भर्खरै :

नेक्राकिसङ्घको ५५ औँ स्थापना दिवसमा प्रवचन

भक्तपुर, १३ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेपाल क्रान्तिकारी किसान सङ्घको ५५ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईँले अग्रजहरूको सङ्घर्षशील भावना, त्याग, इमानदारिताले नै नयाँ पुस्ताले सिकेर अगाडि बढ्ने प्रोत्साहन मिलेको बिताउनुभयो ।
विगतका घटनाक्रमहरू लिपिबद्ध गरेर नयाँ पुस्तालाई सचेत पार्ने, अध्ययन र प्रकाशनलाई विकास गर्ने उद्देश्यले पार्टी प्रकाशनहरू गरिरहेको उल्लेख गर्दै उहाँले हाम्रो वर्गसङ्घर्ष हिजो शोषक, सामन्त वर्गको बिचमा भएको थियो भने आज पुँजीवादविरुद्ध भइरहेको बताउनुभयो । सही र सक्षम नेतृत्वकै कारण हामीले कसैको अगाडि झुक्नु नपरेको चर्चा गर्दै उहाँले शासक दलका नेताहरू विदेशीहरूसामु झुकी सिद्धान्तअनुसार काम नगरेकै कारण लोभलालचमा फसिरहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
उहाँले शासकहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नुनको सोझो गरेर देश र जनताको हितविपरीत देशघाती सन्धिसम्झौता गर्दै विदेशी दलाल भएर काम गरिरहेकोले जनताले तिनीहरूलाई कहिल्यै माफ गर्ने छैनन् भन्नुभयो । देशघाती सन्धि सम्झौता, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गरिरहेको स्पष्ट पार्दै उहाँले नेमकिपा देशी र विदेशी कामदार वर्गको पक्षमा लड्दै छ, वर्गसङ्घर्षविना मुक्ति सम्भव छैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् भक्तपुर जिल्लाका अध्यक्ष गोविन्द दुवालले अग्रजहरूले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी बहुमत कामदार वर्गको हितमा लागिरहेको विचार व्यक्त गर्दै उहाँले आज हामी पुँजीवादविरुद्ध मात्र होइन देश र जनताको हितविपरीत भए गरेका असमान सन्धिसम्झौताविरुद्ध सदनदेखि सडकसम्म आवाज उठाउँदै आइरहेको छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य लक्ष्मीभक्त लासिवाले हरेक समस्याको उपाय सङ्घर्ष नै हो, अग्रजहरूको सङ्घर्षले नै किसानहरूको अधिकार पाउन सकेको हो भन्नुभयो । वर्तमान गठबन्धन सरकार विदेशीहरूको इच्छा आकाङ्क्षा पूरा गर्न लागेर आफ्नै खुट्टामा बन्चरोले हानिरहेको छ, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वोको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका कृषि समितिका संयोजक राजकृष्ण गोरा, नेक्राकिसङ्घ नगर समितिका सदस्यद्वय पूर्णगोपाल राजचल र कृष्णगोपाल चौगुठीले आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.