भर्खरै :

समान काम, समान ज्याला

कुनै पनि देशको सर्वाङ्गीण विकास हुन त्यहाँका सम्पूर्ण मानिसको सक्रियता, क्रियाशीलता एवं अनवरत जाँगरको खाँचो पर्छ । यो सत्य कुरो सबैले आत्मसात गर्नुपर्छ भन्ने लाग्छ । तर, त्यसो हुनसकेको छैन । अझै पनि महिलाले पुरूषसँगको समान कामको समान ज्याला पाउने नीति मुलुकभर लागु हुन सकेको छैन । जनताको तहमा त छँदै छ यो अपत्यारिलो असमानता कतिपय ठाउँमा त सरकारी तहमा समेत अद्यापि कायमै छ । ती कामदार महिला मुख फोर्न सक्दैनन् । केही गरी विरोध गरे भने भोलिपल्टदेखि काममा लगाउँदैनन् ठेकेदार वा हाकिमले । तसर्थ, महिलाहरू समान कामको लागि असमान ज्यालामा काम गर्न बाध्य छन् । समान कामको लागि समान ज्याला नपाउने अपराध समाजमा अझै कायमै छ । यस प्रकारका विभेद जति अविकसित ठाउँ हो उति बाक्लो हुन्छ । सरकारी तहमा यो कलङ्क छ भने गैरसरकारी वा निजी तहमा नहुने भन्ने प्रश्न नै भएन । २००३ सालमा काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन हुँदा महिलाले पनि मतदान गर्न पाउनुपर्छ, मताधिकार सुनिश्चित हुनुपर्छ भनी शान्ता श्रेष्ठजस्ता महिला जुलुसको रूपमै तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज चन्द्र शमशेरकहाँ जाने साहस गर्थे । तर, त्यो विषयमा अहिले केही रूपमा विद्यमान नभए पनि असमान ज्यालाको रूपमा विद्यमान नै छ । यो कलङ्क अविलम्ब उखेलौँ ।
देउवालाई सोध्नुपर्ने
यो समान कामको समान ज्याला नहुनु अहिलेसम्म पनि नेपाली समाजमा अत्यन्त ठूलो कलङ्क हो । त्यसो त विश्वेश्वरप्रसाद कोइराला विसं २०१६ सालमा जननिर्वाचित प्रधानमन्त्री हुँदा द्वारिकादेवी ठकुरानीलाई उप र सहायकमन्त्री बनाएर एउटा उल्का नै नगरेका होइनन् । डडेलधुराका मतदाता, एउटा विधवा महिलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्नु पनि कम क्रान्तिकारिता कहाँ थियो र ? त्यही डडेलधुराका क्रान्तिकारी जनता त्यसको धेरै दशक पछिसम्म पनि शेरबहादुर देउवालाई लगातार आफ्नो जनप्रतिनिधि छानेर पठाउँछन् प्रतिनिधिसभामा । उनमा गुणमा देख्छन् द्वारिकादेवीलाई भारी मत दिएर आफ्नो वारेस चुनेर पठाउनेहरू र उनका सन्तानलाई सोध्न मन लाग्छ । तर, त्यो काम यो लेख लेखे जति सत्य छैन । नेपालको विकासको पूर्वाधार हेर्दा र त्यसको विश्लेषण गर्दा म कुनै छेउ टुप्पो फेला पार्दिन । यो राजनीतिक विधा कस्तो हुनेरहेछ । बुझ्नै कठिन । २०१६ सालमा द्वारिकादेवीले नेतृत्व गरेको डडेलधुरा आज शेरबहादुर र आजै राणा देउवाको बिर्ता हुनपुगेको छ । त्यही द्वारिकादेवीको जिल्लामा देउवालाई मत दिन्छ धेरै । किन मतदान गर्छ देउवालाई ? प्रश्न अनुत्तरित नै छ । त्यहाँ आज पनि महिला र पुरूषबीचको समान ज्याला पाउँदैनन् । त्यो कलङ्क उखेल्न नेतृत्व गर्नुपर्ने शेरबहादुर समान कामको समान ज्याला भन्ने कुरा बुझ्छन् बुझ्दैनन् । उनैलाई सोध्नुपर्ने भएको छ ।
गम्भीर मुद्दा हल्का रूपमा
आज यो मुलुकमा समाजवादउन्मुख गणतन्त्र छ तर सबै ठाउँमा समान कामको ज्याला समान पाउँदैनन् महिलाहरूले । असारमा रोपाइँ गर्दा खाजासमेत समान हुँदैन । लाठे लोग्ने मान्छेले दुई माना च्युरा खाजा पाउँछ, त्यहीअनुसार अचार पाउँछ । तर रोपार (महिला) ले दुई माना होइन एक माना च्युरामात्र खाजा पाउँछन् । काम उही हो हिलो माटोमा गर्नुपर्ने । यो मुद्दामा न महिला सङ्घहरू सशक्तरूपमा बोल्छन् न त बोल्छन् राजनीतिक दलहरू नै । जब यस्तो हुन्छ समाजमा अनि जसले जस्तोसुकै भट्याए पनि ज्याला लगाउने मान्छेले पटक्कै टेर्दैनन् । गणतन्त्रउन्मुख समाजवाद र सामन्तवादमा ज्यालामा शोषित हुने महिलाले के पत्याउने, कति पत्याउने, कसरी पत्याउने ? तसर्थ सानादेखि ठूलठूलासम्म सम्पूर्ण राजनीतिक पार्टीले एउटै बोल्नुप¥यो समान काममा समान ज्याला भनेर । यो आवाज एक–दुई पल्टमात्र उठाएर पर्याप्त हुँदैन । समान काममा समान ज्याला व्यवहारमा नआउञ्जेल घन्काइरहनुपर्छ । यो कलङ्कको कालो यति बाक्लोसँग लागेको छ जुन कालो हटाउन धेरै घोट्नुपर्छ । के गर्छन् महिलाहरूको नाममा गठित संस्थाहरू ? यो प्रश्न सबै सरोकारवालाहरूलाई हो । यो समस्या यति गम्भीर र जटिल छ देख्दा सानो तर तर देशव्यापीरूपमा विद्यमान समाजविरोधी शोषण हो । तर, यो विषयलाई गम्भीररूपमा लिइएन ।
यो गर नाम कमाउ
चिकित्सकहरू रोगको प्रकृति हेरी औषधिको मात्रा तोक्छन् । यो वास्तविकता रोगी वा उनका मान्छेले बुझ्दैनन् । तर, चिकित्सकले भने यो वस्तुतथ्य नबुझी हुँदैन, सबैले बुझ्नुपर्छ भन्ने छैन । यो समान कामको असमान ज्याला यति व्यापक छ तर मूल मुद्दाको रूपमा सबैले बुझ्दैनन् । यस खालका शोषण आज वा भर्खरमात्र प्रारम्भ भएका होइनन् । मानव समाज सुरूमा मातृसत्तात्मक थियो । यो समाज पित्तृसत्तात्मक हुनपुग्यो । मातृसत्तात्मक समाजमा समान कामको असमान ज्याला थिएन होला । यो एउटा अनुमानमात्र हो कि थियो वास्तवमा थाहा छैन मलाई । कसैलाई थाहा भए सार्वजनिक गर्दा राम्रै होला । कति मुद्दा उठाउँछ सरकार तर टुङ्ग्याउन सक्दैन । कमैया, हली, हरूवा–चरूवा उन्मूलन गर्न खोज्यो सरकारले । धेरै वर्ष भो यो काम थालेको तर आजसम्म पनि यो मुद्दा छिनिएको छैन । सरकारसँग सबैको वास्तविक तथ्याङ्क छैन । अनि ? यो मुलुकमा चन्द्रशमशेरको समयसम्म पनि कमाराकमारीको नाममा मान्छेहरूको किनबेच हुन्थ्यो । तर, चन्द्रशमशेरले पशुपतिनाथको ढुकुटीबाट पैसो झिकेर कमाराकमारी मोचन गरे । उनले वाहवाही पनि कमाए । सरकार समान कामको समान ज्यालाबारे ठोस निर्णय गरेर नाम कमाउन खोज्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *