भर्खरै :

पत्रकारिताका विद्यार्थीहरूलाई काउन्सिलमा आचारसंहिताबारे अभिमुखीकरण

भक्तपुर, ४ साउन । प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराएको छ ।
कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरूलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराई अभिमुखीकरण गराएको हो ।
सो अवसरमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस स्वतन्त्रता प्रजातन्त्रको जग भएको र यसको भरपुर उपयोग गराउन पत्रकार र पत्रकारिता अध्ययनरत विद्यार्थीहरू लागिपर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “मिडिया साक्षरताका लागि पत्रकारिता विद्यार्थीहरूले आ–आफ्नो क्षेत्रबाट गर्नसक्ने र मिडियाबाट जनतालाई समस्या भए काउन्सिलमा उजुरी गर्न सिकाउनुपर्दछ ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता गर्दा पत्रकार आफै पनि स्वतन्त्र हुनुपर्ने बताउनुभयो । वागीश्वरी कलेजले पत्रकार उत्पादनका लागि विद्यार्थीहरूलाई उत्प्रेरणा दिई अध्ययन भ्रमणका साथ अभिमुखीकरण गर्दै आएकोमा उहाँले खुसी प्रकट गर्नुभयो ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले आचारसंहिता हरेक क्षेत्रमा रहेको र पत्रकारिता क्षेत्रमा झनै स्पष्टरूपमा रहेको बताउनुभयो ।
विद्यार्थीहरूलाई अभिमुखीकरण गराउँदै प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले पत्रकार र सञ्चारमाध्यमले गर्न हुने काम १४ ओटा र गर्न नहुने १४ ओटा कामका बारेमा प्रशिक्षण दिनुभयो । नेपालमा ८ हजार छापा, ११ सय रेडियो, डेढसय टेलिभिजन र ३ हजार ५ सय ओटा अनलाइनहरू दर्तामा देखिएको उहाँले जानकारी दिनुभयो ।
काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले मिडिया अनुगमन निरन्तररूपमा भइरहेको र अटोमेटिक रेकर्ड हुने सिस्टमका साथ कार्य भइरहेको बताउनुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिँह र मिडिया अनुगमनकर्ता राजन सिँहले आफूहरूले मिडिया र पत्रकारिताको अध्ययन वागीश्वरी कलेजमा नै गरेको र आफूहरूका सहपाठीहरू विभिन्न मिडियाहरूमा पाउँदा गर्वको अनुभूति हुने गरेको बताउनुभयो ।
वागीश्वरी कलेजका पत्रकारिता तथा आमसञ्चार शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरूलाई अभिमुखीकरण गरेर पत्रकारहरूलाई थप सचेत बनाएकोमा प्रेस काउन्सिललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *