भर्खरै :

राजनीतिक प्रणाली राम्रो नभएसम्म भ्रष्टाचार अन्त्य नहुने

राजनीतिक प्रणाली या व्यवस्था राम्रो भएको देशमा विकास चाँडै हुन्छ, विकास जनताको घर आँगनमा पुग्छ र भ्रष्टाचार पनि तुलनात्मकरूपमा निकै कम हुन्छ । यो हरेक देशमा लागु हुन्छ, भइरहेको छ । देशको राजनीतिक व्यवस्था राम्रो भएको देशमा सरकारप्रति जनताको विश्वास हुन्छ, साथ र सहयोग पनि त्यतिकै हुन्छ । त्यस्तो देशमा सरकार, सत्तासीन दलमात्र होइन जनता पनि भ्रष्टाचारको विरोधमा लागेका हुन्छन्, भ्रष्टाचारविरोधी अभियानमा लागेका हुन्छन् । तर, यस्तो व्यवस्था नेपालमा छैन । यसकारण, नेपालमा भ्रष्टाचार बढ्दो छ । सिंहदरबारमा हुने भ्रष्टाचार गाउँ–गाउँमा पुगेको छ । भ्रष्टाचार गर्न र गराउन सत्तासीन दलका नेताहरू नै लागिरहेका हुन्छन्, भ्रष्टाचारीहरूको संरक्षण गरिरहेका हुन्छन्, भ्रष्टाचारीहरू नै सत्तासीन दलका नेताहरूको वरिपरि घुमिरहेका हुन्छन् ।
नेपालको हालको बन्दोबस्त पुँजीवादी बन्दोबस्त भएको हुँदा भ्रष्टाचारीहरू खासै कारबाहीमा पर्दैनन् । कारबाहीमा परे दलले दबाब दिएर मुक्त गराउन खोजेको हुन्छ । भ्रष्टाचारीको प्रकरणमा कारबाहीमा परेका भ्रष्टाचारीहरूलाई दलका नेताहरू स्वागत गर्छन् । सत्तासीन दलका नेताहरू आफैँ कमिसन, अनियमतिता र भ्रष्टाचारमा मुछिएको हुँदा तिनीहरू मुखले भ्रष्टाचारको विरोध त गर्छन् तर भ्रष्टाचार नियन्त्रण गर्न र कारबाही गर्न पहल गर्दैनन् । अहिलेसम्म कुनै पनि सरकारले भ्रष्टाचारविरोधी अभियान छेडेको छैन । किनकि, ती दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू राजनीति र जनताको सेवाको नाउँमा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउँछन् या कमिसन र अनियमतितामा पल्केर आयआर्जन गर्छन् ।
सत्तासीन दलका नेताहरू दिलैदेखि भ्रष्टाचार अन्त्य गर्न लागेका भए देशमा भइरहेको भ्रष्टाचारलाई धेरै हदसम्म नियन्त्रण गर्न नसकिने होइन । यसरी नलागेको कारण भ्रष्टाचारको जग गहिरोमा पुगेको हो, भ्रष्टाचारले व्यापकता पाएको हो । देशका शासकहरूले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भनी फुके पनि भ्रष्टाचार घटेको छैन । कुनै शासक या नेताले फुकेर भ्रष्टाचार अन्त्य या शून्य हुने होइन । भ्रष्टाचारविरोधी अभियान छेड्नुपर्छ, भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुपर्छ । अहिले त झन् प्रजातान्त्रिक अधिकारसँगै खुलमखुला भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचारीहरूमाथि दलले कारबाहीको सट्टा पार्टीमा संरक्षण गरेपछि, हुल्याएपछि भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ ? कसरी शून्य हुन्छ ? राजनीतिक नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूमा राजनीतिक संस्कार नभएसम्म देशलाई शोषणरहित समाज स्थापना गर्नतर्फ नलागेसम्म देश भ्रष्टाचारमुक्त हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *