भर्खरै :

आजको चिनियाँ संस्कृतिः एक छलफल

पाँच हजारभन्दा लामो इतिहास बोकेको देश चीनको सभ्यताको अध्ययनबिना मानव सभ्यताको अध्ययन अपुरो हुन्छ । ‘संसारका प्रमुख मानव सभ्यता जस्तै मिश्र, सुमेर–बेबिलोन र सिन्ध सभ्यताको मूल संस्कृति (सामाजिक, कानुन, परम्परा, भाषा, जीवनशैली आदि) हराए पनि चीनको मूल संस्कृति र सभ्यता आजको चीनमा पनि हराएको छैन’ (मल्ल,२०७७ : २३९) पुरातात्विक अनुसन्धानबाट कृषि, कागज, दिशासूचक यन्त्र, अबाकसजस्ता मानव सभ्यतासँग अन्योन्यास्रितरूपमा जोडिएका कैयौँ आविष्कार चीनमा भएका थिए । त्यस्तै, प्राचीनकालमै चिनियाँ यात्रीहरू पूर्वी एसिया, दक्षिण एसिया, मध्य पूर्वदेखि अफ्रिकासम्मको यात्रा गरेको इतिहासमा पाइन्छ । प्राचीनकालीन नेपालका कतिपय तथ्य पनि त्यस्तै चिनियाँ यात्रीहरूले लेखेका अभिलेखमा आधारित छन् । प्राचीन रेशममार्गले चीनलाई संसारको अर्को प्रमुख सभ्यता युरोपेली सभ्यतासँग जोड्यो । जसले चीनको व्यापारमात्र बढाएन बरू चिनियाँ सभ्यता र संस्कृतिलाई अझ समृद्ध बनायो । इसापूर्व ११२२ मा चाउ वंशको शासनदेखि आजको चीनसम्म आइपुग्दा भौगोलिकरूपमा संसारकै विशाल देश र सबभन्दा धेरै जनसङ्ख्या भएको चीनमा हजारौँ शासकले कैयौँ चिन्तन र अनुभवको आधारमा शासन अभ्यास गरे । हरेक दार्शनिक र चिन्तकले तत्कालीन आफ्ना अनुभव र अध्ययनको आधारमा चिनियाँ जीवनमा नवीन पक्ष थप्दै गए । कन्फुसियस, बुद्ध दर्शन, मेन्सस, लाओ त्सुजस्ता दार्शनिकहरूका चिन्तनमा चिनियाँ संस्कृतिले गति लिँदै गयो । अनुभवसिद्ध तिनै चिन्तिनको समष्टि रूप नै आजको चिनियाँ संस्कृति हो । फलतः, राजनीतिक इतिहासका अनेकन आरोह अवरोह छिचोल्दै अघि बढेको आजको चीन सांस्कृतिकरूपमा संसारकै समृद्ध देशमध्ये एउटा देश बन्यो ।
सन् १८४० को दशकमा अफिम युद्धमा पराजित भएपछि चीन एक शताब्दीभन्दा लामो कालखण्ड उपनिवेशवादी शक्तिको पराधीनता सहन बाध्य भयो । आफ्नै देशमा चिनियाँ जनता विदेशी शक्तिको अपमानपूर्ण व्यवहार सहन बाध्य बनाइए । राजनीतिक सत्ता हातमा भएको शक्तिले आफ्नो संस्कृतिकै प्रभाव बिस्तार गर्न खोज्नु स्वाभाविक थियो । चीनमा पनि विदेशी शक्तिले आफ्नो आयु लम्ब्याउन चिनियाँ संस्कृतिलाई ओझेल पार्दै आफ्नो संस्कृतिको जग बलियो बनाउन खोजे । तर, देशभक्त चिनियाँ जनताले आफ्नै मौलिकता बोकेको चिनियाँ संस्कृतिलाई विदेशी शक्तिको दमनबिच जोगाइरहे ।
साम्राज्यवादी शक्तिलाई पराजीत गर्दै सन् १९४९ मा नयाँ चीनको स्थापना भयो । एक शताब्दीअघि गुमेको चिनियाँ जनताको सार्वभौमिकता पूर्णरूपमा चिनियाँ जनताको हातमा आयो । त्यसपछि चीन चार मूल सिद्धान्त– समाजवादको बाटो, जनताको प्रजातान्त्रिक शासन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको मार्गनिर्देशनमा आधारित भएर अघि बढ्यो । नयाँ चीनको स्थापना धेरै थरी पुराना संस्कृति मास्दै भएको थियो । तर, चिनियाँ नेतृत्वले पुरानो भन्दै चीनका सबै संस्कृतिलाई मासिहाल्न सक्ने अवस्था भने थिएन र त्यसो गर्नु हुन्थेन पनि । त्यो वामपन्थी उत्ताउलोपन हुने थियो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले यस्ता उत्ताउलोपना सच्याउँदै गयो । जनताको हित गर्दासम्म र प्रगतिको बाटोमा अवरोध नगर्दासम्म पुरानो संस्कृतिलाई निरन्तरता दिने तत्कालीन नेतृत्वको सोचलाई माओ त्सेतुङको ‘पुरानो युगले नयाँ युगको सेवा गर्नुपर्छ’ भन्ने भनाइमा अभिव्यक्त भएको छ । माओको यो भावनालाई आजको चिनियाँ नेतृत्वले पनि अङ्गीकार गरेको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले भनेका छन्, ‘मूल समाजवादी मूल्य मान्यताको सिँचन र प्रसारको लागि परम्परागत चिनियाँ संस्कृतिलाई आधार बनाइनुपर्छ’ (सी, २०१४ः १८१) तथापि, नयाँ चीनको स्थापनापश्चात् चिनियाँ नेतृत्वको मूल लक्ष्य चीनलाई समाजवादी सांस्कृतिक शक्ति बनाउनु रह्यो ।
संस्कृतिको अर्थ मानिससँग भएका विविध भौतिक र अभौतिक पक्ष हुन् जसले मानिसको जीवनलाई सहज, सरस र सम्पूर्ण बनाउन मद्दत गरेको हुन्छ । सभ्यताको विकासक्रममा फरक भूगोल, चेतनास्तर, प्रभाव, जीवन दर्शन, आर्थिक अवस्था आदि विविध कारणले फरक फरक संस्कृतिको निर्माण हुन्छ । संस्कृतिअन्तर्गत मानिसको दैनिकीदेखि नाचगान, लिपि, भाषालगायत जीवनका बृहत् आयाम समावेश हुन्छन् । आजको चीन परम्परागत संस्कृतिको भुइँ नछोडेर नयाँ समाजवादी संस्कृति निर्माण गर्ने बाटोमा अघि बढिरहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनबाट पारित विचार र निर्वाचित नेतृत्वले चीनमा समाजवादी संस्कृति निर्माणलाई अझ गतिवान बनाउन विशेष जोड दिएको छ । महाधिवेशनबाट अघि बढाइएको ‘नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा’ चिनियाँ नेतृत्व र जनताले बनाउन खोजेको समाजवादी संस्कृतिको वैचारिक आधार हो । सी चिनफिङ विचारधारा कुनै निरपेक्ष विचारधारा होइन । बरु माओ त्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो पुस्ताको अनुभवमा आधारित माओ त्सेतुङ विचारधारा, देङ स्याओपिङ नेतृत्वको दोस्रो पुस्ताको अनुभवमा आधारित देङ स्याओपिङ विचारधारा, च्याङ चमिन नेतृत्वको तेस्रो पुस्ताको अनुभवमा आधारित तीन प्रतिनिधित्वको सिद्धान्त र हु चिन्ताओले अघि बढाएको विकासमा वैज्ञानिक दृष्टिकोणको जगमा सी चिनफिङ विचारधारा उभिएको छ ।
सी चिनफिङले चिनियाँ राष्ट्रिय पुनःजागरणलाई आजको चीनको सपना बताएका छन् । अफिम युद्धमा भोग्नुपरेको पराजयपछि गुमाएको चिनियाँ राष्ट्रको तेजलाई पुनः फर्काउने लक्ष्यलाई नै राष्ट्रिय पुनः जागरण भनिएको हो । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय पुनः जागरणलाई आफ्नो लक्ष्य बनाएको थियो । आज चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक शताब्दी बितिसकेको छ र आफ्नो लक्ष्यमा चिकपा क्रमशः नजिक बन्दै गएको छ । चिकपाले आगामी सन् २०४९ भित्र चीनलाई समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिकरूपमा अघि बढेको, पर्यावरणीयरूपमा सुन्दर देश बनाउने लक्ष्य राखेको छ । चिनियाँ राष्ट्रिय पुनःजागरणको निम्ति त्यो लक्ष्त्ेदन महत्वपूर्ण कदम हुनेछ । त्यसको निम्ति चीनले कुनै पनि अवस्थामा समाजवादको बाटोबाट विचलित हुन नहुनेमा चिनियाँ नेतृत्व प्रस्ट छ । समाजवाद भनेको राजनीतिक व्यवस्थामात्र होइन, बरू समाजवाद संस्कृतिको व्यवहारमा कार्यान्वयन समाजवादी अभ्यासको अभिन्न पक्ष हो ।
चिकपाका महासचिव सी चिनफिङले लेखेका छन्, “वसन्तयामको वर्षाजस्तै बिना कुनै आवाज हामीले मूल समाजवादी मूल्य मान्यतालाई सबै खालका सांस्कृतिक प्रारूपको प्रयोग गरी सौम्य र जीवन्त तरिकाले प्रसार गर्नुपर्छ । राम्रा साहित्यिक कृति र कलामार्फत हामीले जनतालाई सूचित गर्नुपर्छ, सत्य के हो, असल के हो र सुन्दर के हो । साथै झूट के हो, खराब र कुरूप के हुन् भन्ने कुरा पनि बुझाउनुपर्छ । के कुराको प्रशंसा हुनुपर्छ र के कुरालाई उत्साहित गर्नुपर्छ र के कुराको विरोध र भत्र्सना गर्नुपर्छ भन्ने कुरा बताउनुपर्छ ।” (सी, २०१४ः १८३) यसको निम्ति चिकपाले आफ्ना कार्यकर्ता र नयाँ पुस्तालाई जनताको सेवा गर्ने भावनाबाट सधैँ अभिप्रेरित रहन, कडा मिहिनेत गर्न, फजुल खर्च नगर्न, नयाँ नयाँ कुराको खोज गरी नयाँ समस्याको सामना गर्न र देशभक्त बन्न आह्वान गरेको छ । चीनको आजको कार्यदिशा भनेको आर्थिक समृद्धिको बाटो भएकोले जनताको जीवनस्तर उकास्न, जनताको जीवनमा हिजोभन्दा सहजता ल्याउन, गरिबी पूर्णरूपमा हटाउन चिकपाले आफ्नो सिङ्गो शक्ति खर्च गरेको छ । त्यसको निम्ति सीले नयाँ पुस्ताका युवा विद्यार्थीलाई क्रान्तिकारी युगका चिनियाँ योद्धाहरूबाट सिकेर नयाँ युगको निम्ति कडा मिहिनेत गर्न र अध्ययन गर्न बताएका छन् । उनले भनेका छन्, “कडा मिहिनेतका साथ अध्ययन नगर्नुपर्ने कुनै कारण छैन ।” (ऐ.ऐ. : १९२)

चिनियाँ संस्कृतिको संवद्र्धन मानव सभ्यतामध्ये सबभन्दा पुरानो र जीवित सभ्यताको संरक्षण गर्नु पनि हो । चीनको आजको नेतृत्वले चिनियाँ संस्कृतिको संवद्र्धन गरेर सिङ्गो मानव जातिप्रति आफ्नो दायित्व निर्वाह गरिरहेको छ । संस्कृति संरक्षणलाई आर्थिक उन्नति र आधुनिकतासँग जोड्दै लानु नै चिनियाँ संस्कृति संवद्र्धनबाट हामीले सिक्न सक्ने पक्ष हो । देशलाई माया गर्ने र जनतालाई नै इतिहासको मुली सोच्ने राजनीतिक नेतृत्व भए कुनै पनि देशको सांस्कृतिक विविधताको संरक्षण र संवद्र्धन सम्भव हुन्छ । चीन यसको उदाहरण हो ।

समाजवादी संस्कृतिको मूल सार नै जनताको सेवा गर्नु हो । चिकपाले आफ्नो सिंगो कार्यकर्ता पङ्क्तिलाई जनतासँग रहन, जनताको अहोरात्र सेवा गर्न र जनताको जीवनस्तर उकास्नमा मद्दत गर्न परिचालन गरेको छ । नेता र कार्यकर्ता पङ्क्तिको आचरण र व्यवहारमा आएका सांस्कृतिक समस्या समाधान गर्न चिनियाँ नेतृत्व कडामात्र बनेको छैन, बरू समाधानको निम्ति मूर्त कदमसहित अघि बढेको छ । शक्तिशाली देशको रूपमा चीनको उदयसँग उसका सामु आइपर्ने चुनौती सामना गर्न चीनको आजको नेतृत्वसँग पार्टी कार्यकर्ताको सांस्कृतिक स्तर र अनुशासनलाई बल दिनुको विकल्प पनि छैन ।
चीनमा ५६ वटा विभिन्न जातजातिका मानिस बसोबास गर्छन् । युनान, सिन्च्याङ, तिब्बत जस्ता प्रान्तमा धेरै थरी जातजातिका मानिस बस्छन् । सी चिनफिङले आफ्ना धेरै महत्वपूर्ण भाषणमा सबै जातजातिको आर्थिक अवस्था र जीवनस्तर उकास्नमा जोड दिँदै आएका छन् । यसको निम्ति चीनमा सबै जातजातिबिच एकता र सद्भाव आवश्यक भएको उनको भनाइ हो । सीले चीनमा विभिन्न जातजातिका जनताको एकतालाई प्रतीकात्मकरूपमा अनारको संज्ञा दिएका छन् । अनारका दाना जसरी मिलेर बसेका हुन्छन् र सिङ्गो अनारको स्वरूप बनेको हुन्छ, त्यसरी नै विभिन्न जातजातिका चिनियाँहरू अनारजस्तै मिलेर चीनको सिङ्गो स्वरूप बनेको सीको भनाइ हो ।
फरकफरक जातजाति हुनुको अर्थ फरक फरक संस्कृति हुनु हो । जातजातिको भण्डार घर भनिने युनानका विभिन्न जातजातिको संस्कृतिको संवद्र्धन गर्न केन्द्रीय र स्थानीय सरकारले जोड दिँदा आज अल्पसङ्ख्यक जातिका मानिस पनि आफ्नो मौलिक संस्कृतिको संवद्र्धन गर्दै त्यसलाई आफ्नो आर्थिक स्तर उकास्ने औजारको रूपमा प्रयोग गरिरहेका छन् । चीनको उत्तर पश्चिम सिन्च्याङ क्षेत्र सांस्कृतिक विविधताले भरिपूर्ण अर्को क्षेत्र हो । त्यहाँ विभिन्न जातजाति र धर्म संस्कृतिका मानिसको निकै अघिदेखि बसोबास छ । आज चीन सरकारले त्यहाँका जनताको मौलिक संस्कृति र विविधताको संरक्षण गर्दै तिनलाई आर्थिक उन्नतिको मूलधारमा ल्याउने अभियानलाई जोड दिएको छ । त्यहाँका जनतालाई गरिबीको दलदलबाट उकास्न उनीहरूसँग भएका सांस्कृतिक विशेषताको प्रबद्र्धनको प्रयास भएका छन् । विकास र समृद्धिको प्रकाश सर्वत्र बिस्तार गर्ने चीनको प्रयासलाई केही पश्चिमा देशहरूले भ्रम र झूटको प्रचार गरेर बद्ख्वाइँ गर्न खोजेका छन् । तर, त्यस्ता पूर्वाग्रह र झूट छ्यास्दै चीन नयाँ संस्कृतिको उन्नयनको निम्ति अथक अघि बढिरहेको छ । विविध जातजातिको अर्को थलो तिब्बत पनि हो । तिब्बतका जनता एकातिर आफ्नो पुरानो परम्परा र संस्कृति प्रबद्र्धनमा लागेका छन् भने अर्कोतिर पूर्वाधार विकाससँगै उजागर भएका आर्थिक उन्नतिका सम्भावनाको मौका छोप्न पनि तल्लीन भएर लागेका छन् । पर्यटन उद्योगको विकासमार्फत हिजो छायामा परेका मौलिक संस्कृतिका धनी चिनियाँ अल्पसङ्ख्यक जनता आज चिनियाँ आर्थिक समृद्धि र विकासमा हिस्सेदारी बाँड्दै छन् । हान जातिको बहुमत भए पनि चीनको राष्ट्रिय र स्थानीय नेतृत्वसम्म विभिन्न जातजातिका मानिसको भूमिका सुनिश्चित गरिएको छ ।
विश्वभर चीनको प्रभाव बिस्तारसँगै चीनको संस्कृति पनि संसारभर पुगेको छ । रमाइलो कुरा त संसारभर आज चिनियाँ संस्कृतिलाई सहज स्वीकारिएको छ । चिनियाँ भाषा आज संसारभर क्रमशः प्रयोगमा आउँदै छ । नेपालमै पनि दशकअघि चिनियाँ भाषा बोल्ने मानिस भेटाउन मुस्किल थियो । आज चिनियाँ भाषा सहजै बोल्ने नयाँ पुस्ताको सङ्ख्या क्रमशः बढिरहेको छ । चिनियाँ नयाँ वर्ष (वसन्त पर्व)लाई संसारका प्रमुख सहरमा मनाउन थालिएको छ । चिनियाँ सुलेखन (क्यालिग्राफी)को लोकप्रियता बढ्दो छ । चिनियाँ संस्कृतिकै अभिन्न अङ्ग मानिएका माटोका भाँडा, मौलिक खालका चित्रकारिता, चिनियाँ साहित्य, चिनियाँ रेशम, मौलिक पेयपदार्थ, चिनियाँ परम्परागत औषधि पनि चिनियाँ सीमा नाघेर संसारभर पुग्नु चिनियाँ संस्कृतिको अन्तर्राष्ट्रियकरणको उदाहरण हो । चिनियाँ परिकार आज संसारका प्रमुख सहरका ठुलठुला चमेनागृह र होटलका विशेषता बनेका छन् । पुराना परम्परागत संस्कृतिमात्र होइन, चिनियाँ मोबाइल एपजस्तै टिकटक, विच्याट आदि संसारभर लोकप्रिय बन्दै गएको छ ।
चीनले अत्याधुनिक प्रविधिको विकासमा उचाइ हासिल गर्दै गए पनि आफ्नो जग भने उसले कदापि भुलेको छैन । भुइँ छोड्ने कोही पनि एउटा उचाइमा पुगेपछि पतनको बाटोमा जान्छ । चिनियाँ नेतृत्वलाई यो कुराको बोध भएकोले चिनियाँ विशेषतालाई उसले कदापि छोडेको छैन । बरू आफूसँग भएका मौलिक कुराको प्रबद्र्धन र त्यसबाट आर्थिक उन्नतिको खोज गरिएको छ । चीनले पश्चिमा समाजमा प्रतिपादन भएको माक्र्सवादजस्तो दर्शनलाई अङ्गीकार गरेको छ । तर, चीनले कन्फुसियसजस्ता चिनियाँ दार्शनिकलाई पनि भुलेको छैन । बरू चिनियाँ माटोमा हुर्केका दर्शन र चिन्तनको पनि गम्भीर अध्ययनलाई जोड दिइएको छ ।
चिनियाँ संस्कृतिको संवद्र्धन मानव सभ्यतामध्ये सबभन्दा पुरानो र जीवित सभ्यताको संरक्षण गर्नु पनि हो । चीनको आजको नेतृत्वले चिनियाँ संस्कृतिको संवद्र्धन गरेर सिङ्गो मानव जातिप्रति आफ्नो दायित्व निर्वाह गरिरहेको छ । संस्कृति संरक्षणलाई आर्थिक उन्नति र आधुनिकतासँग जोड्दै लानु नै चिनियाँ संस्कृति संवद्र्धनबाट हामीले सिक्न सक्ने पक्ष हो । देशलाई माया गर्ने र जनतालाई नै इतिहासको मुली सोच्ने राजनीतिक नेतृत्व भए कुनै पनि देशको सांस्कृतिक विविधताको संरक्षण र संवद्र्धन सम्भव हुन्छ । चीन यसको उदाहरण हो ।
सन्दर्भ सामग्री
मल्ल, शिवराज श्रेष्ठ (२०७७), मानव यात्रा सृष्टिदेखि आर्यहरूको प्रथम संस्कृतिसम्म, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान
सी, चिनफिङ (२०१४), चीनको शासन, पेइचिङः विदेशी भाषा प्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *