भर्खरै :

गलत आर्थिक नीतिको कारण देश विकासमा पछाडि

भक्तपुर, १६ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अर्थशास्त्रको सामान्य ज्ञान पनि नभएकाहरू अर्थमन्त्री बन्दा देशको अर्थतन्त्र असफलतातिर अघि बढेको बताउनुभयो ।
बाल विकास सेकेन्डरी स्कूलको आयोजनामा सोमबार भएको एसईई परीक्षा २०७६, २०७७ र २०७८ का विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष रोहितले आजसम्मका सरकारहरूको गलत आर्थिक नीति र निर्णयका कारण देश आर्थिक विकासमा पछाडि परेको र जनताले अनाहकमा दुःख पाइरहेका हुन् भन्नुभयो ।
काठमाडौँका ठूला कलेजहरूले विदेशमा लगेर नेपाली विद्यार्थीलाई सस्तो ज्यामीको रूपमा बेच्ने गरेको कुरा बारम्बार सुनिएको बताउँदै उहाँले त्यस्ता शैक्षिक माफियाबाट विद्यार्थीहरू सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आफ्नो रुचि र योग्यताअनुसारको विषयमा उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई सुझाव दिँदै उहाँले भन्नुभयो, “अयोग्य विद्यार्थीहरू शक्ति र पैसाको आधारमा डाक्टर, इन्जिनियर बन्दा देश र जनतालाई नोक्सान हुनेछ ।”
नेपाल सरकार व्यापारिक घरानाले सञ्चालन गरिरहेको प्रस्ट पार्दै अध्यक्ष रोहितले उनीहरूको व्यापार डुब्ने डरले नै ख्वप विश्वविद्यालय विधेयक संसद्मा पेश नगरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले विद्यार्थीहरूले आफ्नो मित्र र शत्रु समयमै पहिचान गर्नसक्नुपर्ने बताउनुभयो । चालु युक्रेन–रसियाको लडाइँ वास्तवमा संरा अमेरिका र रसियाको लडाइँ भएको उहाँले बताउनुभयो ।
संरा अमेरिका सबभन्दा बढी मानव अधिकार हनन हुने देश भएको धारणा राख्दै उहाँले विश्वमा अशान्ति फैलिनुमा संरा अमेरिकाको प्रमुख भूमिका रहेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले मानविकी तथा समाजशास्त्र समाज निर्माण गर्ने इन्जिनियर र डाक्टर तयार गर्ने विषय भएकोले मानविकी विषयलाई उपेक्षा गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुनसुकै विषय अध्ययन गरे पनि विशेषज्ञता हासिल गर्ने लक्ष्यका साथ अध्ययन गर्नुपर्छ । आफूले प्राप्त गरेको ज्ञान असल नागरिक बनी देश र जनताको सेवामा सदुपयोग गर्नुपर्छ ।”
हिजोका दिनमा निकै अपमानित र अपहेलित भक्तपुर आज असल राजनीतिज्ञ र सही राजनीतिकै कारण शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा देशकै नमुना नगर बन्न सफल भएको उहाँले बताउनुभयो ।
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले भक्तपुर ज्ञानविज्ञानको केन्द्र बन्दै गएको र देशको ७६ जिल्लाका विद्यार्थीहरूले भक्तपुरमा उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँका ठूला भनाउँदा शैक्षिक संस्थाहरूले परीक्षा केन्द्र किन्ने र बोर्डमा उत्तर लेखिदिने गरेको हामी पाउँछौँ । त्यस्ता अनैतिक प्रवृत्तिका शैक्षिक संस्थाबाट विद्यार्थी जोगिनु आवश्यक छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य र मनिषा श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *