भर्खरै :

नगर प्रमुख प्रजापति र लेटाङ नपाका प्रमुख भूपेन्द्रकुमार लावतीबिच भेटघाट

भक्तपुर, १० साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मोरङ जिल्लाको लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले मङ्गलबार भेटघाट गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएको उक्त टोलीलाई स्वागत गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा गरिरहेको गतिविधिहरूबारे जानकारी गराउनुभयो ।
भक्तपुर नपाले समाजवादी देशहरूबाट सिक्दै काम गरिरहेको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा अरू नपाले भन्दा पृथक ढङ्गले नगरवासीहरूको सेवा गर्ने कोसिस गरिरहेको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप सर्कलका शैक्षिक संस्थाहरू देशकै उत्कृष्ट कलेजको रूपमा स्थापित हुनु सबैको लागि गौरवको विषय भएको बताउँदै उहाँले विकास निर्माणमा भक्तपुर नपाले उपभोक्ता मोडललाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषालगायतका विषयमा विद्यार्थीहरूको आकर्षण घट्दै गइरहेको सन्दर्भमा भक्तपुर नपाले यी विषयहरूमा उच्च शिक्षा हासिल गर्न पी. एच. डी. सम्मका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको र भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले वार्षिक ६ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ भन्नुभयो ।
भेटमा नगर प्रमुख लावतीले लेटाङ नपाले आफ्ना नगरवासीहरूलाई मातृभाषामै सेवा प्रदान गरिरहेको बताउँदै लेटाङ पर्यटनको सम्भावना बोकेको ठाउँ भएको हुँदा भक्तपुर नपासँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताउनुभयो । भौगोलिक विषमता यस नपाको मुख्य विशेषता रहेको बताउँदै उहाँले यस नगरपालिका पर्यटकीय सम्भावना धेरै भएको बताउनुभयो ।
उहाँले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको काम अन्य स्थानीय तहको लागि उदाहरणीय भएको बताउँदै भक्तपुर नपाबाट लेटाङले पनि सिक्न चाहेको बताउनुभयो ।
भेटमा उपस्थित सङ्घीय सांसद घनश्याम खतिवडाले भक्तपुर र लेटाङबिच भावनात्मक सम्बन्ध रहेको बताउँदै भक्तपुरसँग भगिनी सम्बन्ध कायम गर्न उत्सुक भएको बताउनुभयो । उहाँले संसद्मा विचाराधीन ख्वप विश्वविद्यालय विधेयक पारित गर्न छिटोभन्दा छिटो पहल गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरे देशकै लागि नमुना कार्य हुने बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवाल, बित्त आयोगका सदस्य विपिन निरौला, लेटाङ २ वडाका वडाध्यक्ष तेजप्रसाद तिमिल्सिना र लेटाङका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलगायतको उपस्थिति थियो ।
लेटाङ नपाका जनप्रतिनिधिहरूले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालहरूको स्थलगत अवलोकन गर्नुभएको थियो । नगर प्रमुख प्रजापतिले प्रमुख लावतीलाई मयुरको झ्याल र नपाका प्रकाशनहरू मायाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *