भर्खरै :

सिंहदरबारसँगै गाउँ–गाउँमा भ्रष्टाचार

भ्रष्टाचार र अनियमितता बढ्यो भनी सरकारी कार्यालयमा आगजनी गरेर वा बमले ध्वस्त पारेर भौतिक सम्पत्ति क्षति पु¥याउन पछि नपर्ने माओवादी सम्मिलित देउवा सरकारको पालामा पनि भ्रष्टाचार घटेन । स्थानीय तहदेखि मन्त्रालयसम्म भ्रष्टाचारले गन्हायो । अहिले मुलुकमा देखिएको भ्रष्टाचार, कमिसनतन्त्र, मूल्यवृद्धिको जड राजनीतिक नेतृत्वमा देखिएको भ्रष्ट संस्कार र प्रवृत्ति नै हो भन्ने कुरामा राजनीतिक विश्लेषकहरूको फरक मत छैन । पूर्वसचिव खेमराज नेपालले राजनीतिक र प्रशासनिक नियन्त्रण नभएको कारण स्थानीय तहमा भ्रष्टाचार बढेको तर्क राखे । साउन १६ गते प्रकाशित ‘नयाँ पत्रिका’ दैनिकमा ‘निर्वाचित भएको दुई महिनामै दुई मेयरसहित १२ जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा निलम्बित’ शीर्षकमा समाचार छापियो । सोही पत्रिकामा ‘दुई महिनामा ११ प्रमुख प्रशासकीय अधिकृतविरूद्ध पनि भ्रष्टाचार मुद्दा’ शीर्षकको अर्को समाचार छापियो । यसले सिंहदरबारसँगै गाउँ–गाउँमा भ्रष्टाचार पुगेको थाहा हुन्छ ।
भ्रष्टाचार गर्ने, भ्रष्टाचार गर्न बढावा दिने भ्रष्टाचारीहरू शासक दलका नेता र ठूला प्रशासकहरू वरिपरि घुमिरहेका छन् । उनीहरू पार्टीको लागि चन्दा दिन्छन् र त्यही चन्दा शासकहरू निर्वाचनमा प्रयोग गर्छन् या आफ्ना कार्यकर्ता र जनतालाई बाँड्छन् । ती भ्रष्टाचारीहरू शासकहरूकै कारण सुरक्षित हुन्छन् । राजस्व छल्ने, भ्रष्टाचार गर्ने र अनियमितता गर्ने व्यक्तिहरू नै प्रतिष्ठित हुन्छन्, तिनीहरू नेताहरूका प्रिय बन्छन् । अनि कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ ? अनि कसरी सुशासन हुन्छ । अनि देश भ्रष्टाचारको सूचीमा पर्दैन ? भ्रष्टाचारको कारण देश बदनाम हुँदैन ? एमनेस्टी इन्टरनेसनलले नेपाललाई भ्रष्टाचारको सूचीमा राख्यो भनेर टाउको दुखाएर के गर्ने ?
स्वच्छ हुनुपर्ने या न्याय–अन्याय छुट्याउनुपर्ने न्यायालयले पनि आफ्नो स्वच्छ छविमा असर पु¥याइरहेको खबर प्रकाशमा आइरहेको छ । न्यायमूर्तिहरूले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी बहन नगरेको जानकारी सञ्चारमाध्यममा आइरहेको छ । सरकारले प्रशासनयन्त्रलाई भ्रष्टाचारमुक्त र चुस्त प्रशासन बनाउन सकेन । आर्थिक अनुशासन भएन, कुशल प्रशासन भएन । राज्यले प्रशासनिक यन्त्रलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी बनाउन सकेन । यसका लागि शासकहरू जिम्मेवार र सचेत बनेनन् । सरकार सक्षम र सेवामुखी बनेन । यी यावत कारण वर्तमान सरकार पनि सफल भएन । यसले राजनीतिक अन्योल बढायो । सुशासन टाढिँदै गयो । अनियमितता बढ्यो । राजनीतिक सोच, चिन्तन र व्यवहारमा खिया लाग्यो । राजनीतिमा विश्वासघात भयो, अन्तरघात भयो । सत्तासीन दलकै नेताहरूबीच एकले अर्कोलाई शङ्काले हेर्न थाल्यो । कुर्सीमा जानको लागि भागबन्डा गर्ने तर देश र जनताको निम्ति कुनै काम नगर्ने सरकारहरू कसरी स्वच्छ र सुशासनयुक्त हुन्छन् ?

Leave a Reply

Your email address will not be published.