भर्खरै :

नवदुर्गामा खँम्ये (राँगो) भित्याइयो

भक्तपुर, १२ साउन । विजया दशमीको क्रममा नवमीको दिन बलि दिन प्रत्येक वर्ष झैँ यस वर्ष पनि खँम्ये
(राँगो) नवदुर्गा भवानी मन्दिरमा भित्याइएको छ । उक्त खँम्ये भक्तपुर नगरपालिका वडा नं. १० बस्ने पद्मकुमार गणेश (श्रेष्ठ) ले राख्नुभएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाले जनाएको छ ।
संस्थाबाट प्राप्त जानकारीअनुसार उक्त राँगोको मूल्य रु. १,१०,५००।
(एक लाख दस हजार पाँच सय) परेको छ । उक्त राँगो झौखेलबाट किनी ल्याइएको थियो । पद्मकुमार गणेशले चार वर्षअघि नै राँगो राख्ने इच्छा राख्नुभएको थियो ।
नवदुर्गा द्योछेँभित्र राँगो भित्याउन यस वर्षको नकीं शिवलक्ष्मी वनमालाले पूजा गरी भित्याउनुभएको थियो । सोको लागि आवश्यक सामानको व्यवस्थापन नाइकेहरू इन्द्रबहादुर र अमरकृष्ण वनमालाले गर्नुभएको थियो ।
राँगोको लागि हेरविचार गर्ने अर्थात् तेल लगाउने, पानी खुवाउनेलगायतको काम नकीँले गर्नुपर्ने व्यवस्था छ । घाँस ल्याउने काममा देगवणहरूको आलोपालो गर्ने व्यवस्था मिलाइएको छ ।
राँगो बाँध्ने काम साही परिवारका सदस्यले गर्नुपर्ने मान्यता छ । यस वर्ष काजिलाल साहीका पुत्र कान्छा साहीले राँगो बाँध्नुभएको थियो ।
संस्थाका सचिव इन्द्रबहादुर वनमाला र नाइके अमरकृष्ण वनमालाका अनुसार बलिदिन ल्याइएको राँगोको टाउकोमा चक्र भएको, खुट्टा लुलो लङ्गडो नभएको, सिङ्ग अगाडि र पछाडि नफर्केको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *