भर्खरै :

भूगोलको आधारमा प्रदेश नामकरण उचित

प्रदेश सभाको पाँचवर्षे कार्यकाल सकिन लागेको छ । तर पनि अहिलेसम्म प्रदेश नम्बर १ को नामकरण भएको छैन । यो प्रदेश सरकारको कमजोरी हो । कुनै जनजाति र भाषाभाषीको आधारमा होइन, भूगोल, स्रोत र साधनको आधारमा प्रदेशको नामकरण हुँदा कसैलाई मर्का पर्दैन, विरोध पनि हुँदैन । आफूले भनेको प्रदेश नामकरण नहुँदा भएको विरोध अर्काे पाटो हो । प्रदेशको नामकरणको कारण जातजाति र भाषाभाषाबिच असर पर्ने, विवाद हुने र झैझगडा गर्ने खालको नामकरण न्यायोचित हुँदैन । कुनै जनजाति र भाषाभाषीको नाउँमा प्रदेशको नामकरण गर्दैमा त्यो जनजातिको अस्तित्व, पहिचान, संस्कृति र सभ्यता हुने भन्ने कुरा होइन । आ–आफ्नो ठाउँको पहिचान संस्कृति र सभ्यता अहिले पनि जीवन्त छ । जातीय आधारमा प्रदेशको नाउँ राख्दा विवाद बढ्छ । अहिले कसैले किरात प्रदेश त कसैले लिम्बुवान–किरात प्रदेश नाउँ राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् । कसैले जातिको आधारमा प्रदेशको नाम राख्नुहुँदैन भन्नुको अर्थ त्यो जातिको विरोध गरेको होइन ।
बाग्मती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशको नामकरण ठिक्कै हो । यी प्रदेशहरूको नाउँको विरोध गर्नुपर्ने ठाउँ छैन । नेमकिपाले पनि त्यस्तै प्रदेशहरूको नामकरण हुनुपर्ने माग गरेको हो । समाचार स्रोतअनुसार प्रदेश नम्बर १ को नामकरणमा दलहरूको आ–आफ्नो अडान यथावत छ । कुनै दलका सांसदले जातिको आधारमा प्रदेशको नामकरण गर्न नहुने र कुनै दलका सांसदले जातिको आधारमा गर्नुपर्ने विचार व्यक्त गरे । दलहरूबिच सहमति नभएको कारण प्रदेशको नामकरण नभएको प्रदेश मन्त्रीहरूको भनाइ रहेको छ । प्रदेशको नामकरण प्रस्तावमा किरात कोसी र किरात सगरमाथाको नाउँ पनि आएको छ । यसरी किरात, लिम्बुवान या अन्य जनजातिको भन्दा कोसी या सगरमाथा नाउँ राखे पनि फरक पर्दैन । ‘सगरमाथा’ संसारमै नाउँ चलेको हिमालको नाउँ हो । कोसी देशकै ठुलो नदीको नाम हो ।
सङ्ख्यामा रहेका जनजातिको पहिचान हुने अनि अल्पमतमा परेका जनजातिको पहिचान नहुने भन्ने कुरा कसरी सही हुन्छ ? के अल्पमतमा परेका जनजातिको पहिचान हुँदैन ? सबै जनजाति, भाषाभाषीलाई ठाउँ दिनुपर्छ, समान व्यवहार गर्नुपर्छ पनि भन्ने अनि बहुपहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भनी दबाब दिइरहनु के सही हो ? के यो द्वैधचरित्र भएन ? जनजातिको आधारमा प्रदेशको नामकरण गर्दा जातजातिबिच हिंसात्मक गतिविधि हुने सम्भावना हुन्छ । एउटा जनजातिलाई प्राथमिकता दिएर अर्काेलाई नदिँदा आफू आफू झगडा हुन्छ । अनि यसले कसरी शान्ति मिल्छ ? के प्रदेशको नामकै विषयमा जहिल्यै झगडा गरिरहने ? के झगडामा अल्झेर विकास हुन्छ ? प्रदेश नम्बर १ मा सहभागी हुने दलका नेता र सांसदहरूले यो सोच्नुपर्ने विषय हो । दलका नेताहरू सङ्कीर्ण विचारबाट माथि उठ्नुपर्छ । अत : जातीय प्रदेश होइन भूगोलको आधारमा प्रदेशको नामकरण गर्नु बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *