भर्खरै :

ढुङ्गेलको पुस्तक ‘चक्रव्युहमा नेपालको जलस्रोत’ सार्वजनिक

काठमाडौँ १६, साउन । सिमल प्रकाशनद्वारा प्रकाशित पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित पुस्तक ‘चक्रव्युहमा नेपालको जलस्रोत’ को सोमबार काठमाडौँको सुकेधारास्थित ‘सेलेब्रेसन हाइट’ होटलमा सार्वजनिक गरियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवाल, एमालेका अध्यक्ष केपी ओली, राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणा, नेकाका दीपकुमार उपाध्यायले संयुक्तरूपमा सार्वजनिक गर्नुभयो ।
सांसद सुवालले ‘चक्रव्युहमा नेपालको जलस्रोत’ पुस्तकका लेखक द्वारिकानाथ ढुङ्गेललाई बधाई एवम् शुभकामना दिनुभयो र पुस्तक प्रकाशन गर्नुहुने सिमल प्रकाशनका कमल ढकाललगायत संलग्न सबैलाई धन्यवाद दिनुभयो ।
उहाँले कोसी र गण्डक सम्झौतामा ठगिएको नेपाल बहुदलीय व्यवस्था पुनःस्थापनायता नेका नेतृत्वको अन्तरिम सरकारले नेपालको नदीनालामा भारतको समेत साझा भएको स्वीकार गरेकोले नेपाल मजदुर किसान पार्टीले सोको विरोध गरेको बताउनुभयो ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको नेकाको पहिलो सरकारले टनकपुर सन्धि गर्ने तयारी गरेपछि नेपाल मजदुर किसान पार्टीले कोसी र गण्डकी सम्झौतामा नेपाल ठगिएको उल्लेख गरी सरकारलाई स्मरणपत्र दिएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
“सुगौली सन्धिअनुसार महाकाली नदीपारी भारतको भूमि पर्दछ । महाकाली सन्धिमा यो अडान छाड्नु देशघात नै हो । बेलायती साम्राज्यवादबाट भारतीय जनता ठगिएका थिए । अहिले भारतीय एकाधिकार पुँजीबाट नेपाली जनता ठगिएका छन् । भारतमा कामदार वर्गको सरकार नआएसम्म नेपालमा विकास गर्न नदिइने अवस्था छ” सांसद सुवालले थप्नुभयो ।
सांसद सुवालले एमसीसी सम्झौता र नागरिकता विधेयकमा भएको देशघातको नेपाल मजदुर किसान पार्टीले विरोध गरेको बताउँदै राज्यको स्वामित्वमा उत्पादन र वितरण नभएसम्म नेपालको विकास नहुने र पुँजीवादी दृष्टिकोण भएका पार्टी र नेताहरूले देशलाई ‘नर्क’ मा पु¥याउने उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचनमा धेरै स्थान जित्न र प्रधानमन्त्री बन्न भारतीय एकाधिकार पुँजीको आशीर्वाद आवश्यक हुने वर्तमान स्थिति अन्त्य गर्नु जरुरी रहेको पनि बताउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद गुमाउनु परे पनि राष्ट्रिय हित छोड्न नहुने उल्लेख गर्दै प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेपालको उत्तरी नाकामा २००८ सालमा राखेको भारतीय चेकपोष्ट प्रधानमन्त्री कीर्तिनिधि विष्टले २०३६ सालमा हटाएलगत्तै उनको प्रधानमन्त्री पद गएको स्मरण गर्नुभयो ।
भारतले नेपालविरुद्ध नाकाबन्दी गरेको बेला चीनसितको उत्तरी नाका खोलेलगत्तै आफ्नो पहिलो प्रधानमन्त्री पद गुमेको उल्लेख गर्दै ओलीले नेपालको नक्सामा लिम्पियाधुरा समेटेर प्रकाशित गरेपछि आफूलाई दोस्रोपटक प्रधानमन्त्री पदबाट हटाइएको बताउनुभयो ।
ओलीले आफूलाई कसले प्रधानमन्त्री पदबाट हटायो भन्ने कुरा स्पष्ट गर्नुभएन । सायद ओलीको सङ्केत भारततर्फ हुनुपर्दछ ।
ओलीले महाकाली सन्धिमा आधा पानी र आधा बिजुली दाबी गरेको बताउनु भए पनि आधा पानी र बिजुली नलिइकन एमालेले महाकाली सन्धिलाई समर्थन गरेको थियो ।
एमसीसी सम्झौताको विपक्षमा मत नदिई संसद् अवरोधको नाममा मौन समर्थन गरेकोलाई ढाकछोप गर्दै ओलीले एमसीसी सम्झौता संसद्मा टेबुल गराई बहसमा ल्याएको दाबी गर्नुभयो ।
ओलीले प्रम देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहालले पाँच महिना समय मागेर एमसीसी कार्यालयलाई पत्र लेखेको र देशबारे ओठेभक्ति देखाएको आरोप लगाउनुभयो ।
पुस्तकका लेखक द्वारिकानाथ ढुङ्गेलले तत्कालीन जलस्रोतमन्त्री पशुपतिशमशेरले आफूलाई जलस्रोत सचिव पदमा ल्याएको कारण पुस्तक लेख्ने अवसर मिलेको भनी पशुपति शमशेरलाई धन्यवाद दिनुभयो ।
ढुङ्गेलले पशुपति शमशेरका बडाबाजेले आफ्ना बाजेलाई आयुर्वेद पढ्न पठाएको पनि स्मरण गर्नुभयो । उहाँले राजनीतिक पार्टीका तर्फबाट आ–आफ्नो दृष्टिकोण राखेका सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा टिप्पणीकार माधव बेलवासेले महाकाली सन्धिको सुरू एमालेको नौ महिने अल्पमतको सरकारमा भएको उल्लेख गर्नुभयो भने अर्का टिप्पणीकार विन्दुराज लोहनीले कालीगण्डकीमा एडीबीको सहयोग भएको बताउनुभयो । अर्का टिप्पणीकार सुरेन्द्र भण्डारीले केपी ओलीले त्यसबेला महाकाली नदीको उद्गम खोजी नगरेको बताउनुभयो ।
पुस्तक सार्वजनिकीरण कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणाले पनि शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *