भर्खरै :

देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान गएन

देशलाई आत्मनिर्भर बनाउनेतर्फ सत्तासीन दलका नेताहरूले कहिल्यै ध्यान दिएनन् । जनताका लागि आवश्यक आधारभूत सामग्रीहरू उत्पादन गर्न कहाँ कहाँ कुन कुन उद्योग तथा कलकारखानाहरू स्थापना गर्न सकिन्छ भन्नेतर्फ न सरकारले खोजीनीति ग¥यो न त पूर्वाधार नै तयार ग¥यो । उल्टो भएका उद्योग र कलकारखानाहरू निजीकरणका नाममा कौडीको मोलमा बेचिए । हाम्रोजस्तो गरिब देश भन्नेबित्तिकै आत्मनिर्भर बन्दैन । तर, पाइला पाइला गरेर आत्मनिर्भर बनाउनेतर्फ खोजीनीति गरी पूर्वाधारहरू तयार गर्दै जानुपर्ने हो । सरकारको ध्यान सरकारको आयु टिकाउन र दलका नेताहरूसँग भागबन्डा मिलाउनेतर्फ गइरह्यो । सरकार टिकाउन र सरकारको नेतृत्व गरिरहनका लागि कुन दलसँग चुनावी एकता या गठबन्धन गर्दा आफूलाई बढी सीट मिल्छ त्यो दलसँग एकत्रित गर्ने दाउ गठबन्धन दलका नेताहरूको रहेको छ ।
नेपाल पहाडी भू–भागले भरिएको देश भएपनि कृषि कार्यको लागि अत्यन्तै उपयुक्त भूमि पनि छन् । नेपाली भूमि अधिकतम उपयोग भए धान, गहुँ, मकै, कोदो, आलु, लसुन, प्याज, अदुवा, चिनी, मासु, काउली, बन्दा, काँक्रो, फर्सी, केरा, स्याउ, सुन्तला, चिया, अण्डा, ढुङ्गा, गिटी, बालुवा इँटा आदिमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । त्यस्तै सिमेन्ट, दण्डी, कागज र बिजुलीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । यी खेती र उद्योगको लागि आवश्यक स्रोत र साधन राज्यले जुटाउनुपर्छ । तर, नेपालमा समयमा मल उपलब्ध हुँदैन । कति खेती बाँझो हुन्छ । खाद्यान्न बेचबिखनको लागि बेच्ने थलो या बजारको विकास भइरहेको छैन । बजार पु¥याउन यातायातको बन्दोबस्त हुँदैन । शीत भण्डार हुँदैन । आवश्यक बीउबिजन, सिँचाइ, मल, कृषि–औजार, कच्चापदार्थ, स्थानीय स्रोत र साधन आदि व्यवस्था भएमा जनताका आधारभूत आवश्यकता पूर्ति गर्न सकिन्छ । तिहारको लागि चाहिने फूल, आँप, सुन्तला, केरा, अनार, स्याउ, खाद्यान्न, लत्ताकपडा, बिजुलीका सामान, निर्माण सामग्री आदि विदेशबाट ल्याउने भएपछि नेपाल र नेपालीको विश्वास कसरी प्राप्त हुन्छ र विकास कसरी हुन्छ ?
कमिसन खान, भ्रष्टाचार र अनियमितता गर्न विकास भयो या बानी बस्यो । नेताहरू सरकारमा जान र मन्त्री बन्न तँछाडमछाड गर्न अघि सरे । विदेशमा युवा पठाउने र रेमिट्यान्सबाट देशको आयस्रोत बढाउनेतर्फ सरकारको ध्यान गयो । स्वदेशमै उद्योग तथा कलकारखाना खोल्नुभन्दा विदेशबाट सामान आयात गर्नेतर्फ सरकारहरू लागे । यसकारण नेपाल परनिर्भर बनिरह्यो ।
ठुला दलहरू सत्तामा पुगे । उनीहरूले सरकारको पटक–पटक नेतृत्व पनि गरे । तर, देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारको पटक्कै ध्यान गएन । सरकारको नेतृत्व गर्ने दलका नेताहरू दूरदर्शी भएनन्, देश र जनताप्रति जिम्मेवार भएनन् । तिनीहरू इमानदार भएनन् । देशको विकास गरेर समग्र जनताको जीवन सुनिश्चित गर्नुभन्दा दलगत र व्यक्तिगत स्वार्थमा लागे । नेताहरू सत्ताको खेलमा घुमिरहे, नाचिरहे । उनीहरू विदेशी उठबसमा लागे । स्वदेशको भन्दा विदेशको स्वार्थ पूरा गर्न अघि सरे । यसकारण, देश आत्मनिर्भर भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *