जन्म ठूलो कि कर्म ? जन्म नभई कर्म गर्न सकिन्न तर कर्मले नै जन्मलाई सार्थक बनाउँछ । कर्मको परिधि सापेक्ष हुन्छ तर कर्म त कर्म नै हो । सानो परिधिमा गरिएको सेवा, त्याग र समर्पणको कथा कमसेकम त्यो परिधिको निम्ति ठुलो हुन्छ । आफू र आफ्नो परिवारभन्दा बाहिर गएर समाज र देशको निम्ति काम गर्ने जोकोहीको जीवन स्मरणीय हुन्छ । कल्पना थापाको ४३ औँ जन्म दिनको अवसरमा लेख्न बस्दा दिमागमा यही कुरा तरङ्गित भएर आयो ।
२०७२ वैशाख १२ गते दिनको ११ः५६ बजे गएको भूकम्पमा आफ्नै घर भत्किएर कल्पनाको भौतिक शरीर नकिचिएको भए मानिसहरू भन्थे होलान्, कल्पना पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा भूकम्पमा घाइते भएका सयौँको उपचारमा खटिइन्, घरघरमा पुगेर औषधि उपचार गरिन् । उनी हुँदी हुन् त २०७९ साउन ४ गते फूलका कोपिलाजस्ता छोराछोरीसँगै आफ्नो ४३ औँ जन्मउत्सव मनाउँथिन् । आमा चन्द्रादेवी थापा र बुबा प्रेमबहादुर थापाको कोखबाट दैलेख जिल्लाको पूर्वी कन्दरा जगन्नाथ गाविस वडा नम्बर ७ मनघरमा २०३६ साउन ४ गते अपरान्ह ४ बजे जन्मिएकी कल्पनाले जीवनको उत्तराद्र्धमा भक्तपुर जिल्लालाई आफ्नो मुख्य कर्मथलो बनाएकी थिइन् ।
कल्पनासँग चिनाजानी भक्तपुरमै भएको थियो, २०५३ सालमा भएको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आठौँ सम्मेलनको क्रममा । कल्पनाको राजनीतिक जीवनको मुख्य जग विद्यार्थी सङ्गठन थियोे । उनले दैलेख जिल्लाको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका प्रारम्भिक सङ्गठनदेखि केन्द्रीय समितिको सदस्य रही जिम्मेवारी सम्हालेकी थिइन् । हामीले केन्द्रीय समितिमा सँगै काम ग¥यौँ । २०५२ सालमा अवसरवादीहरूले नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिलाई विघटन गराउने षड्यन्त्र गरे । उनी आत्मसमर्पणवादीको तत्कालीन जिल्ला नेतृत्वविरुद्ध उभिएर पार्टीको पुनःगठन गर्न खटिन् । उनी विद्यार्थी जिल्ला समितिको सदस्य भएर गाउँगाउँको सङ्गठन फेरि बनाउने अभियानमा लागिन् । कल्पनाले नेक्राविसङ्घ केन्द्रीय समितिको जनप्रकाशन गृहले यो पङ्क्तिकारको सम्पादनमा प्रकाशन गरेको ‘नौलो आयाम’ मासिकको वितरकको जिम्मेवारी सम्हालिन् ।
नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा भूकम्पमा घाइते भएका सयौँको उपचारमा खटिइन्, घरघरमा पुगेर औषधि उपचार गरिन् । उनी हुँदी हुन् त २०७९ साउन ४ गते फूलका कोपिलाजस्ता छोराछोरीसँगै आफ्नो ४३ औँ जन्मउत्सव मनाउँथिन् । आमा चन्द्रादेवी थापा र बुबा प्रेमबहादुर थापाको कोखबाट दैलेख जिल्लाको पूर्वी कन्दरा जगन्नाथ गाविस वडा नम्बर ७ मनघरमा २०३६ साउन ४ गते अपरान्ह ४ बजे जन्मिएकी कल्पनाले जीवनको उत्तराद्र्धमा भक्तपुर जिल्लालाई आफ्नो मुख्य कर्मथलो बनाएकी थिइन् ।
०५४ सालको नेक्राविसङ्घको पाँचौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित भइन्, ०५७ सालको छैटौं राष्ट्रिय सम्मेलनबाट विद्यार्थी राजनीतिबाट बिदा भइन् । तैपनि, विद्यार्थी आन्दोलनलाई छोडिनन् । विद्यार्थी राजनीतिबाट अलग हुन सकिनन् । उनको विद्यार्थी आन्दोलनप्रतिको लगाव, विश्वास र आस्था जीवनपर्यन्त रह्यो । उनी तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारबाट भएको लाउडा काण्डविरुद्धको आन्दोलन, महाकाली सन्धिविरोधी आन्दोलन, राजा ज्ञानेन्द्रले चालेको प्रतिगामी कदमसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको विद्यार्थी आन्दोलन, त्यसपछि सुरु प्रतिगमनविरोधी आन्दोलनका विभिन्न गतिविधिमा सक्रिय थिइन् ।
हामीबिच बेलाबेला विद्यालय जीवनका सुनौला र रमाइला दिनबारे कुराकानी हुन्थ्यो । उनी खेलकुद र सांस्कृतिक गतिविधिमा पनि क्रियाशील बताउँथिन् । घरमा सुरक्षित कल्पनाका प्रमाणपत्रहरू देख्दा उनले आफ्नो विशेषताअनुसारको योग्यता विकासमा ध्यान दिइनन् वा हामीले त्यता ख्याल गर्न सकेनौं भन्ने अनुभव हुन्छ । सांस्कृतिक संस्थानले २०५४ चैत ७ गतेदेखि ११ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरेको ‘सुदूर पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चलव्यापी क्षेत्रीय नाटक प्रतियोगिता’ मा प्रदर्शित नाटकमा उत्कृष्ट अभिनयको पुरस्कार पाएकी थिइन् ।

कल्पना थापा
तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले २०५७ सालमा आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवमा प्रदर्शित नाटकमा अभिनय गरी प्रशंसा पाइन् । प्रज्ञाभवन काठमाडौँमा प्रदर्शित नाटकको साक्षी थिएँ, एक दर्शकको रूपमा । यसअघि दैलेखमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रममा प्रदर्शित नाटकहरू ‘मुकुन्द–इन्दिरा’, ‘कोही किन बरबाद होस्’ लगायतका नाटकमा अभिनय गरेको खुसीसाथ सुनाउँथिन् । कल्पना अध्ययन र पेशाको क्रममा ०५४ सालबाट भक्तपुर बस्न थालिन् । भक्तपुरको आस्था सांस्कृतिक परिवारसँग सम्बन्ध जोडियो उनको । आस्था सांस्कृतिक साँझमा प्रदर्शन भएका नाटकहरूमा अभिनय कला सिकाउँथिन् ।
कल्पनाले पाएका प्रमाणपत्रहरू साक्षी छन्, कल्पना खेलकुदमा एथलेटिक्स र भलिबलका जिल्लास्तरीय प्रतियोगितामा पुरस्कृत भएकी थिइन् । उनले २०५० सालमा आयोजित दैलेख जिल्ला अन्तरमावि वीरेन्द्र सिल्ड प्रतियोगिताअन्तर्गत भलिबलमा तृतीय स्थान हासिल गरिन् भने छात्रा रिले दौड प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरिन् । सोही प्रतियोेगिताका सटपुट प्रतियोगितामा तृतीय स्थान हासिल गरिन् । प्रजातन्त्र दिवसको अवसरमा ०५० सालमा आयोजित जिल्लास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गरिन् । नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा २०५० सालमा आयोजना भएको चौथो राष्ट्रिय लोकगीत प्रतियोगितामा कल्पनाले द्वितीय स्थान हासिल गरिन् ।
प्राथमिक र निम्न माध्यमिक तहको पढाइमा कल्पनाले राम्रो गरेकी थिइन् तर माध्यमिक तहमा पढाइलाई कम प्राथमिकता दिइन् । दैलेख जिल्लाको नेमकिपाको तत्कालीन राजनीतिक नेतृत्वमा बस्ने केहीले विद्यार्थी कार्यकर्ताको शैक्षिक स्तर उन्नतिबारे आवश्यक ध्यान नदिएको भनी कल्पना गुनासो गर्थिन् । ती नै नेतृत्व अहिले नेमकिपाबाट पलायन भए पनि । कल्पनाले बुबाको जागिरको सिलसिलामा कहिले कालीकोट कहिले जुम्लाका विद्यालयमा पढ्नुपर्ने स्थिति बन्यो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि नेपालगञ्जमा सामुदायिक चिकित्सा सहायक (सीएमए) अध्ययन गरिन् र भक्तपुर आई जनस्वास्थ्य कार्यालयमा काम गरिन् । उनले करिब डेढ दशक चिकित्सा क्षेत्रमा भक्तपुरमा सेवा गरिन् ।

कल्पनाले केही गीत तथा कविताको रचना गरेकी छिन् । ती साहित्यमध्ये अधिकांश विद्यार्थी जीवनको बेलाका छन् । साहित्यमार्फत उनी सायद आफ्नो भावना उतार्ने प्रयास गर्थिन् । उनका साहित्यमा उनको जीवन आदर्श झल्किएको महसुस हुन्छ । समाज यथास्थिति चाहँदैन, गतिशील हुन्छ, हामी त्यसका संवाहक बनौँ भन्ने आह्वान तिनका कविताका विशेषता हुन् ।
कल्पना निरङ्कुश राजतन्त्रविरुद्धको आन्दोलनमा सरिक थिइन्, राजतन्त्र फालेर पुग्दैन समाजवादी गणतन्त्र चाहिन्छ भन्दै सडकमा नारा लगाउँथिन् । उनले कम्युनिस्ट आन्दोलनमा देखापरेका अवसरवादीहरूविरुद्ध लडिन्, न्याय र समानताको आवाज उठाइन् । उनी कम्युनिस्ट सिद्धान्तमात्र होइन व्यवहार पनि उस्तै भन्ने मान्यता राख्थिन् । उनी विद्यार्थी हकहितको निम्ति भएका आन्दोलनमा उत्रिइन्, उनले मजदुरको पसिनाको कदर गर्न र आवश्यक सेवासुविधाको बन्दोबस्त हुनुपर्ने आवाज उठाइन् । उनी जिम्मेवार थिइन्, इमानदार थिइन्, सहयोगी थिइन्, जुझारु एवम् सङ्घर्षशील थिइन् । उनी बदमासी गर्नेप्रति आक्रोशित हुन्थिन् । उनी कुलतको विरोधी थिइन् । उनी फरासिली थिइन्, हँसिली थिइन् । कसैलाई एकैक्षणमा आफ्नो बनाउन सक्थिन् । उनका यी नै गुण नै प्रिय थिए । उनलाई सम्झिइरहने कारण पनि ।
जनआन्दोलन ०६३ को परिवर्तनपछि ०६३ साल माघ २६ गते हाम्रो विवाह भएको थियो । परिवारको सहमतिमै मात्र विवाह गर्ने हाम्रो सहमति थियो । राजनीतिक आन्दोलनमा हामी सँगै थियौँ, जीवनभर साथै बाँच्ने कसम खायौँ । वैवाहिक जीवनका ८ वर्ष रमाइला थिए । ती दिनमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्न उनको पूर्ण सहयोग रह्यो । शिक्षण पेशा अपनाउँदा होस् वा पत्रकारिता, व्यस्ततामा पनि हाम्रो पारिवारिक जीवन सरल र सहज थियो । हाम्रो अन्तरजातीय विवाह थियो तर कल्पनाले दुवै जातको सांस्कृतिक मूल्य र मान्यतालाई सदा सम्मान गरिन् । उनले नेपालभाषा सिकिन्, नेवार संस्कृतिअनुसार व्यवहार पनि । दुई परिवारलाई सन्तुलनमा राख्न हरसम्भव प्रयास गरिन् । पारिवारिक संरचना नबिग्रियोस् भनी हरक्षण सजग हुन्थिन् ।
कल्पना आफ्नोभन्दा अरूको बढी चिन्ता गर्थिन् । भौतिक सम्पन्नतालाई जीवन लक्ष्य बनाइनन् कदापि । कल्पनाले पैसा धेरै कमाउनु पर्छ भनी कहिल्यै दबाब दिइनन् । छोराछोरीप्रतिको जिम्मेवारी बढी आफैले बहन गरिन् । कहिलेकाहीँ कतै घुम्न पाइएन भनी गुनासो गर्थिन् । उनको आग्रहले पनि एक्लै घुम्न सकिन्नथ्यो । कामको बोझ त छँदै थियो । कहीं जाँदा सपरिवारै जाने प्रस्ताव उनी नै राख्थिन् । कल्पनाले एक असल छोरी, दिदी, बहिनी, साथी, आमा, श्रीमती, बुहारी, भाउजू, जेठानी, देउरानी, नन्द, छिमेकी, आफन्तको भूमिका निर्वाह पनि गरिन् । कल्पनाले जीवनका सबै रङ्गमा रङ्गिएर छोटो तर सार्थक जीवन बाँचिन् । उनको भौतिक शरीर छैन तर सम्झना मेट्न सकिन्न ।
कल्पनाको असामयिक निधनले जीवनको महत्व कति अपरिमेय रहेछ भन्ने बोध गरायो । जीवन आफ्नो निम्तिमात्र रहेनछ, जीवन अरूको निम्ति बढी आवश्यक हुँदोरहेछ । आफू बाँच्नु भन्नु नै अरू कोही बाँच्नु र अरू कोही बाँच्नु भन्नु आफू बाँच्नु रहेछ । कल्पनाको छोटो जीवनले फेरि कुनै पनि बेला सकिने यो जीवनमा असल काम गर्न सदा उत्प्रेरित गरिरहनेछ । युवा तथा विद्यार्थी आन्दोलनमा सत्य बोल्ने, तथ्य राख्ने, निडर कार्यकर्ताको आवश्यकता कति हुन्छ भन्ने कुराको स्मरण गराइरहने छ कल्पना थापाको जीवन सङ्घर्षले ।
तीखा काँडाको बीचमा गुलाफ फुलेको हुन्छ । युगकवि सिद्धिचर श्रेष्ठले भनेका छन्,
‘सङ्कट पर्छ मान्छेलाई
ढुङ्गालाई के पर्छ
असिना पर्दा फुलबारीकै
फूलहरू पहिले झर्छ’
फूल झरेरै फल लाग्ने हो । कल्पनाहरूकै कारण संसार रङ्गिन फूलबारी बनेको छ । कल्पनाको जन्म दिनमा यही शब्द श्रद्धाञ्जली ! अब अरु के भनूँ !
(नेक्राविसङ्घ, केन्द्रीय समितिको प्रकाशन युनिभर्सिटी बुलेटिन ०७२ को पूर्णाङ्क २९ मा ‘कल्पनाको नाममा श्रद्धाको फूल !’ शीर्षकमा प्रकाशित आलेखको एक अंश सम्पादनसहित – सम्पादक)
Leave a Reply