भर्खरै :

दाइकी ‘शोभा मिस’ र हाम्री भाउजूको सम्झना

बुबाले खोजेकी बुहारी
हाम्रो बुबा गणेशमान बिजुक्छेँ कडा स्वभावको हुनुभएकोले हामी छोराछोरीहरू हतपत उहाँको नजिक पर्न चाहँदैनथ्यौँ । राणाकालीन जागिरे, अग्लो कद, उहाँको अट्टहास हाँसो एक टोलबाट अर्को टोलसम्म सुनिन्थ्यो । उहाँको हाँक, धाक र रवाफ बेग्लै भएको सुन्थ्यौँ । ठुलो दाइ (नारायणमान बिजुक्छेँ) को प्रगतिशील राजनैतिक संलग्नता, बुबाको धार्मिक आस्था र रवाफबिचको बेमेलले जन्माएको द्वन्द्वले आखिर दाइ घरबाट निकालिनुभयो । दाइको राजनैतिक क्रियाकलापले उहाँलाई २०२५ सालमा निर्वासन पु¥यायो । करिब एक दशकको लामो निर्वासनपछि २०३६ सालको विद्यार्थी आन्दोलनको फलस्वरूप राजनैतिक बन्दीहरूलाई आममाफी घोषणापश्चात् जनमतसङ्ग्रहको सँघारमा दाइ निर्वासनबाट घर फर्कनुभएको स्मरण ताजै छ । निर्वासनपश्चात् भक्तपुरको दत्तात्रयमा सायद, दाइको पहिलो आमसभा थियो । आफ्नो सन्तानको माया कसलाई पो नहोला र ! बुबा पनि सो आमसभा सुन्न र छोरोको मुख हेर्न दत्तात्रयमा पुग्नुभएको कुरा दत्तात्रयमा घर भएका एक काकाले भन्नुभएको याद छ । काकाको भनाइअनुसार दाइको भाषण सुन्दै गर्दा बुबाको आँखा पनि रसाएको थियो रे, सायद धेरै वर्षपछि छोरोलाई नजिकबाट देख्न पाएर होला ! दाइ बिस्तारै घर आउजाउ गर्न थाल्नुभयो तर बुबा र दाइबिच बोलचालको थालनी भने भएको थिएन । भाइबहिनी र आमासँग भलाकुसारी गर्नुहुन्थ्यो । तर, बुबाको अगाडि पर्नुहुन्नथ्यो । बिस्तारै बुबाले आमालाई सुनाउन थाल्नुभयो, “विवाह गर्ने होइन ? भनेर सोध नेतालाई…….।” केही दिन, महिना र वर्ष बुबाले यो कुरा गर्न छाड्नुभएन । एक दिन बुबाले केटीको फोटो आमालाई देखाउनुभयो । त्यो फोटो शोभा भाउजूको थियो । हुन त शोभा भाउजूको कुरा चल्नु पहिले अरूको पनि कुरा चल्दै गरेको आमा र दिदीहरूबाट नसुनेको होइन । धेरै पल्टको भलाकुसारीमा शोभा भाउजू र दाइको मन मिल्यो र आखिरमा २०४० सालमा विवाह भयोे ।
बुहार्तनदेखि राजनैतिक प्रशिक्षणसम्म
विवाहपश्चात् दाइ घरमै सामूहिक परिवारमा बस्नुभयो । बुबा खानाका पारखी, मीठो खानुपर्ने, जस्तोसुकै कमजोर आर्थिक अवस्थामा पनि माछा, मासु, फलफुल, चटनीको जोहो गर्नैपर्ने । भाउजू गाउँकी केटी धेरै परिकार बनाउन अभ्यस्त नभएकी । एकपल्ट अचार बनाउने क्रममा शोभा भाउजूले भिजाएको केराउ र प्याजलाई मिसाएर अचार बनाउनुभएछ, बुबाले आश्चर्य मान्दै भन्नुभयो, “हे……… यो शोभा पनि गाउँको तालले काम गर्छे, केराउ र प्याज पनि कहीँ अचार हुन्छ ?” निस्तो भात त्यो पनि थर्मसमा राखेको मजाले खान सक्ने दाइ र थरी थरी परिकारको रिकापीले घेरेर नवाबी पाराले खानुपर्ने बुबाबिचको भिन्नता भाउजूले बिस्तारै बुझ्दै जानुभयो । आफूले खोजेको बुहारी भएर होला बुबाले भाउजूलाई कहिल्यै रिसले हप्काउनुभएको मलाई थाहा छैन । यसबेलासम्ममा बुबाको रिसको मात्रा सयमा एकमात्र बाँकी थियो । भाउजूका दुई फुपूहरू भक्तपुरमै बिहेवारी भएकाले भाउजू यहाँको चालचलन, रहनसहन र हानेकाने (व्यवहारिक संस्कार र संस्कृतिका कुराहरू) बाट पूर्णरूपमा अनभिज्ञ त थिएनन् । तर, फरक परिवेश र जिल्लाबाट आउनुभएकोले धेरै कुराहरूमा दिदीहरू (शोभा भाउजूका नन्दहरू) ले सहयोग गर्नुहुन्थ्यो र बिस्तारै भाउजू यस्तो कुरामा अभ्यस्त हुँदै जानुभयो र जेठी बुहारीको भूमिकामा बिस्तारै अभ्यस्त हुँदै जानुभयो । दाइको विवाह हुनुअघि भ्याएसम्म हामी तीन भाइ (धीरेन्द्र, राजामान र म) मध्ये एकजना (प्रेमगोपाल कर्माचार्य दाइको घरमा) दाइकोमा भेटघाट गर्न आउने व्यक्तित्वहरूलाई कालो कफी बनाई ख्वाउथ्यौँ र दाइलाई घरबाट थरमसमा खाना ल्याउँथ्यौँ । भाउजूको विवाहपछि भन्ने दाइ सगोलको घरमै बस्न थाल्नुभयो र हामीलाई पनि केही राहत भयो । दाइलाई भन्न धक लाग्ने कुरा हामी भाउजूलाई भन्थ्यौँ र कुरा मिल्थ्यो । एक किसिमले बुबा र दाइबिचको संवादहीनताको अवस्थाको सहजकर्ता र सेतु पनि भाउजू हुनुभयो । दाइलाई सुनाउनुपर्ने कुराहरू बुबाले भाउजूलाई सुनाउनुहुन्थ्यो । विवाहपश्चात् दाइले घर परिवारलाई समय दिने आशा बुबामा थियो । तर, घर परिवारभन्दा पार्टी र राजनीतिलाई नै प्राथमिकतामा राख्ने दाइको स्वभावमा नआएको परिर्वतन बुबालाई मनपरेको थिएन । बुबाले भाउजूलाई, “नेताले तिमीलाई यो ल्याइदिएन, त्यो ल्याइदिएन ? घुमाउन लगेन ?” भनी कुरा सिकाइ राख्नुहुन्थ्यो ।
राष्ट्रिय राजनीतिक व्यक्तित्वका श्रीमती भएका नाताले भाउजूले घरको बुहार्तनमात्र गरेर पुग्दैनथ्यो । दाइको विभिन्न व्यक्तित्वहरूसँगको भलाकुसारी र राजनैतिक संवाद भइरहने कारण भाउजू राजनैतिकरूपमा प्रशिक्षित हुनु आवश्यक थियो । त्यहीँ भएर होला दाइले पार्टीसँग सम्बन्धित व्यक्तित्वहरूसँगै जिल्लाबाहिरै लैजानुभएको मलाई सम्झना छ । मेरो सम्झनामा २०४२ सालमा सत्याग्रहको सिलसिलामा दाइ नख्खुजेलमा पर्दादेखि शोभा भाउजूको राजनैतिक प्रशिक्षणले गति लिएको थियो । पत्रपत्रिका र पुस्तकको जोहो गर्ने र दाइलाई भेट्न जाने क्रममा भाउजूले बिस्तारै राजनैतिक सुझबुझ पाउनुभएको जस्तो लाग्छ । त्यसभन्दा पहिले उहाँको बुबा श्यामलाल प्रधान शिक्षक र हेडसर हुनुभएकोले शिक्षक सङ्गठन र शिक्षक आन्दोलन र अन्य क्रियाकलापहरू तथा त्यससँग आबद्ध व्यक्तित्वहरूसँग पनि भाउजू अनभिज्ञ हुनुहुन्थेन ।
भक्तपुर काण्डले खारिएकी शोभा भाउजू
बिस्तारै शोभा भाउजू घरका कामहरू, राजनैतिक कुराकानी, सुझबुझ तथा पाहुना सत्कारमा अभ्यस्त हुँदै पहिलो छोरा सुवेगको हुर्काई र विद्यालयको शिक्षिकाको रूपमा आफूलाई स्थापित गर्दै जाँदा २०४३ सालमा माया गर्ने ससुराको निधनले अर्को घरायसी जिम्मेवारी थप्दै गयो । सबै कुरा बिस्तारै सुव्यवस्थित हुँदै जाने क्रममा अचानक भाउजूको जीवनमा अर्को ठुलो बज्रपात आइपर्याे । तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई नष्ट गर्ने राज्य षड्यन्त्रको उपज मानिने भक्तपुर काण्डको कारण भदौ ९ गते दाइलगायत तत्कालीन भनपाका जनप्रतिनिधिहरूको रातारात गिरफ्तारी र लगत्तै ‘रोहितलाई फाँसी दे’ को पञ्चायती गैरन्यायिक, असंवैधानिक र श्वेत आतङ्कले स्थितिलाई भयावह र सिङ्गो भक्तपुर र यहाँका निर्दोष जनताको दैनिकीमा दिउँसै कालरात्री निम्तियो ।
विरोधीहरूले नूर गिराउने मनसायले नियोजितरूपमा बाटो हिँड्दा पाइलैपिच्छे ‘ज्यानमाराको श्रीमती’ को पगरी गुठ्याइदिँदा शोभा भाउजू अपमाानित हुनुपर्दा यसले पु¥याएको असीम पीडाको हामी कल्पनामात्र गर्नसक्छौँ । श्रीमान भित्र जेलमा, देवरहरू सबै भूमिगत, छोराको चिन्ताले थलिएका बुढीसासूको हेरचार गरुँ कि चार वर्षको बालकको लालनपालन । अझ पाँच महिनाको बच्चा पेटमा बोकी यताउता भौतारिन बाध्य शोभा भाउजूले त्यहीबेला भोग्नुपरेको कष्टसाध्य परिस्थितिलाई बिस्तारै पचाउँदै विचलित नभई त्यस सङ्कटबाट पार पाउने अठोट गर्नुभयो । समस्यामा परेका सबै महिलाहरूसँग हातमा हात मिलाई षड्यन्त्रकारीहरूको इँटालाई ढुङ्गाले जवाफ दिँदै अगाडि बढ्नुभयो । स्थिति बुझ्न घरमा आउने स्वदेशी र विदेशी अधिकारकर्मी तथा पत्रकारहरूलाई वास्तविकताको बोध गराउनुभयो । राज्यद्वारा सञ्चालित षड्यन्त्र त्यस भक्तपुर काण्डले शोभा भाउजू बिस्तारै फलामबाट इस्पातमा परिणत हुँदै जानुभयो । पहिलो जनआन्दोलको सँघारसम्ममा समय र परिस्थितिले कोल्टे फेरिसकेको थियो । जनआन्दोलन सफल भई पञ्चायती व्यवस्था ढल्ने करिब निश्चित भइसकेको थियो ।
अभिभावकीय भूमिकामा शोभा भाउजू
बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात्को समयसम्ममा शोभा भाउजूले घरपरिवारको बुहार्तनबाहेक बाह्य कुराहरूसमेत सम्हाल्न थालिसक्नुभएको थियो । दाइसँगसँगै विभिन्न बाह्य कार्यक्रमहरूमा भाउजूको पनि उपस्थित बाक्लिन थाल्यो । तर, २०५० सालमा साहिँला देवर (धीरेन्द्र) को विवाहको लागि दाइ र भाउजूले सगोलको घर छोड्नुभयो र सुकुलढोकामा कृष्णगोपाल तब्बा (प्रेमगोपाल कर्माचार्यको बुबा) को मै बस्न थाल्नुभयो । समयको काल क्रमले सहजरूपमा अगाडि बढ्दै जाँदा ५३ साल कार्तिक महिनामा दसैँ र तिहारको बिचमा आमाको देहावसान भयो । आमाको देहावसानले भाउजूमाथि अझ पारिवारिक दायित्व थपियो । कान्छा देवर योगेन्द्रको विवाहको सिलसिलामा भाउजूले नै अभिभावकीय भूमिका खेल्नुभयो । कान्छी बुहारी गर्भवती भई समस्या हुँदा सरसल्लाह दिने र हेरविचार गर्ने कोही नहँुदा स्वास्थ्यकर्मी कल्पना थापा (गोसाई) लाई भाउजूले ब्यासीसम्म लिएर आउनुभयो र आवश्यक चाँजोपाँजो मिलाई सासूको भूमिका खेल्नुभयो । त्यहाँदेखि स्वास्थ्यसम्बन्धी कुनै आपत् पर्नेबेला सहयोग गर्ने कल्पना नै हुन्थिन् । घर परिवारको संस्कृति र संस्कारगत (हानेकाने) कामहरू पनि बिस्तारै सम्हाल्न थाल्नुभयो । उता दाइको पार्टी र राजनैतिक कार्यहरूमा पनि आफ्नो भूमिकालाई बढाउँदै लैजानुभयो । घर, डेरा, कार्यालय वा अन्य विभिन्न कार्यक्रमहरूमा स्वदेशी वा विदेशी राजनैतिक व्यक्तित्वहरूको सत्कारमा शोभा भाउजू योमरी, चटामरी, तलासी (नेवारी तीलको लड्डु), प्यानकेक, ऐगरोल (गहँुको रोटीमा अण्डा लेपन गरी पकाइने रोटी) जस्ता नेवारी परिकार पाहुनासामु पस्किनुहुन्थ्यो । यी परिकार पकाउन नयाँ पुस्तालाई हौस्याउनुहुन्थ्यो उहाँ । सुवेग र सुवान दुईजना बाबुहरू हुर्कँदै जाने क्रम एकातिर थियो र पटकपटक बिरालोले बच्चा एक ठाउँबाट अर्को ठाउँ सारेजस्तै डेरा सार्ने काम पनि गर्नुपर्ने तथा बरोबर हुने ‘हाउसअरेस्ट’ र छालाको बुथसहित बुइँगल र पूजाकोठामा प्रहरी पुग्दा धार्मिक भावनाका तःबालाई अप्ठेरो पर्नु स्वाभाविक थियो ।
क्यान्सरको आपत्
सुकुलढोकाको डेरामै रहँदा दाइले एकदिन फोन गरेर मलाई बोलाउनुभयो । कोठामा पुग्दा दाइ र भाउजू बसिराख्नुभएको थियो र भाउजू अँध्यारो मुख लाएर बस्नुभएको थियो । एकदिन अगाडि दाइ र भाउजू शिक्षण अस्पताल महाराजगन्जमा डा. प्रकाश सायमिसँग छलफल गरेर भाउजूलाई स्तन क्यान्सर भएको र दोस्रो तहमा पुगेकोले शल्यक्रिया गर्दा निको हुने सम्भावना बढी भएकोले तत्काल शल्यक्रिया गर्न सुझाएको कुरा मलाई सुनाउनुभयो । परिवार, आफन्त र अरू कोहीलाई चिकित्सक वा अस्पताल लैजानुपरेमा अक्सर मेरो जिम्मा हुन्थ्यो । जनआन्दोलनका जिउँदा सहिद, बुबा, आमा, भान्जी, भिनाजु धेरैलाई सामान्य चिकित्सकीय उपचार तथा शल्यक्रियाकै लागि अस्पताल लाने कामहरू पटक–पटक भए । अन्दाजी ४९ ÷५० सालतिर भाउजूको काखीमा गिर्खा देखापर्यो भनी दाइले मलाई शिर मेमोरियल अस्पताल बनेपामा पठाउनुभएको थियो । सायद यो नै क्यान्सरको लक्षण थियो । तर, त्यतिबेला न यसको बारेमा कुनै जानकारी र चेतना नै थियो न बनेपाको चिकित्सकले नै यसको बारेमा सचेत गरायो । अचानक २०५६ सालमा भाउजू सामान्यरूपमा चिकित्सलाई देखाउन जाँदा क्यान्सर लागेको भन्दा छाँगाबाट खसेको महसुस जोसुकैलाई हुनु स्वाभाविक थियो । तर, आश्चर्य शल्यक्रिया सफलताका साथ सम्पन्न भएपश्चात्का दिनहरूमा भाउजूले आफ्नो जीवनलाई सरल तरिकाले बिताउनुभयो । उहाँले कहिल्यै ‘ऐया ….आत्थु ……’ भनेर कराउनुभएको र आफ्नो रोगका बारेमा गुनासाहरू पोखिराखेको मलाई थाहा छैन । एक, भाउजूलाई त्यस्तो गर्ने समय पनि थिएन । दाइलाई भेट्न बिहानदेखि बेलुकीसम्मै कोही न कोही आइरहेकै हुन्थ्यो । घर आएका पाहुनालाई चिया चमेना नख्वाई पठाउनुहुन्नथ्यो भाउजू । भाउजू आफै पनि स्कूलमा पढाउन जानुपर्ने भएकोले जहिले पनि भ्याइनभ्याई हुन्थ्यो । भाउजूको अर्को विशेषता भनेको धैर्यता हो । शोभा भाउजूको यस स्वभावलाई लिएर मित्र सरोजराज गोसाईले चयन गर्नुभएको शब्द ‘धैर्यशिरोमणि’ साह्रै मन छुने खालको रह्यो ।
स्तन क्यान्सरपछि भाउजूले अर्को जिम्मेवारी लिनुभयो – स्तन क्यान्सरसम्बन्धी जनचेतनाको अभियान । दिदीबहिनी, महिला र आमाहरूको बिचमा बेला–मौका पारी सम्बन्धित चिकित्सकहरूको साथमा क्यान्सरबारे सचेतना तथा शिविर चलाउँदै हिँड्नुभयो । आफू स्वयं क्यान्सरको पीडित भन्ने नै बिर्सनुहुन्थ्यो । क्यान्सरसँग पौठेजोरी खेली पछार्न सक्षम भाउजूलाई अर्को क्यान्सरले भित्रभित्रै पछ्याइरहेको चालै पाउन सक्नुभएन । पहिलो क्यान्सरले हमला गरेको १९ वर्षपछिको त्यो झट्काले भाउजूलाई नराम्ररी थला पार्यो । तर, धैर्यशिरोमणि भाउजूले कति पनि हरेस नखाई त्यसको मुकाबिला गर्नुभयो । विदेशमा उपचार गर्ने कुरालाई मान्नुभएन र फेरि दोस्रोपल्ट नेपालमै अप्रेसन गरी क्यान्सरसँग मुकाबिला गर्दै अगाडि बढ्नुभयो । शल्यक्रियाको तेस्रो वर्षसम्म सबै कुरा सामान्य हुँदै गइरहेको थियो । १९ वर्ष पहिलेको भन्दा प्रभावशाली र थला नपार्ने नयाँ केमोथेरापी उपचारले चमत्कार देखाइरहेको थियो । तर, २०७६ सालको चैत महिनाको दोस्रो सातादेखि कोभिड महाव्याधीको कारणले भएको लकडाउन वा बन्दाबन्दीको अवस्थाले प्रभावकारी नयाँ केमो आउन छोड्यो । भाउजूलाई पुरानै केमो चलाउनुपर्ने अवस्था आयो, अस्पताल पनि समयमै पु¥याउन अप्ठेरो अवस्था भयो र क्यान्सरले आफ्नो प्रभाव देखाउँदै भाउजूलाई बिस्तारै थला पार्दै लग्यो । असार ८ गते बिहानसम्म क्यान्सरलाई जितिछाड्ने बलियो आत्मबल लिएर मुस्कुराउँदै गरेका भाउजू दिउँसो ठीक तीन बजेर पैतालिस मिनेटमा क्यान्सरसँग लड्दालड्दै बित्नुभयो । साहसी, निर्भिक र आत्मबलकी धनी शोभा भाउजूले सदाको लागि आँखा बन्द गर्नुभयो । हामी परिवारजनले एक अनुभवी अभिभावक गुमायौँ । अङ्ग्रेजी कवि किट्का वाक्य सम्झयौँ – त्जयकभ धजय नयम यिखभक मष्भ थयगलन (ईश्वरले माया गर्ने चाँडै परलोक जान्छन् ) ।
साधारण आगमन र असाधारण बिदाइ
जेठको दोस्रो हप्तातिर भक्तपुर नपाका नवनिर्वाचित उपप्रमुख रजनी जोशी म्यामले फोन गर्नुभयो, “योगेन्द्र, तपाईँसँग कुरा गर्नु थियो, भेटेरै कुरा गरुँला ।” मनमा खुल्दुली भयो नगरपालिकामा के भयो र उहाँले भेटेरै कुरा गर्ने भन्नुभयो । दुई तीन दिनपछि उहाँसँग कुरा भयो । रजनी म्यामले भन्नुभयो, “अस्ति शोभा भाउजूलाई भेट्न गएको थिएँ । भाउजू बहिनीहरूसँग अङ्गालो मारेर रोइराख्नुभएको थियो । भाउजूलाई मैले त्यसरी रुनुभएको कहिल्यै देखेको थिइनँ । सोध्दा भाउजूले भन्नुभयो रे – मलाई दाइको सा¥है माया लाग्यो । सायद भाउजूले चाल पाउनुभयो कि यसपल्ट उहाँले क्यान्सरलाई जित्न सकिँदैन भनेर । दाइलाई साराले माया गर्ने भए तापनि दाइकी ‘शोभा मिस’ को माया नितान्त भिन्न र नमुना थियो । चार दशकको यात्रामा जस्तोसुकै आपत्विपत् र सङ्कटमा दाइको साथ कहिल्यै छोड्नुभएन । दाइको राजनीति, सिद्धान्त, विचार र जीवन दर्शनलाई आत्मसात गरी त्यसैमा आफूलाई समर्पण र समाहित गर्नुभयो । अन्तिम अवस्थामा पनि भाउजूले दाइलाई सम्झनुभयो र उहाँको बारेमा चिन्ता व्यक्त गर्नुभयो । यो नै दाइप्रतिको अगाध माया र विश्वासको प्रमाण थियो । हो, यता दाइको भाउजूप्रतिको माया पनि कम थिएन । शाहजहाँले जस्तै दाइले भाउजूको लागि कुनै ताजमहल त खडा गर्नुभएन । तर, दाइसँग अल्याख जनताको माया, ममता र आस्था थियो । साथै, दाइसँग विचार, सिद्धान्त र कलम थियो । त्यसैले दाइ जेल पर्दा भाउजूलाई पीडा नहोस् भनेर भाउजू र घरपरिवारलाई सम्झेर पानाका पाना चिट्ठीहरू कोर्नुभयो । ती चिट्ठीहरू सामान्य खाना खायौ ? सन्चै छौ ? भनेर सोध्नेमा मात्र सीमित थिएनन् । त्यसमा प्रकृति, भाषा, धर्म, संस्कृति, साहित्य, इतिहास, यात्रा अनुभवका कुरादेखि लिएर बाल मनोविज्ञानसम्मका सूचनाहरू थिए । भाउजूप्रति समर्पित ती चिट्ठीहरू अनुपम उपहार थियो जुन कुनै ताजमहलभन्दा कम छैन ।
भाउजूको दाइप्रतिको त्यो चिन्ता उहाँको मात्रै पक्कै थिएन । भाउजूप्रति श्रद्धाञ्जली व्यक्त गर्न आउने जो कोहीको मनमा एउटा खुल्दुली, जिज्ञासा र चिन्ता थियो । मुखले व्यक्त नगरे पनि उहाँहरूको आँखामा त्यो चिन्ता प्रस्ट प्रतिबिम्बित थियो । अब दाइलाई के हुने हो ? भाउजूको साथबिना उहाँ विचलित त हुने होइन ? काभ्रेको एकजना कार्यकर्ता र शुभचिन्तकले झिनो आवाजमा त्यो मनको कुरालाई अभिव्यक्त गरे – दाइ तपाईँले आफ्नो स्वास्थ्यलाई राम्ररी ख्याल गर्नु, तपाईँलाई केही भयो भने हामी टुहुरो हुन्छौँ । असङ्ख्य जनताको दाइप्रतिको त्यो अगाध माया र ममता भाउजूको अन्तिम यात्रामा छचल्कियो । ४० वर्ष पहिले भाउजू कुनै बाजागाजा, जन्तीको लस्कर, झिलिमिली, नाचगानको बिचमा भित्रिनुभएकोे थिएन । भाउजूको त्यो आगमन अति साधारण थियो, भाउजू पनि साधारण नै हुनुहुन्थ्यो । तर, त्यो ४० वर्षमा भाउजूले असाधारण काम गर्नुभयो र हजारौँ हजार जनता, विद्यार्थी, दिदीबहिनीको अपार माया पाउनुभयो । त्यसैले भाउजूको बिदाइमा कोही सुकसुकाए, कोही निःशब्द भए, कोही गहभरि आँसु लिएर टोलाए, कोही भक्कानिए । जसरी दाइप्रति भाउजूले अन्तिम माया र चिन्ता व्यक्त गर्नुभयो, आज बजार टोल छिमेकमा पनि त्यही चिन्ताहरू सुनिए । हो, भाउजूको दाइप्रतिको चिन्तालाई मनन गर्नु नै भाउजूप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ ।
(नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा ३१ असारमा सम्पन्न शोभा भाउजूको श्रद्धाञ्जली सभामा व्यक्त विचारमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *