भर्खरै :

मेरी प्रिय गुरुआमा : शोभा मिस

कक्षा ६ को पहिलो दिन शोभा मिस नेपाली किताब बोकेर कक्षाकोठामा आउनुभयो । हामी विद्यार्थीहरू उठेर शुभप्रभात ग¥यौँ । उहाँ साधारण साडी लगाएर आउनुभएको थियो । उहाँ आउनेबित्तिकै सबै विद्यार्थीहरूको परिचय लिनुभयो र आफ्नो परिचय पनि दिनुभयो । त्यसपछि उहाँले हाम्रो समाजमा महिलालाई शिक्षा कति आवश्यक छ भन्ने कुरा बताउनुभयो । यसबाट हामीले धेरै कुराहरू सिक्यौँ । अहिलेको समाजमा महिलाहरूलाई कसरी श्रम शोषण गरिँदै छ भन्नुभयो र महिलाहरूको समस्याबारे जानकारी दिनुभयो । अन्त्यमा, उहाँले हामीलाई कक्षाकोठाका केही नियमहरू भन्नुभयो । कक्षामा उपस्थित नभएको विद्यार्थीसँग १० रुपिँया उठाएर जम्मा गर्ने कुरा गर्नुभयो । त्यो पैसाले कक्षा ६ को अन्तिम दिनमा विद्यार्थीहरूलाई चाहिने सामग्रीहरू किनेर दिने भन्नुभयो । मलाई अनौठो लाग्यो किनकि हामीले कहिल्यै यसरी पैसा जम्मा गरेका थिएनौँ । एकै दिनमा उहाँले हामीलाई धेरै कुराहरू सिकाउनुभयो । यसले गर्दा विद्यार्थीहरूमा बचत गर्ने बानी पनि बस्यो ।
उहाँको त्यो बोली, हँसिलो अनुहार कहिले हेरौँ जस्तो लाग्थ्यो । स्कूल छुट्टी भइसके पनि भोलि बिहान कति बेला होला र उहाँसँग केही सोधौँ लाग्थ्यो । उहाँ एकदम सरल र नम्र स्वभावकी हुनुहुन्थ्यो । कसैलाई पनि रिसाएर तडकभडक गरेर बोल्नुभएन । सबैलाई उत्तिकै माया गर्नुहुन्थ्यो । आफ्नै छोराछोरीजस्तो व्यवहार गर्नुहुन्थ्यो । सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो । उहाँ अरूभन्दा भिन्न खालको हुनुहुन्थ्यो । उहाँ सादा जीवन र उच्च विचारमा विश्वास गर्नुहुन्थ्यो । उहाँ हामीलाई पढाउने विषयमा बाहेक बाहिरका कुराहरू सुनाउनुहुन्थ्यो । उहाँ एउटा शिक्षिकामात्र नभई अरू विभिन्न क्षेत्रमा लाग्नुभएको थियो । स्कूलको कुनै कार्यक्रम हुँदा अतिथिको रूपमा बस्नुहुन्थ्यो । उहाँले विद्यार्थी जीवनमा आइपर्ने समस्या र ती समस्या कसरी समाधान गर्नुपर्छ भनी बताउनुहुन्थ्यो । अरू शिक्षक शिक्षिकाहरूलाई सरसल्लाह दिनुहुन्थ्यो । उहाँ महिलाहरूको हकहितको लागि लड्नुहुन्थ्यो ।
म पहिला कुनै पनि स्कूलको क्रियाकलापमा सहभागी भइनँ । तर, उहाँले गर्दा मैले केही कविता लेख्न जानेँ र क्रियाकलापहरूमा सहभागी हुन थालेँ । यसरी नै म मिससँग घुलमिल हुन थालेँ । केही कुराहरू सोध्न थालेँ । उहाँ घरमा एक्लै भएको बेलामा मलाई शनिबारको दिन बोलाउनुहुन्थ्यो । म एक दिन उहाँको घरमा गएँ । उहाँले मलाई बस्न भन्नुभयो र केही पत्रपत्रिकाहरू पढ्न दिनुभयो । केही छिनपछि म खाजा खान माथि कोठामा गएँ । उहाँले मलाई रोटी र माछा खान दिनुभयो । उहाँले बनाएको नरम र पातलो रोटी र त्यो माछा मलाई एकदम मीठो लाग्यो । केही समय बसेर घर फर्केँ । फेरि अर्को शनिबारको दिन गएँ । त्यो दिन मैले नेपाली व्याकरण पढाउन भनेँ । उहाँले मलाई घरमै व्याकरण सिकाउनुभयो । उहाँले गर्दा मेरो नेपाली विषय राम्रो भएको थियो । उहाँको घरमा बसेर पत्रपत्रिका पढ्ने बानी बसेको थियो ।
उहाँ एकछिन पनि यत्तिकै बस्नुहुन्नथ्यो । केही न केही काम गरिरहनुहुन्थ्यो । कोठा सफा गर्ने, लुगा धुने, घरमा आएको पाहुनालाई मीठोमीठो पकाएर खुवाउने गर्नुहुन्थ्यो । उहाँले गर्दा मैले पनि घरायसी कामहरू गर्न सिकेको थिएँ । उहाँले मलाई पनि सक्दो सहयोग गर्नुहुन्थ्यो । उहाँले मलाई आफ्नो छोरीजस्तो व्यवहार गर्नुहुन्थ्यो । बोलाउँदा छोरी नै भनेर बोलाउनुहुन्थ्यो । कुनै काम गर्न आएन भने छोरी यसरी गर्नु भनेर सिकाउनुहुन्थ्यो । मैले कुनै गल्ती गरेँ भने उहाँले मलाई सम्झाउनुहुन्थ्यो । मेरो मनमा भएका कुराहरू सब उहाँलाई भन्थेँ । उहाँको मायाले गर्दा मलाई कहिल्यै आमाको कमी महसुस भएन । बजार जाँदा मलाई पनि सँगै लिएर जानुहुन्थ्यो । आफ्नो परिवारजस्तै धेरै बेर बसेर कुराकानी गर्नुहुन्थ्यो । उहाँले मलाई नेवारी संस्कृतिबारे बताउनुहुन्थ्यो । उहाँको घरमा कुनै पूजा, भोजभतेर भयो भने मलाई बोलाउनुहुन्थ्यो । तर, उहाँले मलाई कहिल्यै मीठो खाने, राम्रो लगाउने कुराको पछि लाग्न सिकाउनुभएन बरु सादा जीवन जिउन सिकाउनुभयो ।
उहाँले एक दिन हामीसँग सदाका लागि बिदा लिनुभयो । उहाँको मृत्युको खबर सुन्दा सपना हो कि जस्तो लाग्यो । तर, उहाँको जीवन यति समयसम्म मात्र रहेछ भन्ने कुरा बुझेँ । त्यो दिन रातभरि निद्रा लागेन किनकि आज मैले एउटा आमा गुमाएको छु । पढाइको व्यस्तताका कारण मैले उहाँसँग भेट्न पाइनँ । उहाँले मलाई धेरै कुराहरू सिकाएर जानुभयो, जति कुरा मेरी आमाले पनि सिकाउनुभएन । उहाँ सधैँ मेरो मनमा रहनुहुनेछ । उहाँको प्रेरणा सधैँ अमर रहनेछ ।

Leave a Reply

Your email address will not be published.