भर्खरै :

सापारुको तयारीमा संस्कृतिकर्मीहरूको भेला

भक्तपुर, ५ साउन । भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरूप बिहीबार संस्कृतिकर्मीको भेला गरेको छ ।
नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढङ्गले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताउनुभयो ।
उहाँले यो वर्षको सापारुमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरू प्रदर्शनीका लागि नगरवासीहरूलाई उत्साहित गर्नुपर्ने बताउँदै गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिकरूपमा सचेत बनाउँदै लानुपर्नेमा जोड दिनुभयो ।
शिक्षा क्षेत्रमा अगाडि बढेको देशको प्रगति छिटो हुने बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र सरसफाइलगायतका क्षेत्रमा देशकै लागि उदाहरणीयरूपमा काम गरिरहेको अवगत गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृतिक परम्परादेखि चल्दै आएको हाम्रो सभ्यता भएको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा अगाडि बढनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नजिकिँदै गरेको गाठामग चह्रे र सापारुमा आउन सक्ने विकृतिबारे सबैजना सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न विधाका संस्कृतिकर्मीहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेका कार्यहरू प्रशंसनीय रहेको, नयाँ कलाकारहरूलाई परम्परागत नाच सिकाउन सुरु गरिसकेको, भक्तपुर महोत्सव सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै उहाँहरूले घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने, परम्परागत बाजाहरूको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको खाँचो रहेको, पर्यटकहरूलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाईजात्रा रुटमा केबल तारहरूको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *