भर्खरै :

कम्युनिस्ट पार्टीहरू पुँजीवादविरोधी हुन्छन्

कम्युनिस्ट पार्टीहरू पुँजीवादविरोधी हुन्छन्

हरेक कम्युनिस्ट पार्टीहरू सामन्तवाद र पुँजीवादविरोधी हुन्छन् । सामन्तवादी र पुँजीवादी व्यवस्था ढाल्न नै कम्युनिस्टहरू सङ्घर्ष गर्छन् । कम्युनिस्टहरू समाजवादी व्यवस्था ल्याउन राजनीतिक गतिविधि र आन्दोलन गर्छन्, जनचेतना जगाउँछन्, जनतालाई सचेत र सङ्गठित गर्छन् । सच्चा कम्युनिस्टहरू वर्ग शत्रुको विरोध गर्छन् र मित्र शक्तिसित एकता गर्छन् । शत्रुलाई मित्र र मित्रलाई शत्रु ठानेको खण्डमा वा वास्तविक शत्रुलाई प्रहार गर्न वास्तविक मित्रलाई बिर्सेमा या छोडेमा कम्युनिस्टहरूको आफ्नो उद्देश्य पूरा हुँदैन या क्रान्ति सफल हुनेछैन । तर, नेपालमा सत्तासीन कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट पार्टीहरूलाई हराउन पुँजीवादी पार्टी नेकासँग घाँटी जोड्छन्, जोड्दै छन् । के यो देशको विडम्बनाको विषय होइन ? समाजवादको निम्ति पुँजीपति वर्गसँग लड्नुपर्ने दलहरू समाजवादी दलहरूकै विरोधमा लड्ने प्रयास सत्तासीन कम्युनिस्टहरूले किन गरिरहेका छन् ? नेपाली जनताको चासोको विषय बनेको छ ।
राजा, रजौटा, सामन्त, जमिनदार वर्ग र विदेशी एकाधिकारी पुँजी र त्यस पुँजीसँग गाँसिएका तत्वहरू कम्युनिस्टविरोधी या शत्रु हुन् । सामन्त र जमिनदार वर्ग वर्गीयरूपले क्रान्तिविरोधी हुन्छन् । नेपालको सन्दर्भमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेका र राजतन्त्र या राजा मान्ने दलको प्रतिनिधि गर्ने दलसँग चुनाव गठबन्धन गर्ने कुनै पनि दल कम्युनिस्ट हुनेछैनन् । पुँजीवादी र सामन्तवादी दलसँग मिलेर कसले कति सीट ल्यायो भन्दा पनि ती दलले बहुमत जनतालाई भलाइ गरेको छ कि छैन, साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद, अवसरवाद, सङ्कीर्णवाद र क्षेत्रीयवादको विरोध गरेको छ कि छैन, शोषणको व्यवस्था उखेल्न लागिपरेको छ कि छैन भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ । नेपाल र नेपाली जनतालाई शोषण गर्ने, थिचोमिचो गर्ने, दबाब दिएर नेपाल र नेपालीको भन्दा विदेशीको हित हेर्ने कुनै शक्ति, समूह या दलको विरोध गरेको छ कि छैन ? यी प्रश्नमा ध्यान दिनुपर्छ ।
हामीले वर्ग शत्रु र वर्ग मित्र चिन्नुपर्छ । मित्र शक्ति दबाउन वर्ग शत्रुसँग मिल्ने होइन । यदि मिल्छ भने त्यसले आफ्नै वर्गलाई चिहानमा पु¥याउँछ । कुनै दल या शक्तिले संसद् भङ्ग गरेको निहुँमा वर्ग शत्रुसँग घाँटी जोड्नु आफ्नो सिद्धान्त र विचार छोड्नु हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मित्र शक्ति छोडेर वर्ग शत्रु नेकासँग चुनावी गठबन्धन गर्दै छन्  । चुनावी गठबन्धन गर्न भागबन्डा या सीटबारे ती दलका नेताहरू पूर्वाभ्यास गर्दै छन् । ती दलका नेताहरू वर्गीय राजनीति छोडेर वर्ग शत्रुसँग मिल्दै छन् । नेकासँग गठजोड गरेर सीट अलि बढ्ला तर परिवर्तन हुनेछैन, परिवर्तनको पूर्वाधार बन्ने छैन ।
निर्वाचनमा जितेपछि पार्टी रहने र हारेपछि नरहने चिन्तामा डुबेका नेताहरू कति सही ठाउँमा छन् भन्ने कुरा अड्कल गर्न गा¥हो छैन । ती दलका नेताहरू पैसाको भरमा चलेको थाहा हुन्छ । दलको उद्देश्य पाखामा थन्काएर कहिलेकाहीँ समाजवादी आन्दोलनको कुरा गर्ने दलका ती नेताहरूले देशमा समाजवाद स्थापना गर्दैनन्, गर्न सक्दैनन् । तिनीहरू सत्तामुखी राजनीतिमा हामफालेका छन् । तिनीहरू अवसरवादी हुन् । तिनीहरू वर्ग शत्रुलाई खुसी पार्ने काम गर्दै छन्, साम्राज्यवादी र विस्तारवादी शक्तिको पछि दगुरिरहेका छन् । तिनीहरू कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै छन् । कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर पार्ने पार्टी कसरी कम्युनिस्ट पार्टी हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *