“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
हेटौंडा, ५ साउन । बाग्मती प्रदेशसभाको बैठक बिहीबार सुरू भयो । चार वटा अध्यादेश प्रतिस्थापन विधेयकहरू बैठकमा प्रस्तुत भए । ती विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गरे ।
छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सांसद सुरेन्द्रराज गोसाईले प्रजातन्त्र घरघरमा पु¥याउन स्थानीय तहलाई अधिकारसम्पन्न, कर्मचारीलाई इमानदार तथा युवाहरूलाई परिवर्तनको वाहक बनाउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । सरकारद्वारा प्रदान गरिने विभूषणमा सामन्ती प्रथालाई निरन्तरता दिन नहुने धारणा उहाँले राख्नुभयो ।
प्रदेश निजामती सेवासँग सम्बन्धित विधेयकमाथि भएको छलफलमा प्रदेश सांसद गोसाईले कर्मचारीतन्त्र भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती आदिका कारण सरकार आलोचित रहेको बताउँदै जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाबाट प्रेरित गर्न तथा मनोबल बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । केन्द्र सरकारले कर्मचारीहरूको सरूवा–बढुवा आदिमा हस्तक्षेप या दबाब दिन नहुने र दलीय आधारमा विभेद गर्न नहुने धारणा राख्दै उहाँले भागबन्डा अभिशाप सिद्ध हुँदै छ भन्नुभयो ।
स्थानीय तहको सेवासँग सम्बन्धित विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गोसाईले प्रजातन्त्रको मर्मबमोजिम विकेन्द्रीकरण र स्वायत्तताको अभ्यास साँचो अर्थमा व्यवहारमा लागु गर्न जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हिजो गाउँगाउँमा सिंहदरबार भन्यौँ । आज व्यवहारमा भने गाउँगाउँमा सिंहदरबारको हस्तक्षेप अनुभव गर्दै छौँ । केन्द्रले मात्र होइन प्रदेशले पनि स्थानीय तहमाथि अहस्तक्षेपको नीति अवलम्बन गर्न आवश्यक छ । स्थानीय तहहरूलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्छ ।”
उहाँले अगाडि भन्नुभयो, “कर्मचारीहरूलाई लोभ देखाएर होइन देशभक्तिको भावना दिएर, जनताको सेवामा समर्पित बनाएर सक्रिय बनाउन आवश्यक छ । ढिलासुस्ती, कामचोर प्रवृत्ति, भ्रष्टाचार अहिलेका समस्या हुन् । त्यस प्रवृत्तिलाई प्रश्रय दिने तथा अपराधीलाई संरक्षण दिने कार्य शासक दलहरू गर्दै छन् । तिनीहरू दोषी हुन् ।”
प्रदेश युवा ऐनसँग सम्बन्धित विधेयकको छलफलमा बोल्दै सांसद गोसाईंले आमूल परिवर्तनको निम्ति लड्ने युवा तयार गर्न आवश्यक छ भन्नुभयो ।
बेरोजगारी, दुव्र्यसन, अशिक्षा मुख्य समस्या भएको बताउँदै युवा शक्ति निर्माण, उत्पादन तथा चेतना अभिवृद्धिमा लगाउनुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी पुँजीवादी व्यवस्थामा छौँ । यो व्यवस्थाले युवा शक्तिको दुरूपयोग गर्छ । पथभ्रष्ट बनाउँछ । शुभलाभमा सीमित राखेर परिवर्तन तथा क्रान्ति रोक्ने प्रयास गर्छ । वामपन्थी दाबी गर्नेहरू सरकारमा छन् । आमूल परिवर्तनका निम्ति युवाहरूलाई उत्प्रेरित गरिएन भने प्रश्न जरूर उठ्नेछ ।”
सोही विधेयकमा विचार राख्दै प्रदेश सांसद सृजना सैंजूले देशमा रोजगारीको अवसर नदिएकै कारण युवाहरू बाध्य भएर विदेश पलायन भइरहेको बताउनुभयो । उहाँले युवाहरूलाई शिक्षा, सीप दिएर क्षमतावान बनाउन सकेमात्र देशको उन्नति तथा प्रगति सम्भव हुने धारणा राख्नुभयो ।
विभूषण सिफारिससँग सम्बन्धित विधेयकबारे धारणा राख्ने क्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले चोरलाई चौतारी र साधुलाई शूली भन्ने भनाइ चरितार्थ नहोस् भन्नुभयो ।
विभूषण, पदक तथा पुरस्कार पहुँचवाला, मन्त्री र नेताका परिवारजनको पेवा बनाइनु गलत भएको धारणा राख्दै उहाँले सच्चा सेवक, असल नागरिक तथा गरीब, मजदुर–किसानको निम्ति काम गर्नेहरू सम्मानित हुनुपर्नेबारे चर्चा गर्नुभयो ।
उहाँले विभूषण तथा पदकको किनबेच या मोलमोलाइ हुनु लज्जाको विषय हो भन्नुभयो ।
प्रदेशसभाको बैठक शुक्रबार पनि बस्ने कार्यक्रम छ ।
Leave a Reply