भर्खरै :

सोमालिया पठाउने मानवीय सहायताको रोकिन सक्ने

मोगादिसु, ९ साउन (सिन्ह्वा) : सहायता संस्थाहरूले सोमालियाका लागि पठाउँदै आएको मानवीय सहायता रोकिन सक्ने बताएका छन् । आर्थिक सहायताको अभावका कारण सो सहयोग रोकिन सक्ने अवस्था आएको ती सहायता संस्थाहरूले जानकारी दिएका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले पनि आइतबार सो कुराको जानकारी गराएको छ । आवश्यक सहयोगको अभावमा ती सामग्री रोकिन लागेको संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले जानकारी दिएको छ । आर्थिक कोषको अभावमा खासगरी अहिले सोमालिया पठाइँदै आइएका खाद्यान्न, आवश्यक औषधिजन्य सामग्रीहरूका साथै बालबालिकाका लागि वितरण गर्दै आएको पोषणसम्बन्धी कार्यक्रमका वस्तुहरू पनि रोकिनसक्ने सो संस्थाले जनाएको हो ।
सोमालियामा आन्तरिक द्वन्द्व र व्यापक मात्रामा परेको खडेरीका कारण यहाँका नागरिकलाई पोषणयुक्त खाद्यान्न तथा आवश्यक औषधिसमेत संयुक्त राष्ट्रसङ्घीय एजेन्सीको समन्वयमा विभिन्न दाताहरूले आपूर्ति गर्दै आएका छन् ।
सोमालियाका ७७ लाख नागरिक गएको कम्तीमा एक दशकदेखि खाद्यान्न अभावको समस्यामा परेका थिए । यस सहायताबाट उनीहरूलाई ठूलो राहत मिलेको बताइएको थियो ।
यहाँ परेको खडेरीले ठूलो सङ्ख्याका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको छ । खडेरीका कारण पानीको समस्या भोग्न उनीहरू बाध्य छन् । एक रिपोर्ट अनुसार यहाँका नौ लाख भन्दा बढी नागरिक त पानीको अभावका कारण पानी खोज्ने क्रममा आन्तरिकरूपमा विस्थापित भएर अन्यत्रै सरेका बताइएको छ ।

Leave a Reply

Your email address will not be published.