भर्खरै :

गरिबको असन्तुलित जीन्दगीको मार्मिक चित्रण : उलार

उलार नेपाली साहित्यिक गगनका एक जगमगाउँदो तारा श्रीनयनराज पाण्डेद्वारा रचित लघु उपन्यास हो । यस उपन्यासले जनआन्दोलनपछि नेपालको राष्ट्रिय राजनीति कुरूपतालाई स्पष्ट भाषामा उदाङ्गो पारिदिएको छ । टाङ्गा वा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने अथवा बिग्रने प्रक्रियालाई उलार भनिन्छ । समग्रमा उलार शब्दको अर्थ असन्तुलन हो । सत्तामा रहेका शान्ति राजाजस्ता व्यक्तिहरूले गर्दा समाजमा र जनताको जीवनमा देखापरेको असन्तुलित स्थितिलाई यस उपन्यासले देखाउने प्रयास गरेको छ । यस लघु उपन्यासमा प्रेमललवालाई मुख्य पात्रको रूपमा प्रस्तुत गरिएको छ । यसमा प्रेमललवाको दुनियाँ उसको भित्री चिन्तन र बाहिरिया यथार्थलाई चित्रण गरिएको छ ।
यो विगतको नेपालगञ्जमा आधारित परिवेशसँग मेल खाएको आञ्चलिक उपन्यास हो । अतः यसकै पात्रहरू नेपालगन्जको स्थानीय भाषा बोलिरहेको पाइन्छ र यसमा लेखकले अनेक स्थानीय भाषाका शब्दहरूलाई समावेश गरेका छन् । कृति रचना गर्दा पूर्णरूपमा नेपाली भाषाको प्रयोग गरेमात्र पाठकहरूले बुझ्ने र पढ्न रुचाउँछ भन्ने मान्यतालाई लेखक नयनराज पाण्डेले यस उपन्यासमार्फत गलत सावित गर्नुभएको छ ।
नेपालगन्जमा सम्पन्न भएको चुनावमा एक नागरिकले उम्मेदवारको लागि सहयोग गर्नुपर्दा उठाउनुपर्ने अप्ठ्याराहरूसँगै उपन्यासको आरम्भ भएको छ । सानै उमेरमा बुबाआमाको मायाबाट वञ्चित भएको प्रेमललवाको जीवनशैली, उसको द्रौपदीप्रतिको निष्कपट प्रेम र वर्तमान परिवेशमा नेपाली जनताले भोग्नुपरेको कष्टलाई उपन्यासमा उजागर गरिएको छ । हातमा सीप नभएपछि कर्ताधर्ता मानिएका राजेन्द्रराजद्वारा अर्ती उपदेश पाएर टाङ्गाको काम सुरु गरी द्रौपदीलाई आफ्नो बनाउने आश वर्षामा चुहिने छाप्रोमा एक्लोपनलाई अङ्गालेर प्रेमललवा बाँचिरहेको हुन्छ ।
उपन्यासमा कुनै उपाय नपाई देहव्यापारमा लागेका वादी महिलाले सहनु परेको पीडादायी जीवनको प्रसङ्गलाई द्रौपदी नामक पात्रबाट दर्शाउन लेखक सफल देखिन्छन् । स–सानो नोकझोकबिच प्रेमललवा र द्रौपदीको सम्बन्ध अनि एक महिला जसको यथार्थ बेश्या हुनु हो, तिनीप्रति प्रेमललवाको सकारात्मक विचारलाई उपन्यासमा समावेश गरिएको पाइन्छ । प्रेमललवाको द्रौपदीप्रतिको उनको भावना र हेर्ने दृष्टिले यो प्रस्ट पार्छ कि उसले द्रौपदीको बाध्यता र अवस्थालाई बुझेको छ र उसले द्रौपदीलाई एक देहव्यापारीमात्र नभई एक आईमाई र एक स्त्रीको रूपमा हेर्छ ।
उपन्यासमा राजेन्द्र राजलाई चुनावमा पराजित गर्ने शान्तिराजाको विजय जुलुसमा ननकउको आग्रहमा बिरामी घोडीको साथमा सामेल हुनाले प्रेमलाई वा आफ्नो घोडी वसन्तीलाई गुमाउन पुग्छ । जम्मा पुँजी र यताउताबाट जोरजाम गरी मिलाएको रकम खर्चिदासमेत आफ्नो हातमुख जोड्ने सहारावसन्तीको ज्यान बचाउन असफल हुँदा प्रेमललवा आफूलाई अत्यन्त असहाय महसुस गर्न पुग्छ । यसपश्चात् सुरु हुन्छ जनआन्दोलनपछि राजनीति जनतालाई मूर्ख बनाई कहिले पूर्व कहिले पश्चिमतिर कुदाउने प्रक्रिया ।
घोडीको देहान्तपश्चात् प्रेमललवाले राजेन्द्रराजको चिठीको मद्दत लिन्छ । अनि शान्ति राजले सहयोगका लागि काठमाडौँ भन्ने आश्वासन दिन्छ । पेटको भोक रगलाको प्यास मेटाउनसमेत धौधौ परेको प्रेमललवालाई काठमाडौँ जान भनी रकम जुटाउन सहयोगको आसमा मित्र कलुवार द्रौपदीकहाँ पुग्छ । दुबैको आफ्नै समस्या हुँदाहुँदै पनि दुवै प्रेमललवालाई सहयोग गर्न हिच्किचाउँदैनन् । यसले प्रेमललवासँग केही नभए तापनि असल मित्रहरू भनेछन् भन्ने कुरामा प्रकाश पार्छ ।
जसोतसो खर्च जुटाएर काठमाडाँै पुगेको प्रेमललवालसँग नेताबाट सहयोग पाउने त के नेताको दर्शनमात्र पनि नपाउने दृष्टान्तले अहिलेका नेताहरूको चरित्रमाथि व्यङ्गय हानेको छ । गोजीको पैसा, आफ्नो आत्मबल र नेताबाट सहयोग पाउने आशा सबै सकेपछि प्रेमललवा आफ्नो ठाउँ फर्किन्छन् र आफ्नो जटिल अवस्था झन् जीर्ण बन्न पुगेको देख्छन् । बस्नलाई ठाउँ, न कमाउनलाई टाङ्गा !
यति भए तापनि आफूलाई जसोतसो सम्हालेर हार नमानी द्रौपदीको साथ लिएर राम्रो जीवन निर्वाह गर्छु भन्ने अठोटका साथ प्रेमल जिन्दगीमा अघि बढ्ने प्रयत्न गर्छन् ।
अन्ततः उलार भनेको असन्तुलन हो र यो लघु उपन्यासको नामअनुसार लेखकले यसका मूल पात्र प्रेमललवाको जीवनको उलारलाई दर्शाएका छन् । यस रचनाले सीमान्त तहका जनताको सङ्घर्षलाई दर्शाएको छ ।
(उहाँ ख्वप माध्यमिक विद्यालय, देकोचामा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published.