भर्खरै :

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा

काठमाडौँ, १९ साउन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय ग¥यो । चुनावको मिति घोषणा भएपछि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ ।
मिति घोषणा भएपछि बिहीबार दिउँसो आयोगले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले अब गर्ने कामहरूको बारेमा जानकारी दिनुभयो ।
चुनावको मिति घोषणा भएसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम रोक्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि चुनावको पर्यवेक्षणका लागि आह्वान गर्ने पौडेलले जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले आज गरेको निर्णय आकस्मिक नभएर अपेक्षित र नियमित भएको बताउनुभयो । स्थानीय चुनावमा देखिएका मतदान केन्द्रलगायतका कमीकमजोरी सुधार्ने गरी आयोगले तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
“यो निर्वाचनमा कुनै पनि सवाल नउठ्ने गरी आयोगले तयारी गरेको छ,” थपलियाले भन्नुभयो ।
आयोगले अनौपचारिकरूपमा चुनावको तयारी गरिरहेको जानकारी दिँदै थपलियाले मिति घोषणा भएसँगै त्यसलाई औपचारिकरूपमा अगाडि बढाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन ।” कानुनमा पाँच वर्ष कार्यकाल रहने उल्लेख भएकोले २१ मंसिरमा कार्यकाल सकिन्छ भनेर आयोगले सिफारिस गरेको थपलियाले जानकारी दिनुभयो ।
थपलियाले दसैँलगत्तै मनोनयन दर्ता गर्ने गरी मिति तय गर्ने जानकारी दिनुभयो । मनोनयन दर्ता गर्नुअगाडि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने उहाँको प्रतिक्रिया छ ।
विभिन्न सुरक्षालगायतका निकायमा कार्यरतहरूलाई अस्थायीरूपमा कार्य गरेकै स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउने गरी व्यवस्था गर्ने तयारीमा आयोग रहेको उहाँको भनाइ छ ।
थपलियाका अनुसार आयोगले अब वडा कार्यालयमा लगेर मतदाता नामावली सङ्कलन गरी अद्यावधिक गर्नेछ ।
निर्वाचन आचारसंहितालाई व्यावहारिक बनाउन परिमार्जन गर्नुपर्ने आवाज उठेको भन्दै त्यसलाई पनि सम्बोधन गरिने थपलियाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.