भर्खरै :

‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ को परिचर्चा कार्यक्रम

भक्तपुर, १७ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा हरिबहादुर श्रेष्ठलिखित पुस्तक ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ को नयाँ संस्करणको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकको चौथो संस्करणको प्रकाशनको अवसरमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा भक्तपुरमा मङ्गलबार परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।
देशमा चलिरहेको राजनीतिक बेथिति र काठमाडौँको फोहरमैलाको समस्याबारे चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “काठमाडाँैका जनता सङ्गठित र सङ्घर्षशील नहुँदा काठमाडौँमा आज फोहरमैलाको समस्या आएको हो ।” देशको राजधानी समग्र देशकै इज्जत हुने हुँदा यसमा ध्यान नपु¥याउँदा काठमाडाँैको फोहरमैलाको समस्याले देशकै बदनाम भएको उहाँले बताउनुभयो ।
शासक दलहरूले असल राजनीतिक कार्यकर्ता हुर्काउन नसक्दा देशको यो हविगत भएको अध्यक्ष रोहितले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकर्तालाई गलत कुरा सिकाउनु भनेको देशको निम्ति आत्महत्या हो ।” पुँजीवादी बीउ भएको कार्यकर्ताले आफूमात्र नबिग्रेर देशलाई नै बिगारिरहेको उहाँले जोड दिनुभयो । राजनीतिमा उत्पीडित वर्गका कार्यकर्ताहरू नलागे शोषकहरूले राजनीतिको लगाम हातमा लिने, असल राजनीति कार्यकर्ताविरुद्ध अनेक षड्यन्त्र हुने, गुप्तचरहरू सङ्गठनमा घुस्नेजस्ता विभिन्न दाउपेचबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, “पहाड चढ्न गाह्रो हुन्छ, बानी परेपछि सजिलो हुन्छ ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भन्नुभयो, “राजनीतिक कार्यकर्ताले जीवनकालमा भोगेका दुःखकष्ट, समस्या र भोगाइपछिको आत्मगौरव नै यो पुस्तकको मर्म हो ।” ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ आफ्नो मनपर्ने पुस्तक भएको बताउँदै उहाँले अन्य राजनीतिक दलहरूले यसखाले मार्गदर्शन पुस्तक प्रकाशन नगरेको जिकिर गर्नुभयो ।
कसैको लहैलहैमा लागेर राजनीतिमा लाग्न नहुने बताउँदै स्रष्टा समाजका लक्ष्मणराज जोशीले भन्नुभयो, “कथित कम्युनिस्टहरूको भीडमा नेमकिपाका कार्यकर्ताहरू अब्बल रहनुको कारण नै यो पुस्तक हो ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले राजनीतिक कार्यकर्ताको पुँजी भनेकै राजनीतिक गतिविधि हुने र यस्तो पुँजीलाई अन्य कुनै पँुजीसँग तुलना गर्न नसकिने बताउनुभयो । पुस्तकलाई आफ्नो राजनीतिक जीवनसँग तुलना गर्दै उहाँले भन्नुभयो, “सङ्कटमा निखारिन नसकेका व्यक्तिहरू राजनीतिक कार्यकर्ता बन्न सक्दैनन् ।”
परिचर्चा कार्यक्रममा शिक्षक तथा लेखक इन्द्रकुमार श्रेष्ठले ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ लाई राजनीतिक प्रशिक्षणका लागि सन्दर्भ सामग्री बनाउन सकिने बताउनुभयो । पुस्तकमा लेखक विषयवस्तुका मर्मज्ञ देखापर्नुभएको र राजनीतिले मात्र व्यक्तिलाई प्रत्यक्ष ज्ञान दिने कुरामा उहाँको जोड थियो ।
राजनीतिबारे वितृष्णा फैलिरहेको सन्दर्भमा ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ एउटा मार्गदर्शन बन्न सक्ने जिकिर गर्दै नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले जनप्रकाशन गृहको तर्फबाट प्रकाशनमा सघाउने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेक्राविसङ्घका सचिव दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *