भर्खरै :

कथात्मक शैलीमा वास्तविक भोगाइ ‘यार’

अहिलेको नेपाली आख्यानमा मनपराइएका लेखकमा पर्छन् नयनराज पाण्डे । विशेषरूपमा तराईका भुइँमान्छेहरूको कथा लेख्छ्न् उनी । ‘यार’ लेखक नयनराज पाण्डेको गैरआख्यान पुस्तक हो । पढ्दा कथाजस्तै लागे पनि यो उनको आत्मसंस्मरण हो । आत्मसंस्मरणमा लेख्दा इमानदारीपूर्वक लेखिनुपर्छ भनिन्छ । उनले यो पालना गरेको देखिन्छ ।
उनको यस संस्मरणमा पात्रहरूको सपाट बयान नभई नाटकीय ढङ्गमा लेखिएको छ । जसले पाठकहरूलाई ‘यार’ पढ्दा कथाजस्तै रुचिकर लाग्ने गर्छ । तर, कथात्मक शैली भए पनि यो भने उनको जीवनको वास्तविक भोगाइ हो ।
एउटा मानिसको जीवनमा धेरै साथी बन्छन् । कति साथीहरू जीन्दगीको बाटोमा सँगसँगै हिँड्छन् भने कति हिँड्दा हिँड्दै बाटोमा छुटिने गर्छन् । ती बाटोमा छुटिने र अर्को बाटो लाग्ने साथीहरूको सम्झनारूपी पुस्तक हो, ‘यार’ ।
‘यार’ बाल्यकालदेखिको २५ थान संस्मरणको सँगालो हो । उनले यो पुस्तक बाल्यक्रम देखिका स–साना घटनालाई आधार मानेर लेखेका छन् ।
उक्त पुस्तक साथीहरूको बारेमा भन्नासाथ हामी सोच्छौँ कि जब मानिसले आफूलाई बुझ्ने हुन्छ, त्यसपछिका घटनाहरूलाई समेटेर लेखिएको पुस्तक हुनुपर्छ । तर, यस कुरामा भने लेखकले हामीलाई अचम्मित पार्छन् । उनले पुस्तकको यात्रा नै बालापनको साथीबाट हुन्छ । जसले पाठकहरूलाई बालापनको स्मृति ताजा गराउन उनी सफल भएका छन् । औँला चुस्ने साथीदेखि समाजको अर्को पाटो नेपाल र भारतको बोर्डर र चेकपोस्टका प्रहरी अनि भन्सारका कर्मचारीहरूले गर्ने व्यवहार उनले पुस्तकमा उजागर गरेका छन् ।
उनले पुस्तकमा राखेका पात्रहरू पहिल्यै लु, उलार, घामकिरीजस्ता उपन्यासमा लेखिसकेको कुरा उल्लेख गरेका छन् । जसबाट पाठकलाई ती पुस्तक पहिले नपढेको पछुताउने तथा ती पुस्तकहरू पनि पढ्न इच्छा जागृत गर्न सफल भएका छन् ।
पढ्दै जाँदा कुनै घटना भने बुझ्न गा¥हो भएको भान हुन्छ तर लेखकले पाठकको ध्यान केन्द्रित गर्न उक्त घटनाको प्रस्ट कुरा भनी उल्लेख गरेर रोचक ढङ्गमा घटना प्रस्तुत गरेका छन् ।
मानिसहरू जीवनमा कुनै सम्बन्ध गोप्य राख्न चाहन्छन्, तर ती सम्बन्धका कुराहरूलाई पनि लेखकले सार्वजनिक गरेका छन् । सफलताले मान्छेको मनमा कतिसम्म दम्भ उत्पन्न गराउँछ र ती दम्भले मान्छेको विवेकलाई अँध्यारो पारेको कुरा पनि हामीले ‘यार’ बाट बुझ्न सक्छौँ ।
‘यार’ मा प्रेम गर्नु जघन्य अपराधजस्तै मानिने युगको कथा पनि समेटेका छन् । जुन पढ्दा कुनै फिल्मी कथाजस्तै लाग्ने गर्छ । जीवन सहज किसिमले चलायमान बनाउनका लागि सम्बन्धहरू आवश्यक हुने शिक्षा हामीले ‘यार’ मार्फत पाउँछौँ । सम्बन्ध बनाउनु ठुलो कुरा नभई, सम्बन्धलाई निरन्तरता दिन र जीवन्त बनाइराख्नु ठुलो कुरा हो ।
‘यार’ मा लेखकले शब्दहरूलाई यसरी उनेका छन् कि हामीलाई उनको आख्यान पढेको हो या संस्मरण छुट्याउन मुस्किल पर्छ । कतै छन्द मिलेका कविताहरूले आख्यानतर्फ डो¥याउँछ । कतै साथी साथीबिच हुने गरेको असमझदारी र साथीसँग गरेको गलत व्यवहार वा गल्तीप्रति लेखकले क्षमायाचना पनि गरेका छन् ।
हाम्रो समाजले तेस्रोलिङ्गीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूले भोगेको कथा पनि ‘यार’ मा रहेको छ । समाजले उनीहरूको कुरा नबुझ्दििँदा लेखकको आफ्नै साथीले पनि आत्महत्या गर्नुपरेको संस्मरण मार्मिक रहेको छ ।
कुनै समयमा वा कहिलेकाहीँ अन्जानबस गरेको सानो गल्तीलाई पनि अर्को साथीले धोका सम्झेर बदला लिन समय पर्खिबसेको हुन्छ । यस्ता तीता पलहरूको उल्लेख पनि गरेका छन् लेखकले ‘यार’ मा ।
साथीको बिहे भइसकेपछि घरिघरि साथीको घरमा जाँदा साथीको श्रीमतीसँग लाग्यो भन्ने शङ्का गरेको कुरा पनि लेखकले रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।
त्यसैगरी, २०४६ सालको जनआन्दोलनमा आफूले गरेको योगदान र सहभागिताबारे पनि लेखकले पुस्तकमा खुलाएका छन् ।
कुनै समय निकै आत्मीय साथी, समय र परिस्थितिले सम्बन्ध बिग्रिएको हामीले देखेका छौँ । ती जीवनमा सृजना भएका परिस्थितिहरूको स्मरण हो ‘यार’ । मित्रता बन्नेमात्र गर्दैन, टुट्ने पनि गर्छ र यही जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरूलाई स्मृतिको गहिराइबाट नियालेर लेखेका हुन् नयराज पाण्डेले ‘यार’ । सबै बाल्यकालका चकचके चर्तिकला र जवानीको जोशका घटनाहरूमात्र नभई जीवनले खुवाएका हन्डर, ठक्कर र भएका गल्तीले साथी सम्बन्धमा पारेको असर र सिकाएको शिक्षाको कहानी हो ‘यार’ । यो पुस्तकमा आफ्नै उमेरका मात्र साथी नहुने र सबै साथी राम्रै हुन्छ भन्ने पनि छैन भन्ने भोगाइ लेखकले देखाउन खोजेका छन् ।
पुस्तकमा उनले साथीसँगको सम्बन्धको व्याख्या नगरी सम्बन्धले प्रभावित गरेको कुरा कथाशैलीमा प्रस्तुत गरेका छन् । उनको यस पुस्तक ‘यार’ ले २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ पनि प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published.