भर्खरै :

अफ्रिकामा रुसी गहुँ

मित्र छनोटमा कडीकडाउ गर्दै जाँदा अफ्रिकाले आपसी सम्मान र साझा बुझाइको आधारमा सम्बन्ध बढाउनेहरूका लागि आफ्ना ढोकाहरू खोल्दै छ । यही आधारमा रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ हाल अफ्रिकी देशहरूको भ्रमणमा छन् ।
महिनौँ लामो रुस–युक्रेन द्वन्द्वबारे र त्यसमा पनि खाद्य आपूर्तिबारे पश्चिमा सञ्चार माध्यमले गरेको भारी दुष्प्रचारहरूको खण्डन गर्नु लाभ्रोभको भ्रमणको प्रमुख उद्देश्य हो । दुवै पक्षले आफ्ना विमतिहरू नम्रतापूर्वक हटाऊन् भनेर अफ्रिकाले तटस्थ नीति लिनु सराहनीय छ ।
अफ्रिकामा रुसको कूटनीतिक पहललाई पश्चिमा देशहरूले अनौठो मानेका छैनन् । लाभ्रोभको भ्रमणले रुसलाई भूराजनीतिकरूपमा एक्ल्याउन अफ्रिकालाई पश्चिमले मनाएको छ भन्ने एकतर्फी भाष्य तोड्छ । अफ्रिकाले चारा खान अस्वीकार गरेको छ तथा हामी सबै अब परिपक्व भइसकेका छौँ र आफ्नै हिसाबले सोच्छौँ भनेर देखाएको छ ।
जुलाई २४ मा कायरोमा आफ्ना इजिप्टेली समकक्षी सामेह शौक्रीसँगको पत्रकार भेटघाटमा बोल्दै लाभ्रोभले युक्रेनसँगको आफ्नो देशको युद्धले गर्दा अफ्रिकाको खाद्य सुरक्षामा पर्न गएको असरबारे रुस जानकार रहेको बताए । यस विषयमा आफ्नो सरकारले प्रत्यक्ष हस्तक्षेप गरिरहेको बताए, “रुसी गहुँ निर्यातकर्ताहरूले आफ्नो प्रतिबद्धता पूर्ण पालन गर्नेछन् भनेर हामी पुनः आश्वस्त पार्छौँ ।”
१० करोड बढी जनतालाई खुवाउन इजिप्टले विश्वमै सबैभन्दा बढी गहुँ आयात गर्छ । लाभ्रोभले कङ्गो गणतन्त्र, युगान्डा र इथियोपियाको पनि भ्रमण गर्नेछन् । ती देशहरू पनि रुस र युक्रेनको गहुँमाथि निर्भर छन् ।
लाभ्रोभले हालै मात्र युरोपेली आयोग प्रमुख उर्सुला लियेनले लगाएको आरोपको पनि खण्डन गरे । खाद्यान्नलाई क्रेमलिनले ‘आतङ्कको गठ्ठाघर’ बनाएको दाबी गरेकी थिइन् । “भ्लादिमिर पुटिनले विश्वका अति निरीह देश र जनतालाई जानाजान घेरामा हालेको” भनेकी थिइन् । यी दाबीहरू सनसनीपूर्ण छन् । पश्चिमा नाकाबन्दीले खाद्यान्नको आपूर्ति चक्रबाट रुसी व्यापारको डोरी काटिदिएको तथ्य ढाकछोप गर्ने खालका छन् ।
यो वर्ष मात्र खाद्यान्नको मूल्य झन्डै २० प्रतिशत बढेको छ । खाद्यान्नको मूल्य बढ्नुमा रुसलाई दोष दिनु बेइमानी हो । पहिलो कुरा, रुसले जानाजान वा दुष्टतापूर्वक गहुँको व्यापार रोकेको हो भनी मान्न कुनै अर्थपूर्ण कारण छैन । जब कि उसलाई पैसाको खाँचो छ । उसलाई साथीहरूको पनि खाँचो छ । उसका धेरै साथीहरू विकासशील देशहरू हुन् ।
दोस्रो कुरा, युक्रेनलाई आत्मरक्षा गर्नमा सघाउने नाममा पश्चिमा देशहरूले उसलाई लगातार हातहतियार आपूर्ति गर्दै छन् र द्वन्द्व लम्ब्याउँदै छन् । युक्रेनको स्थिति झन्झन् बिग्रँदो छ । रुसले पश्चिमा देशहरूको भड्काउ रवैयालाई नदेखेझैँ गर्न सक्दैन ।
युक्रेनले सित्तैमा सहयोग नपाएको र त्यहाँबाट हुने अन्नको निर्यातमा पश्चिमाहरूको चासोका अन्य आयामहरू पनि भएको विश्लेषकहरू बताउँछन् । त्यस व्यापारबाट हुने आम्दानीबाटै पश्चिमाहरूले युक्रेन पठाएका हातहतियारको करोडौँ डलर मूल्य असुलिने उनीहरूको धारणा छ ।
लाभ्रोभले गर्न चाहेको अफ्रिकाको वर्तमान सङ्कट व्यवस्थापनका अझ ठूलो आयाम पनि छ । अफ्रिका–रुस सम्बन्धको इतिहास सोभियत सङ्घसम्म जान्छ । शीतयुद्धको अवधिमा यो सम्बन्ध झाँगिएको थियो । सोभियत सङ्घले धेरै अफ्रिकी देशहरूको स्वतन्त्रता प्राप्तिको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको थियो । वैचारिक र भौतिक दुवै सहयोग दिएको थियो ।
रुसी विदेशमन्त्रीको भनाइमा, रुस “औपनिवेशिक स्थितिबाट पूर्ण छुटकारा पाउनुपर्ने अफ्रिकीहरूको मागप्रति ऐक्यबद्धता” जनाउँछ । अझ अघि बढेर अफ्रिकासँग अझ फराकिलो साझेदारी बढाउनुलाई रुसी विदेश नीतिको उच्च प्राथमिकता दिएको छ । रुस अफ्रिकी विकासमा योगदान गर्न पनि चाहन्छ । सोचीमा सन् २०१९ अक्टोबरमा सम्पन्न प्रथम रुस–अफ्रिका शिखर सम्मेलनमा लिइएको रणनीतिक निर्यणअनुसार अघि बढ्न चाहन्छ ।
अफ्रिकामा पश्चिमा वर्चस्व ओइलाउँदै छ । दाताहरूले आजित पारेपछि, विकास साझेदारहरूले अफ्रिकी देशहरूलाई ससर्त सहयोगहरू दिन थालेपछि यस्तो हुन गएको हो । अफ्रिकी देशहरूको छनोटको स्वतन्त्रता र आत्मनिर्णयको अधिकारको घाँटी थिच्दै पश्चिमाहरूले सरकारी कार्य सम्पादन गिजोल्न थालेपछि विदेशी सहयोग धेरै देशका लागि अभिशाप बनेको छ ।
अफ्रिकाको आत्मा समाजवादी हो । चीनसँगको दुई दशकको रूपान्तरणकारी साझेदारीबाट यो तथ्य पुष्टि भएको छ । अफ्रिका विदेश नीतिको सवालमा रुसले चीनकै पदचाप पछ्याइरहेको भन्दा बढाइचढाई नहोला । यो निष्कर्षलाई पुष्टि गर्नेगरी लाभ्रोभले भने, रुसले “अफ्रिकी देशहरूको सार्वभौमिकतालाई अत्यन्त सम्मान गर्छ । आफ्नो विकासको बाटो आफै निर्धारण गर्ने तिनको अविच्छिन्न अधिकारलाई सम्मान गर्छ ।”
अन्तरनिर्भरताको भावनाअनुसार रुसले अफ्रिकाको आत्मा नमारी जे दिन सकिन्छ, त्यो दिन खोजेको छ । आफ्नो वक्तव्य र भ्रमणमा लाभ्रोभले राष्ट्रपति भ्लादिमिर पुटिनकै सन्देश दोहो¥याएको देखिन्छ । २०२० जनवरी १५ मा स्वदेशका राजनीतिक, आर्थिक र धार्मिक अगुवाहरूको एक सम्मेलनमा पुटिनले भनेका थिए, “रुस आफ्ना सबै साझेदारहरूसँग सम्बन्ध र सहकार्य सुधार्न खुला छ । हामी कसैका लागि खतरा होइनौँ । हामी आफ्नो दृष्टिकोण कसैमाथि थोपर्न चाहन्नौँ ।”
(स्टेफेन देग्वा नाइरोबीमा बस्ने विश्लेषक, लेखक र शिक्षक हुनुहुन्छ । सीजीटीएनबाट । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *