाथीको विरोधमा कलम चलाउनुपर्दछ भन्नुभयो ।
शासक दलका नेताहरूले भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गर्ने प्रवृत्तिको खण्डन गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले युक्रेनमा रुसविरुद्ध अमेरिकी साम्राज्यवादको युद्ध र अमेरिकी साम्राज्यवादविरुद्ध संसारका न्यायप्रेमी जनताको सङ्घर्षलाई समर्थन गरेर साहित्य प्रकाशित गर्नुपर्दछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “महँगी, भ्रष्टाचार, बेरुजु, वैदेशिक ऋण बढ्दै आएको विषयमा जनतालाई सुसूचित गराई यसको विरुद्ध सङ्घर्षको आह्वान गरेको साहित्य आजको आवश्यकता हो ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले साहित्यलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गाईजात्रालाई राजनीतिक, सामाजिक र नागरिक भावना जगाउने महोत्सवको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले यहाँका नाचगानहरूलाई जीवन्तता दिनुपर्ने बताउनुभयो ।
लेखक र साहित्यकारहरूले पनि कला र संस्कृतिको संरक्षणमा टेवा पु¥याउनुपर्ने विचार व्यक्त गर्दै उहाँले पठन संस्कृतिको विकास गर्न नगरस्तरीय र वडास्तरीय पुस्तकालय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले कवि, कलाकार र लेखकहरूले समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै गाईजात्रा महोत्सव जनतालाई राजनीतिकरूपमा सचेत पार्ने राम्रो अवसर हो भन्नुभयो ।
शासक दलका नेताहरूको अकर्मण्यताले देशले दुर्गति भोगिरहेको उल्लेख गर्दै उहाँले लेखनमार्फत भारतीय एकाधिकार पुँजीको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेशसभा भ्रष्टाचारको अखडा बनिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले श्रीलङ्कामा सङ्कट निम्तिनुमा संयुक्त राज्य अमेरिका र भारतको हात रहेको बताउनुभयो ।
जनकवि चन्द्रबहादुर उकलकले गाईजात्राले भक्तपुरको नाचगान र संस्कृति जोगाउन सहयोग पुगेको छ भन्नुभयो ।
गीत, नाटक र नृत्यमार्फत जनतामा राजनीतिक र सामाजिक चेतना जगाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भ्रष्टाचारविरुद्ध सधैँ आवाज उठाइरहनुपर्छ भन्नुभयो ।
लेखक र कलाकारहरूले भाषा र साहित्यको विकासमा सहयोग गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले राजनीति पैसा कमाउने थलो होइन, देश र जनताको सेवा गर्ने हो भन्नुभयो ।
गाईजात्रा परिचालन समितिका सदस्य उपेन्द्र सुवालले गाईजात्रालाई जनचेतना जगाउने माध्यम बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कृष्णगोविन्द लाखाजूको सभापतित्वमा भएको सो भेलामा आयोजक समितिका सदस्य राम प्रजापतिले भेलाको औचित्यताबारे प्रकाश पार्नुभयो ।
Leave a Reply