भर्खरै :

बढ्दो अमेरिकी डलरको भाउ

विश्व मौद्रिक बजारमा अमेरिकी डलरको भाउ बढ्दो क्रममा रहेको छ । नेपालमा २०७९ साउन ५ गते अमेरिकी डलरको भाउ सबैभन्दा महँगो भयो । उक्त दिन एक अमेरिकी डलरको एक सय अट्ठाइस रूपैयाँ उनन्तीस पैसा विनिमय दर कायम भएको थियो । अमेरिकी डलरको भाउ बढ्नु भनेको अमेरिकी डलर खरिद गर्न नेपाली रूपैयाँ बढी तिर्न पर्नु हो । यस्तो स्थितिलाई नेपाली रूपैयाँ कमजोर भएको वा अवमूल्यन भएको भनेर पनि बुझ्ने गरिन्छ । नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा अमेरिकी डलरको भाउ ७.१४ प्रतिशतले बढ्यो । उक्त वर्षको सुरूमा एक अमेरिकी डलर खरिद गर्न एक सय उन्नाइस रूपैयाँ सन्ताउन्न पैसा तिर्नु परेकोमा वर्षको अन्तमा एक अमेरिकी डलर खरिद गर्न एक सय अट्ठाइस रूपैयाँ एघार पैसा तिर्नु परेको थियो । आर्थिक वर्ष २०७९/८० लागेसँगै अमेरिकी डलरको भाउ पनि बढ्दै छ ।
नेपालमा अमेरिकी डलरलगायत अन्य परिवत्र्य विदेशी मुद्राको विनिमय दर देशको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले प्रत्येक दिन प्रकाशित गर्दै आएको छ । केन्द्रीय बैङ्कले प्रकाशन गरेको विनिमय दरको आधारमा अन्य बैङ्क तथा वित्तीय संस्था र मनी चेन्जरहरूले आफूले कारोबार गर्ने विदेशी मुद्राको विनिमय दर तोक्ने गर्दछन् ।
नेपालमा अमेरिकी डलरलगायत अन्य परिवत्र्य विदेशी मुद्राको विनिमय दर ती मुद्रा र भारतीय मुद्राबिचको विनिमय दरको आधारमा तोक्ने गरिन्छ । नेपाली रूपैयाँ र भारतीय रूपैयाँको विनिमय दर (१०० भा.रू. बराबर १६० ने.रू.) स्थिर रहने गरी तोकिएको कारण नेपाल राष्ट्र बैङ्कले भारतीय मुद्रासँगको विनिमय दरको आधारमा अमेरिकी डलरलगायत अन्य परिवत्र्य विदेशी मुद्राको विनिमय दर तोक्ने गरेको हो । तसर्थ, विश्व मौद्रिक बजारमा भारतीय रूपैयाँ कमजोर भएमा नेपाली रूपैयाँ स्वतः कमजोर हुन्छ भने भारतीय रूपैयाँ बलियो भए नेपाली रूपैयाँ पनि स्वतः बलियो हुन्छ ।
गत एक वर्षमा भारतीय रूपैयाँ पनि अमेरिकी डलरको तुलनामा ७.१४ प्रतिशतले कमजोर भयो । भारतमा एक अमेरिकी डलर खरिद गर्न भा.रू. ८० तिर्नुपर्ने अवस्था छ । विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, अमेरिकी बजारमा भएको मूल्य वृद्धि, अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको ब्याजदरमा भएको वृद्धि र भारतीय बजारबाट विदेशी लगानी बापतको रकम फिर्ता पनि बढ्दो क्रममा रहेको कारण भारतीय बजारमा अमेरिकी डलरको माग बढेको छ र सोही कारण अमेरिकी डलरको मूल्य बढेको हुँदा भारतीय रूपैयाँ कमजोर भएको आकलन गरिएको छ ।
सिद्धान्ततः कुनै पनि मुद्राको माग र आपूर्तिको आधारमा त्यसको विनिमय दर कायम हुने गर्दछ । भारत विश्वका प्रमुख पेट्रोलियम पदार्थ आयातकर्ता मुलुकहरूमध्ये एक हो । पेट्रोलियम पदार्थको कारोबार अमेरिकी डलरमा हुने गर्दछ । भारतले पेट्रोलियम पदार्थको आयात बढाएको र पछिल्लो समय यसको मूल्यसमेत बढ्दा यसको आयातको भुक्तानी गर्न भारतमा अमेरिकी डलरको माग बढेको छ । भारतमा अन्य उपभोग्य तथा औद्योगिक वस्तुको आयात पनि बढेको कारण सोको भुक्तानीका लागि पनि अमेरिकी डलरको माग बढ्दो छ । भारतबाट विदेशी लगानीको रकम फिर्ता पनि बढ्दो क्रममा रहेको कारण यसका लागि पनि अमेरिकी डलरको माग बढ्दो छ । माग बढेपछि अमेरिकी डलरको मूल्य बढ्ने नै भयो ।
अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले विगत ४ महिनाको अवधिमा आफ्नो ब्याजदरमा ३ पटक वृद्धि गरी १.७५ प्रतिशत पु¥याएको छ । यसअघि २०२० मार्चदेखि २०२२ मार्चसम्म यस्तो ब्याजदर ०.२५ प्रतिशतमात्र थियो । यस प्रकारको ब्याजदर वृद्धिले अमेरिकी डलरमा गरिने लगानीको प्रतिफल बढ्ने भएको कारण अमेरिकी डलरको भाउमा वृद्धि भएको हो । यसरी विगत एक वर्षको अवधिमा अमेरिकी डलर चिनियाँ युआनको तुलनामा ४.२९ प्रतिशत, जापानी येनको तुलनामा २५.८४ प्रतिशत, युरोको तुलनामा १७.०३ प्रतिशत, बेलायती पाउन्ड स्टर्लिङको तुलनामा १६.१५ प्रतिशत, कोरियन ओनको तुलनामा १५.४४ प्रतिशत, ब्राजिलियन रियलको तुलनामा ५.७४ प्रतिशत र क्यानिडियन डलरको तुलनामा ३.३२ प्रतिशतले बलियो भएको छ । पछिल्लो समयमा अमेरिकामा पनि मूल्य वृद्धि भएर त्यहाँको मुद्रास्फीति विगत ४० वर्षकै उच्च बिन्दुमा पुगेको, कच्चा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको र अन्य मुलुकहरूले पनि मुद्रास्फीति तथा व्यापार घाटा कम गर्न विभिन्न उपायहरू अगाडि बढाउँदै आएको सन्दर्भमा अमेरिकी डलरको मूल्यमा भइरहेको निरन्तरको वृद्धि अबका दिनमा साम्य हुने यस क्षेत्रका विज्ञहरूको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *