भर्खरै :

गाईजात्रा पर्व : जनचेतना फैलाउने सांस्कृतिक अभियान

भक्तपुर, १६ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको गाईजात्रा (सापारु) पर्वको तयारीस्वरूप सोमबार लेखक, कवि र कलाकारहरूको भेला भयो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई जनचेतना फैलाउने सांस्कृतिक अभियानको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले समाज परिवर्तनमा कवि, कलाकार र लेखकको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दै पैसाको निम्ति सङ्घर्ष गर्ने पुँजीवादी व्यवस्था अन्त्य गर्न विचारको सङ्घर्ष गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “रचनात्मक आलोचना गर्नु आवश्यक छ ।”
जनतालाई राजनैतिक र सामाजिक विषयमा सचेत पार्ने माध्यमको रूपमा गाईजात्रालाई उपयोग गरिरहेको स्मरण गर्दै उहाँले गाईजात्रा पर्वमा लेखक, कवि र कलाकारहरूले विकृति र विसङ्गतिलगायतका विषयमा नाटक, ख्याल र गीतमार्फत जनतालाई सचेत पार्न आग्रह गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले देशको कला संस्कृति जगेर्ना गर्नु सबैको दायित्व भएको बताउँदै गाईजात्रामार्फत यहाँको संस्कृति र सभ्यता झल्किने हुँदा सबैले सभ्य तरिकाले यो पर्व मनाउनुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले गाईजात्रामा राम्रो सन्देश दिई समाजमा व्याप्त विकृति र विसङ्गतिको उजागर गर्न लेखक कलाकारहरूले आ–आफ्नोतर्फबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले जनताको सांस्कृतिक स्तर उठाउन आवश्यक भएको बताउँदै लेखक कलाकारहरूले सामाजिक विकृति हटाउन र नागरिक भावना जगाउने खालका साहित्य र गीत लेख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखक तथा कलाकारहरू आशकुमार चिकंबन्जार, विष्णुगोपाल कुसी, लक्ष्मीप्रसाद चवाल र विश्वनाथ प्रजापतिले गाईजात्रामा हुने सांस्कृतिक प्रतियोगितालाई परिस्कृष्त बनाउन आ–आफ्नो राय–सुझावहरू राख्नुभएको भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *