भर्खरै :

काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नुपर्छ

काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नुपर्छ

(नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा काठमाडौँ उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यकाका प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरूबीच साउन २० गते भएको छलफल कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार भएर पनि सरकारले उचित ध्यान दिन नसकेको विषय हो, पर्यटन  । नेपाल पर्यटन विकासको अत्यन्त सम्भावना भएको देश हो  । विश्वको शिखर सगरमाथा, बुद्धको जन्मभूमि लुम्बिनी, उत्कृष्ट पदयात्रा र सफारीका थुप्रै विकल्प भएको देश हो नेपाल । विश्वमै विरलैमात्र पाइने हिमाल, पहाड र तराईको प्राकृतिक, जैविक र सांस्कृतिक विविधता नेपालमा उपलब्ध छन् । उपत्यकास्थित विश्व सम्पदामा सूचिकृत काठमाडाँै, भक्तपुर र ललितपुरको दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भूजस्ता सम्पदाहरू हाम्रा सांस्कृतिक धरोहरहरू हुन् । जनकपुर र चितवनलगायत जिल्ला–जिल्लामा रहेका सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरू पर्यटन आकर्षणका आधारहरू हुन् । त्यसको अलावा थुप्रै मूर्त र अमूर्त सम्पदाहरूले स्वदेशी र विदेशी पर्यटकहरूलाई वर्षैभरि आकर्षित गरिरहेका हुन्छन् । यति हुँदाहुँदै पनि पर्यटनको हिसाबले नेपाल विश्वको ११० औँ स्थानमा रहेको देखाइएको छ ।
विश्व पर्यटनको गन्तव्य बन्नुपर्ने नेपाल सन् २०२२ को बितेको ७ महिनामा २ लाख ८२ हजार पर्यटक भित्रिएकोमा खुसी हुनुपर्ने अवस्था छ । किनभने, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को कारण सन् २०२१ मा जम्मा ६० हजारमात्रै पर्यटकहरू नेपाल भित्रिएको तथ्याङ्क छ । सन् २०१९ मा नेपालमा १२ लाख पर्यटकहरू भित्रिएको र वार्षिक २० लाख पर्यटक भित्याउने उद्देश्यले सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणासमेत गरेको थियो । कोभिडका कारण स्थगित गर्नुपरेको दुःखद घटना हामी सबैको मानसपटलमा ताजै छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त थुप्रै सम्पदाहरूको पुनःनिर्माणको काम अझै बाँकी छ । पुनःनिर्माण प्राधिकरणका अनुसार २०७८ साल भदौसम्ममा क्षतिग्रस्त सम्पदाहरूमध्ये ५३ प्रतिशतमात्र पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण र आंशिक गरी ९२० वटा सम्पदामा क्षति पुगेकोमा ४९५ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
पर्यटकहरूको आकर्षणको केन्द्र काठमाडौँ उपत्यकामा क्षतिग्रस्त सम्पदाहरूको पुनःनिर्माण अत्यन्त सुस्तगतिमा भइरहेको प्रति जनताको गुनासो छ । सरकारको उच्च ओहोदामा बस्ने पदाधिकारीहरूले देश र जनताप्रतिको जिम्मेवारीबोधले काम नगरेको आरोप छ । आत्मनिर्भरतालाई कहिल्यै ध्यान नदिने, विदेशीले बनाइदिएको सम्पदाप्रति गर्व गर्ने, विदेशीहरूले सहयोग नगरे वास्ता नगर्ने जस्ता परनिर्भर सोचकै कारण सम्पदा पुनःनिर्माण ढिलाइ भइरहेको भन्ने जनमानसमा व्यापक चर्चा छ । हाम्रा पुर्खाहरूले निर्माण गरेर गएका ती सम्पदाहरू जीर्णोद्धार र संरक्षणकै लागि पनि विदेशीहरूको मुख ताक्नुपर्ने अवस्था आउनु साँच्चै विडम्बनापूर्ण छ । सबै काम विदेशीले गरिदिने हो भने नेपाल सरकार,संस्कृति मन्त्रालय, स्थानीय तह र पुरातत्व विभागको औचित्यतामाथि नै प्रश्न उठ्छ ।
भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालय भएको भवन हालसम्म बन्न सकेको छैन । मल्लकालीन शैलीमा बनाउने संस्कृति मन्त्रालय, पुरातत्व विभाग र नगरपालिकाको संयुक्त बैठकले मिति २०७५ साउन ८ गते निर्णय ग¥यो । तर, युनेस्कोको ‘सहमति चाहिने’ भन्दै हालसम्म त्यसको पुनःनिर्माण कार्य अगाडि बढ्न सकेन । के हाम्रो सम्पदा मौलिक शैलीमा बनाउन पनि युनेस्कोको अनुमति चाहिन्छ ? विश्व सम्पदा सूचीमा सूचिकृत सबै सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारको लागि युनेस्कोको स्वीकृति लिनुपर्ने हो भने कुनै पनि सम्पदा हाम्रो कार्यकालमा पुनःनिर्माण सम्पन्न त के सुरु पनि गर्न सक्नेछैनौँ । यसतर्फ संस्कृति मन्त्रालयको ध्यान जानु आवश्यक छ ।
सम्पदा पुनःनिर्माणको काम स्थानीय जनतामार्फत गर्ने कानुनी बन्दोबस्त हुन आवश्यक छ । स्थानीय जनतामा सम्पदाप्रतिको अपनत्व हुनुको साथै उनीहरूले सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्व बुझ्ने हुँदा त्यसको संरक्षणमा विशेष ध्यान दिनेछन् । ठेकेदारहरूले सम्पदाको महत्वभन्दा नाफामा बढी ध्यान दिने हुँदा तिनीहरूबाट सम्पदाको मौलिकता बचाइराख्न सम्भव हुँदैन ।
भारतले लामो समयदेखि गौतमबुद्ध भारतमा जन्मेको प्रचार गर्दै आयो तर नेपाल सरकारको तर्फबाट त्यसको औपचारिक खण्डन गर्ने वा विश्वसामु स्पष्ट पार्ने कामसमेत भएन । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरे । बुद्धको जन्मबारे विश्वसामु स्पष्ट पार्ने नेपालको लागि त्यो राम्रो अवसर थियो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबाट जनताले त्यही आशा गरेका थिए । तर, त्यसो हुन सकेन । केही वर्षपहिले हाम्रा साथीहरू चीन भ्रमणको क्रममा त्यहाँको पुस्तकालयमा रहेको पुस्तकमा ‘बुद्ध भारतमा जन्मेको’ भनी उल्लेख गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभाको बैठकमा हाम्रा सांसदहरूले बुद्धको जन्मबारे गलत प्रचारप्रसार बन्द गर्न भारत सरकारसमक्ष कूटनीतिक पहल गर्नुपर्ने आवाज उठाउनुभयो । यो कुरा बुद्धको जन्मसँग मात्र सीमित छैन । यसलाई भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेपको रूपमा लिइनु पर्छ । भारत नेपाललाई उसको एउटा प्रान्तको रूपमा विश्वमा देखाउन चाहन्छ ।
पर्यटन उद्योगको विकासबारे हामीले क्युवाबाट सिक्नुपर्छ । क्युवा आजभन्दा ६ दशकभन्दा लामो समयदेखि अमेरिकी साम्राज्यवादले नाकाबन्दी गरेको देश हो । क्षेत्रफल र आकारमा नेपालभन्दा सानो भए पनि क्युवामा सन् २०१८ मा ४७ लाखभन्दा बढी पर्यटकहरूले भ्रमण गरे । स्वास्थ्य उपचारमा संसारमा उत्कृष्ट प्रमाणित क्युवामा अमेरिकी सरकारले प्रतिबन्ध लगाउँदा लगाउँदै पनि अमेरिकी जनता सस्तो र उत्कृष्ट स्वास्थ्य उपचार पाउन क्युवा भ्रमण गर्छन् । त्यहाँको अर्थतन्त्रको प्रमुख आधारमध्ये पर्यटन पनि एक हो । नेपालमा जस्तै त्यहाँ पनि विश्व सम्पदामा सूचिकृत ७ वटा सम्पदाहरू छन् ।
हाम्रा छिमेकी देशहरू चीन र भारत संसारमै सबभन्दा बढी जनसङ्ख्या भएको पहिलो र दोस्रो देशहरू हुन् । सन् २०१८ मा १३ करोड ५० लाख चिनियाँ नागरिकहरूले विदेश भ्रमण गरे भने २ करोड ३० लाख भारतीय नागरिकहरूले विदेश भ्रमण गरेको समाचार सार्वजनिक भयो । त्यसमध्ये १ लाख चिनियाँहरू र १ लाख १८ हजार भारतीयहरूले मात्रै नेपाल भ्रमण गरेको तथ्याङ्क छ । आखिर यस्तो किन हुन्छ ? पर्यटकहरूका लागि आवश्यक पूर्वाधारहरूको तयारी गरी छिमेकी देशका पर्यटकहरूलाई मात्रै आकर्षित गर्न सकेको खण्डमा पनि नेपालमा पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिन्छ ।
नेपाल सरकारले काठमाडौँं उपत्यकामा लाखौँ रोपनी जग्गामा ठूल्ठूला आवास योजनाहरूको निर्माण कार्य अगाडि बढाएको छ । फोहरको समस्या, यातायात जाम, अपराधको सङ्ख्यामा वृद्धि, खानेपानीको हाहाकार र धुलो धुवाँले आक्रान्त उपत्यका मानव बस्नलायक सहर नहुनेतर्फ अग्रसर छ । यस्तो अवस्थामा उपत्यकामा पर्यटनको विकास कसरी सम्भव हुन्छ ? यसर्थ, सहरको विकास उपत्यका बाहिर गर्नुपर्ने र काठमाडौँं उपत्यकालाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नेतर्फ सरकारले ध्यान दिने आशा गर्छौँ ।

पर्यटनमा भक्तपुर नगरपालिका :
भक्तपुर क्षेत्रफलको आधारमा सानो भए पनि सांस्कृतिक नगर, नाचगानको राजधानी, जीवित सङ्ग्रहालयको नाउँमा परिचित नगर हो । बेलायती लेखक ई.ए. पावेलले ‘भक्तपुरको भ्रमणले आधा विश्व भ्रमणको अनुभूति गराउने’ उल्लेख गर्नुभएको छ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको भक्तपुर वर्षैभरि विभिन्न चाडपर्व र जात्राहरूले रोमाञ्चित बनाइरहेको हुन्छ ।
लिच्छविकालीन र मल्लकालीन थुप्रै सम्पदाहरूमध्ये कैयौँ लोप भइसके भने कैयौँ लोपोन्मुख अवस्थामा छन् । कतिपय सम्पदाहरू सुरक्षित छन् । नगरपालिकाले लोपोन्मुख सम्पदाहरूलाई संरक्षण गर्दै लोप भइसकेका सम्पदाहरूको प्राप्त प्रमाणहरूको आधारमा उत्खनन् गरी सुरक्षित राख्ने काम गर्दै छ ।
२०७२ सालको विनासकारी भूकम्पबाट झन्डै १३० भन्दा बढी सम्पदामा क्षति पुगेकोमा जनप्रतिनिधिहरूको पहिलो कार्यकालमा १२४ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न भए भने दर्जनौँ सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धारको क्रममा छन् । हालसम्म १२७ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएको जानकारी गराउन चाहन्छौँ । भक्तपुर नपाले विदेशीको सहयोगविना जनताको सहयोगमै ती सम्पदाहरू जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरेको हो ।
आ.व. २०७६/७७ को ९ महिनामा १ लाख ६१ हजार ४ सय ९५ पर्यटकहरूले भक्तपुर भ्रमण गरेका थिए । कोभिडको कारण लकडाउन भएपछि झन्डै २ वर्ष नगण्य मात्रामा पर्यटकहरूले भक्तपुर भ्रमण गरे । आ.व. २०७८/७९ मा सार्क र गैरसार्क गरी कूल ५३,५६० जना विदेशी पर्यटकहरूले भक्तपुर भ्रमण गरेको तथ्याङ्क छ । तिनै पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले सम्पदाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ ।
पर्यटकहरूको लागि आवश्यक स्थानीय पथप्रदर्शकहरूको तालिम, चिनियाँ, जापानीलगायत विदेशी भाषाहरूको प्रशिक्षण, ठाउँ—ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएका छौँ । त्यसैगरी पर्यटकीय क्षेत्रहरूमा विशेष सरसफाइ, समय–समयमा सांस्कृतिक विधाहरूको प्रतियोगिताको आयोजना गर्नुका साथै सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम पनि गर्दै आएका छौँ । पर्यटन उद्योगको लाभ निश्चित व्यक्तिहरूको हातमा मात्र सीमित नहोस् भनी त्यसको फाइदा सर्वसाधारण जनतासम्म पु¥याउने कोसिस गर्दै छौँ । भक्तपुरको मौलिक जीवनशैली झल्किने सङ्ग्रहालय निर्माण गर्नेतर्फ हामी जोड दिँदै छौँ ।

काठमाडौँ उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्वनको लागि केही सुझावहरू :
१. २०७२ सालको भूकम्पले क्षति पु¥याएका सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्ने तथा मुख्यमुख्य पर्यटकीय स्थलमा जोखिमपूर्णरूपमा टेको लगाइराखेका निजी वा सार्वजनिक संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने,
२. सुरक्षाको कारण देखाई पर्यटकहरूका लागि बन्द गरेका स्थानहरू आवश्यक सुरक्षा व्यवस्था गरी खुला गर्नुका साथै शान्ति सुरक्षा र कोभिड १९ रोगबाट सुरक्षाको प्रत्याभूति हुने वातावरण तयार गरी आवश्यक प्रचारप्रसार गर्नुपर्ने,
३. काठमाडौँ उपत्यकाभित्र बग्ने सबै साना ठूला खोला र नदीको प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनको दिगो समाधान खोज्नुपर्ने र समग्र अपराध र पर्यटनसंग सम्बन्धित अपराध न्यूनीकरण गरी सुरक्षित वातावरण तयार गरी बढ्दो ध्वनी, धुँवा, वातावरण, पानी र रसायन प्रदुषण नियन्त्रण गरी सफा र स्वच्छ वातावरण तयार गर्नुपर्ने,
४. काठमाडौँ उपत्यकाको मौलिक नेवारी जीवनशैली, कला, संस्कृति, संस्कार, सीप, खाद्य सामग्रीलगायतका विषयहरू संरक्षण र प्रवद्र्वन गर्ने तथा विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा क्षेत्रहरूमा क्रमशः सवारी साधन निषेध गर्दै लानुपर्ने,
५. काठमाडौँ उपत्यकाका लोपोन्मुख जात्रा, पर्व, नाचगान, बाजा र सांस्कृतिक गतिविधिको संरक्षण र प्रवद्र्वन गर्ने तथा मुख्यमुख्य पर्यटकीय स्थलहरूमा पर्यटनका पूर्वाधारहरू बसपार्क, शौचालय, सूचना केन्द्र, सेवा केन्द्र, विश्राम स्थल, मनोरञ्जन पार्क, सूचना र सङ्केत बोर्ड व्यवस्थापन गर्नुपर्ने,
६. पर्यटकीय क्षेत्रमा सहजपहुँच पु¥याउन आवश्यक व्यवस्था मिलाई ट्राफिक व्यवस्थापन र पर्यटकीय क्षेत्रहरूमा ढलको उचित व्यवस्थापन तथा भुस्याहा कुकुर, छाडा चौपाया, दोपाया, माग्ने केटाकेटी आदिको नियन्त्रण गर्नुपर्ने,
७. विभिन्न प्राकृतिक विपत्तिका कारण लोप भएका पुरातात्विक क्षेत्रको उत्खनन गरी प्राप्त प्रमाणको आधारमा सम्पदाहरूको पुननिर्माण र सांस्कृतिक सम्पदाहरूको परम्परागत शैलीमा श्रृङ्गारको व्यवस्था गर्नुपर्ने,
८. परम्परागत शैलीमा निर्माण गर्ने निजी घर धनीहरूलाई उचित अनुदानको व्यवस्था गरी संरक्षण गर्नुपर्ने,
९. सार्वजनिक र निजी ऐतिहासिक चित्रकला, काष्ठकला, धातुकला, प्रस्तरकला, मृतिकाकला, थ्यासाफुँंलगायतका पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण गर्नुपर्ने,
१०. पर्यटन उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिमहरूको व्यवस्था गर्नुपर्ने,
११. काठमाडौँ उपत्यकालाई प्रदूषण मुक्त, सफा र सुन्दर बनाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नुपर्ने र
१२. काठमाडौँ उपत्यकाका आदिवासी, जनजाति नेवारहरूको परम्परागत पेशा, उत्पादन, पोशाक, संस्कार, जात्रापर्वसँग सम्बन्धित सङ्ग्रहालयहरूको व्यवस्था गर्नुपर्ने ।
अन्त्यमा, सम्पदाहरू सारा जनताका साझा सम्पत्ति हुन् । सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा पुनःनिर्माण र जीर्णोद्धार गर्नु आवश्यक छ । नेपाल विश्वका पर्यटकहरूको भ्रमणको पहिलो रोजाइमा पर्ने गरी पूर्वाधारहरूको विकास गर्न सबै एक भएर लागौँ । पर्यटन क्षेत्रले देशको अर्थतन्त्र मजबुत बनाउन तथा पर्यटनको विकास र प्रवद्र्धनको लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान गरौँ ।

Leave a Reply

Your email address will not be published.